विद्यार्थी सङ्गठनहरू सधैं राजनीतिक दलको कारिन्दाका रूपमा मात्रै सीमित रहने वा साँच्चिकै परिवर्तनको संवाहक बनेर राजनीतिक संस्कृति सुदृढ गर्नतर्फ लाग्ने?
असोज तेस्रो साता सम्पन्न अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा सभाहल तोडफोडदेखि दलका नेताले अध्यक्ष चयन गरेको विषय समाचारमा आए। प्रायजसो विद्यार्थी सङ्गठनहरूको नेतृत्व चयनमा पार्टीका नेताहरूको संलग्नता वा निर्णायक भूमिका सामान्य बनिसकेको छ। विद्यार्थी सङ्गठनहरूको नेतृत्वमा राजनीतिक दलहरूको विशेष चासोले भ्रातृ सङ्गठनहरू, विशेष गरी विद्यार्थी सङ्गठनसँग माउ पार्टीको सम्बन्धको प्रकृति दर्शाउँछ।
वर्तमान राजनीतिको गति र दिशाको परिप्रेक्ष्यमा विद्यार्थी राजनीतिको स्थानलाई बुझ्न १० वर्ष पुरानो अध्ययन हेर्दा केही कुरा सान्दर्भिक लागेर यो लेख लेख्दै छु। सन् २०१० मा स्नातकोत्तर गर्दा नेपालको राजतन्त्रदेखि गणतन्त्रको यात्रामा युवाहरूको भूमिकाका बारेमा उक्त अध्ययन गरिएको थियो।
अध्ययनका क्रममा त्यस वेलाका प्रमुख तीन दलसँग सम्बद्ध विद्यार्थी सङ्गठन र युवा सङ्गठनहरूका नेता, राजनीतिक दलका नेता र राजनीति बिट हेर्ने पत्रकारसँग अन्तर्वार्ता गरिएको थियो। जसमा युवाहरूको भूमिका तथा विद्यार्थी सङ्गठन र माउ पार्टीहरूको सम्बन्धबारे केही बुझ्ने प्रयास गरिएको थियो।
नेपालमा गणतन्त्रको मुद्दा उठानको श्रेय माओवादी आन्दोलनलाई जान्छ, तर शहरी क्षेत्रमा र मूलधारमा गणतन्त्रको अवधारणालाई बहसमा ल्याउन र लोकप्रिय बनाउने श्रेय विद्यार्थी राजनीतिलाई जान्छ भन्दा अत्युक्ति नहोला। मुख्य राजनीतिक दलहरूले गणतन्त्रबारे औपचारिक रूपमा बहस गर्ने आँट नगरेको वेला तिनकै विद्यार्थी सङ्गठनहरू दलको निर्देशन विपरीत गणतन्त्रको मुद्दाको संवाहक बनेका थिएl नेपालमा गणतन्त्रको सान्दर्भिकतामा जनसुनुवाइ गर्ने, शैक्षिक संस्थाहरूमा गणतन्त्र र राजतन्त्रबीच जनमत सङ्ग्रह गराउनेदेखि राजद्रोहको मुद्दा खेप्ने लगायत कार्यमा रहेर देशको शासकीय प्रणालीको परिवर्तनमा एक दिशा निर्देशकका रूपमा विद्यार्थी सङ्गठनहरूको यो भूमिका निकै निर्णायक मानिन्छ।