दुई दशक अघिको दसैँकाे राैनक

प्रमिला घिसिङ

काठमाडाैँ

मिठो-मसिनो खाने, नयाँ लुगा लगाउने, रमाइलो गर्ने विशेष पर्वको रुपमा लिइन्छ- दसैँलाई।

आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरी विशेष रूपमा मनाइने दसैँमा पनि सयम अनुसार परिवर्तन पाइन्छ। नयाँ लुगा  किन्नु, मिठाे, मसिनाे खानु, साथीभाइहरू भेटघाट गर्नु दसैँकाे मुख्य प्रचलन हाे। 

हरेक चाडपर्वको आ-आफ्नै विशेषताहरू र महत्व हुन्छन्। दसैँलाई नेपालीहरुले अरु चाडपर्वको तुलनामा विशेष अनि महत्वपूर्ण चाडका रुपमा मनाउँछन्। यसबेला  घरबाहिर रहेका तथा परदेशमा रहेकाे सबैजसाे घर फर्किने र रमाइलाे गर्ने गर्छन्। परिवारका सबै जना एक–आपसमा भेला भएर मिठो, मसिनो खाने, जमघट गर्ने, रमाइलो गर्ने गर्दछन्। चाडपर्व प्रायः जसो सबैका लागि हर्ष र खुसीको पर्व हुने गर्दछ।

करिव दुई दशकअघिकाे दसैँ अहिलेको तुलनामा फरक नै थियो। उतिबेलाको दसैँको रौनक नै फरक हुन्थ्यो। सायद उतिबेला दसैँको विशेष महत्व भनेको नयाँ लुगा, मासु र चामलको भात नै थियो।

नयाँ लुगा, मासु दसैँको नङ र मासुको जस्तै सम्बन्ध हुन्थ्यो। मासु र नयाँ लुगाको अटुट साइनो हुन्थ्यो। दसैँबाहेक अरूबेला मासु खानै नपाइने त हाेइन तर अभावका कारण अघाउन्जेल खान भने पाइन्न थियाे। अनि नयाँ लुगा भनेको स्कुल ड्रेस हुन्थे।

ती दुई दशकको दसैँ आजभोलिको जस्तो दशा हुन्थेन। अहिलेजस्तो जस्तो चोक-चोकमा मासु पसल अनि टोल–टोलमा कुखुरा फर्म हुँदैनथे दुई दशकअघि। त्यसैले पनि मासुको महत्व धेरै थियो।

हरेक घरमा बोकाको बलि दिने चलन आजभोलि चल्यो। ऊ बेला मै हुँ भन्ने जमिन्दारकै घरमा पनि कुभिण्डाेको बलि दिइन्थ्यो। कुभिण्डो परम्परा थियो भन्ने हामीले विभिन्न व्यक्तिले भनेकाे सुन्न पाइन्छ। 

हिन्दू संस्कार, परम्परानुसार काठका खुट्टा हालेर रङ लगाएको कुभिण्डोलाई बोका ढालेजस्तै आँगनमा ढाल्ने गरिन्थ्यो। त्यसपछि भने दसैँको रौनक अझ बढ्थ्यो। दसैँ साँच्चिकै दसैँ बनेर गाउँ घरमा आइपुग्थ्यो। दसैँ आउनु एक महिना अघिदेखि घर वरिपरीका झाडी फाड्ने, घर नजिकको बाटो सफा गर्ने गरिन्थ्याे। फूलपाती लागेसँगै घर रङ्ग्याउने काम हुन्थ्यो। सेतो कमेरो छेप्ने अनि रातो माटोले लिप्ने गरिन्थ्यो। त्यसपछि भने झन् ती गाउँघरका घरहरु सेतो कमेरो र रातो माटोले टिलिक्कै हुन्थे। तर, आजभोलि पहिलेका लिपपोत गर्नुपर्ने पुराना घरहरु कमै भेटिन थालेका छन्। ०७२ सालमा गएको भूकम्पपछि निर्माण भएका सबै घरहरु आधुनिक डिजाइनका बनेका छन्। त्यसैले अहिले लिपपोत नै गर्नुपर्दैन।

ओल्लो, पल्लो गाउँमा खसी काट्ने योजना बनेपछि नाम टिपाएर आफ्नो हैसियतअनुसार अर्डर गर्थे। लगभग एउटा गाउँमा एक घरमा खसी काटिन्थ्यो, त्यही खसीको मासु गाउँभरि पाक्थ्यो।

ऋण गरेर औकात देखाउने जमाना थिएन त्यो बेला। मै हुँ भन्ने जमिन्दारको घरमा भकारीमा अन्न हुन्थ्यो, मजदूरले उही जमिन्दारको घरमा पसिना बगाएर अन्न ल्याइन्थ्यो अनि त्यही अन्न जोहो गरेर दसैँ टार्ने गर्दथे। जमिनदारले अन्न बेचेर दसैँ भित्र्याउँथे, मजदूरले पसिना बेचेर दसैँ बोलाउँथे।गाउँभरिकामध्ये दुई तीन घरका मर्दहरू (पुरूष) लाउरे हुन्थे, उस्तै एक दुई घरका बुबाआमा सरकारी जागिरे। उनीहरूको हैसियत पनि पसिना बगाउने मजदुरको जस्तै, प्लाष्टिकको झोला बोकेर दसैँको मासु किन्न ओल्लो,पल्लो गाउँ नै पुग्थे।

सबैको हैसियत समान भएपछि कस्लाई देखाउन दसैँलाई दशा बनाउने सोचून र त्यो बेला ऋण काढेरै अरुलाई देखाउनकै लागि दशैँ मनाउने चलन भने थिएन।

ऋण काढेर भए पनि दसैँ मनाउने चलन भित्रिएदेखि धेरैका अनुहार दसैँको बेला पनि अँध्यारो देखिन्छ। आजभोलिका मान्छे दसैँ आउँदा पनि खुसी देखिँदैनन् किनकि दसैँ दशा बनेर आएको छ। आफूसँग नभए पनि ऋण काढेरै आफ्नो हैसियत सार्वजनिक गर्नुपर्ने कस्तो दसैँ ? इज्जत जोगाउन ऋण लिएर भए पनि  सयकडा तीन पर्ने ब्याज तिर्न तम्तयार हुने जमातको कमी छैन। आजभोलि ऋण लिएर दसैँ मान्ने 'ट्रेन्ड'जस्तै बनेको छ।

टिकाको दिन सबेरै उठेर नुहाई, धुवाई गरिन्थ्यो, नयाँ लुगा लगाउँथे अनि टिका लगाएर साथीसंगीलाई नयाँ लुगा देखाउन खुब हतारिन्थे। साथीसंगी भेला पारेर ओल्लो, पल्लो गाउँ टिका लगाउन जान्थ्यौँ। दसैँमा पिङ्को आफ्नै महत्व छ। दिनभरी ठूला–बडाको आशिर्वाद लिएर साँझ घर फर्किंदा भान्सामा मासु पाकिसकेको हुन्थ्यो। सायद त्यो बेला मासुको महत्व बढी भएर होला र मासु धेरै समयपछि खान पाउने भएर पनि होला।

कस्तो मिलेको समाज हुन्थ्यो त्यो बेला। एउटा घरमा खसी काटिँदा गाउँभरिलाई मासु पुग्थ्यो। पिङ हाल्न एक महिना अघिदेखि खर काटेर सुकाउने गरिन्थाे। तर, आजभोलि पिङ नै हाल्न छोडि सकिएकाे छ। हालीहाले पनि बजारमा पाइने रेडिमेट लाईलनको डोरीबाट पिङ हाल्ने चलन छ।

दसैँमा मासुको जस्तै महत्व हुन्थ्यो नयाँ लुगाको पनि। त्यसबेला लाग्थ्यो दसैँमा नयाँ लुगा लगाउनैपर्ने रहेछ। पुरानो लुगा लगाउन नहुनी रहेछ। कुनै–कुनै दसैँमा बुबाले यो दशैँमा तिमीहरुलाई नयाँ लुगा किन्दिन भन्नुहुन्थ्यो। हामी दाजु, दिदी र म मिलेर किन्नै पर्छ भनेर बुबासँगै रोइलो गरिन्थ्याे। रुवाइ शान्त पार्न बाले नयाँ कपडा किनिदिन्छु भन्नुहुन्थ्यो तर नयाँ कपडाको बहानामा स्कुलका ड्रेस घरमा आइपुग्थ्यो। वर्षभरि लगाउने स्कुलका ती निला सट अनि कालो फ्रक, पाइन्ट नै हाम्रा लागि दसैँको नयाँ कपडा हुन्थ्यो। दसैँमा एकदिन लगायो, अनि वर्षभरि स्कुलमा लगाउने गर्थेउँ। तर, अहिले ऋण काढेरै भए पनि पश्चिमेली संस्कृति झल्किने महँगा लुगा लगाउने गरिन्छ। 

नयाँ नोट, अनि दक्षिणा

दसैँमा दक्षिणाका कुरा नगरी नहुने। दसैँमा टिका लगाएर केटा मान्छेलाई दिँदै दिँदैन्थे भने दिइहाले पनि पाँच रुपैयाँदखि दश रुपैयाँसम्म दिन्थे। त्यस्तै सँगै टिका थापेका दिदी, भाइ दक्षिणामा फरक भने देखिन्थ्यो। बुबा आमाले छोरीलाई २० रुपैयाँ दिएर उल्टै ढोगीदिन्थे पनि। दसैँमा टिका थापेर दक्षिणा पाइने भनेकै मामा घरमा मात्र हुन्थ्यो। मामाले अलग, माइजुले अलग दक्षिणा दिएपछि खुशी हुन्थे।

बुबा आमा मात्र हैन, मामा माइजू नाता पर्नेबाहेक कसैले पनि छोरा मान्छेलाई दक्षिणा दिँदैनथे। दसैँमा छोरा मान्छेप्रति सबैको भनाइ एउटै हुन्थ्यो 'छोरा मान्छेलाई दक्षिणा दिनुहुँदैन,आफैँ कमाउने, अनि इमान्दार मान्छे बन्ने।' 

मासु, नयाँ लुगा अनि दक्षिणाको महत्वले दसैँलाई कति महत्वपूर्ण चाड बनाइदिन्थ्यो। उसलाई सोध्नुपर्छ दसैँको महत्व कस्तो हुन्छ भनेर। आजभोलि महँगी बढेसँगै हुनेलाई सधैं दसैँ, नहुनेलाई दशाजस्तै बनेको छ। कसैको यो महान पर्व दशा नबनोस्। हाड हेरेर हड्डी निल्ने वानीको विकास गरौँ।

सबैलाई विशेष महत्व बोकेको महान पर्वको दसैँका शुभकामना। 

प्रकाशित मिति: : 2021-10-11 19:27:00

प्रतिकृया दिनुहोस्