‘अब तिमी पत्रकार नै बन’

Breaknlinks
Breaknlinks

नेपाली पत्रकारहरूका लागि प्रेस काउन्सिलले तयार पारेको आचारसंहिता २०७३ को दफा २ (१) मा दिइएको परिभाषानुसार ‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक,संवाद्दाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, क्यामेरापर्सन, व्यंग्यचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी अथवा पत्रकार बुझ्नुपर्छ।

पत्रकारितासम्बन्धी कुनै एउटा काम गर्दैमा जो कोही पत्रकार भइहाल्ने भने पक्कै पनि होइन। आजको युग बिज्ञानको युग हो, त्यसैले विश्वमा घटेका हरेक घट्नाको जानकारी र विबरण तुरुन्तै विश्वभरीका कुना-कुनामा पुगिन्छ। घरमै बसेर विश्वभरीका घटनालाई एकसाथ हेर्न सकिन्छ। सञ्चारको माध्यमबाट पत्रकारले विभिन्न जानकारीमूलक सूचना, समाचार विश्वभर पुर्याउने गरिन्छ।

न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका पछिको पत्रकारीता,आमसञ्चारमाध्यम राज्यको चौथो महत्त्व पुर्ण अङ्ग हो। त्यसैले पत्रकारिताभित्र पर्ने पत्रकारलाई राज्यको चौथो अंगको रूपमा राखिएको छ।

नेपालमा गिद्दे प्रेस भित्रिएसँगै अनौपचारिक रुपमा सुरु भएको पत्रकारिताकाे स्वरूप रेडियो, टेलिभिजन, छापामाध्यम हुँदै अहिले डिजिटलमार्फत समाचार, सूचना, समाचार लगायत विभिन्न जानकारी दिने उद्देश्यले धेरै अनलाइन सञ्चारमाध्यमको विकास भइसकेको छ।

उच्च शिक्षासँगै कामको खोजीमा म राजधानी छिरेको धेरै वर्ष भएको छैन। अरुबेला घर जान नसकिए पनि महान पर्व दशैँ मुखैमा आइसकेको छ। राजधानी बसेर अध्ययन गर्ने, जागिर खानेहरु कार्यलय, विद्यालय बिदा भएसँगै आफ्नो जन्मभूमी पुगिसके भने कति जाने तरखरमा छन्। अरु बेला पनि धेरै सम्झिने आमाबुबाले महान पर्व दशैंमा नसम्झिने कुरै भएन।

आफ्नो छोरा-छोरीलाई नसम्झने कमै आमाबुबा होलान्। छोराछोरीलाई धेरै माया गर्ने, राम्रो बाटोमा डोर्याउने काम आमा बुबाले बढी। एकाबिहान सबेरै मोबाइलमा घन्टी बज्यो। त्यो फोन अरु कसैको नभएर उही छोराछोरीलाई असाध्यै सम्झिने अनि माया गर्ने आमाको थियो।

उताबाट आमाले भन्नुभो, 'नानी घर कहिले आउने, आज त घटस्थापना हो क्यारे !'

'यत्ताबाट आउछु आमा, तर कहिले हो अझै निश्चित भएको छैन', मैले भने।

फेरी उत्ताबाट आमाले भन्नुभो, 'अनि कहिले आउछेस् त नानी, अरु तिम्रा गाउँका साथीसंगीहरु, दाजुभाइ, दिदीबहिनीहरु सबै आइसके त !'

त्यसपछि पनि अरु केही भन्न खोज्नु हुँदै थियो। त्यति नभन्दै मैले यत्ताबाट भने अहिले फुर्सद छैन म भरे फोन गर्छु है भन्दै मैले फोन राखिदिए। र आफ्नै धुनमा लेख्न थाले।

दैनिकी यही किट्किट् किबोर्ड हान्दै, स्क्रीनअघि बसेर बित्न थालेको थियो, तर किबोर्ड र स्क्रिनको अगाडी बसेर समय बिताएको भने धेरै भएको छैन्। पहिले दिक्क अनि झन्झटिलो लाग्ने काम अहिले पहिलाको तुलनमा केही सजिलो अनि त्यसैमा रमाउन अनि मज्जा लिन थालेको छु।

अघिल्लो वर्षको लकडाउनमा मैले घरमा गएर आमाबुबासँगै बिताए भने यो वर्षको निषेधाज्ञामा भने मैले सबैभन्दा बढी समय बिताएको यही किबोर्डका १०१ 'की', अनि १४ इन्चको स्क्रीन र एउटा एक मुट्ठीभरिको मुसो 'माउस' सँगै हो।

ती १०१ की अक्षरहरुलाई एकआपसमा जोडेर कामको रफ्तारलाइ अघि बढाउदै छु। ती अक्षरहरुलाई जोडेर एउटा सानो समाचार बनाउछु। त्यसैगरी ससाना खुशीमा खुशी हुँदै जिन्दगीको रफ्तारलाई पनि अघि बढाउदै छु। जिन्दगीको रफ्तार कहाँ, कतिखेर टुंगिन्छ कसैलाई केही थाहा छैन।

उमेरले त् म पनि सानी अनि साथीसंगी सँग रमझममा रमाउने नै हो। केटा जिस्क्याउने, हरेक दिन लफंगा साथीहरु जम्मा पार्ने अनि दोहोरी साँझ, क्लव हाउस, डान्स बार जाने अनि रिल्याक्स गर्ने। पश्चिमेली संस्कृति झल्किने शरीरको आधा अंग ढाक्ने कपडा लगाउने, ती महँगा हयुस्की, वाइन, वियर एक हातमा चुरोट तान्ने। तर, उमेर बढेसँगै पारिवारिक जिम्मेवारीहरु बढ्दै जान्छ चाहे छोरा मान्छे होस् या छोरी मान्छे नै किन नहोस्। यी यावत कुराहरुलाई थाती राख्दै जिन्दगीमा केही राम्रा काम गर्न सक्ने संकल्पका साथ अघि बढ्दै छु।

समाजका ती घिनलाग्दा सोच भएका व्यक्तिहरु जसले फलनाको छोरीले केही गर्न सकेनन्। त्यस्ता घृणित सोच भएकाहरुलाई नारी अथवा छोरी मान्छेको क्षमता देखाउनु थियो। जसले भनोस् की, वाह हेर यो पो हो छोरी मान्छेको 'पावर'।

नेपालमा सरकारी जागिर भनेपछि हुरुक्कै हुने गर्दछन्। मानौं सरकारी जागिरबिना बाँच्नुको कुनै अर्थ नै छैन। मानौँ की सरकारी जागिरबिनाको मान्छे समाजमा बाँच्नुको कुनै मूल्य र मान्यता नै छैन्। यता जाउ सरकारी कुरा, उता जाउ सरकारी कुरा, चिया गफ, आफन्त भेटघाटमा त्यही कुरा सुन्दै गर्दा मलाई भने, सरकारी जागिर होइन निजी जागिर खाउँन त समाजले के भन्छन्? हेर्न मन लागेको थियो। अनि त्यसैगरी निजी जिन्दगी बनाउन मन लागेको थियो। सरकारी जागिरे हुन् पनि धेरै दुख, न उसले मज्जाले खुलेर बोल्न पाइन्छ, न खुलेर लेख्न पाइन्छ। मिठो खायो समाजले त्यसको हिसावकिताव खोज्छ, नमिठो खायो- नराम्रो लगायो हेर सरकारी जागिरेको हालत।

नाम निकाल्न पनि धेरै मेहनत अनि त्यसमा दुख उत्तीकै छ। त्यो दुखलाई जसले भोगेको छ, उसले मात्र बुझ्न सक्छ। निकालेपछि पनि बाँच्न पनि धेरै दुख। भत्तासत्ता आउने महिना, अलि सजिलो महसुस गर्ने राष्ट्रसेवक, तलबमात्रै आउने महिनामा सञ्चयकोष, बिमा यता उता कटाउँदा नुन तेल ग्यासमा नै सकिन्छ। त्यो भयो महिनाभरीको दुख। अर्को महिना नआउदासम्म कसरी जोहो गर्ने। त्यहि भएरै होला श्रीमान सरकारी भए श्रीमती निजीमा र श्रीमती सरकारीमा भए श्रीमान निजीमा जागिरे बन्न खोज्ने। सकेसम्म दुवै सरकारी, नभए एक त जसरी पनि सरकारी नै चाहिने।

तर, मलाई भने त्यो पटक्कै मन परेको थिएन। त्यही भएर मेरो निजीकरण बन्ने सपनालाई साकार पार्न म अघि बढ्न खोज्दै छु।

एकाबिहान सबेरै फोन गरेकी आमाले फेरी दिउँसो दुई बजे फोन गरिन्, र भनिन्, 'नानी खाजा खायौ त् ? अहिले फुर्सद भो ? एकछिन कुरा गरौँ न है ?'

'छैन आमा, छैन ! कहाँ फुर्सद हुनु ! अहिले झन् व्यस्त छु' भन्दै गर्दा आमाले भन्नु भो, 'नानी कुरा भरे नै गरौंला नत्र खाजा चाही खाउ है !' त्यसपछि मैले फोन राखिदिए।

म आफ्नै रफ्तारमा कसैको वास्ता नगरी काममा अघि बढे। मनमनै सोच्थे, यो ब्रेक्रिङ न्युज पनि कति आउछ। काम गर्न मन नलाग्ने अल्छी लगिसक्यो, भोक पनि लगिसक्यो, खाजा खाने फुर्सद पनि मिल्दैन। अर्कोतर्फ यो मानेमा खुशी हुने अलिकति ठाउँ पनि थियो। सरकारले बजेट भाषणमा पत्रकारलाई बीमा र सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरेको छ। त्यही पनि मलाई त्यो सरकारी घोषणाको पत्यार लागे पो त !

आफ्नै धुनमा लेख्दै थिएँ, 'फेरी मोबाइलमा घन्टी बज्यो। नानी काम सक्यो त् ?'

'छैन अब एकछिनमा म आफैँ तपाइलाई फोन गर्छु है अहिले राखिदिनुस्', फेरी आफ्नै काम धन्दामा व्यस्त भएँ म।  किबोर्डका ती १०१ अक्षरहरु हान्दै एउटा-एउटा वाक्य जोडेर स-सानो अनुच्छेद बनाउदै गरे। ह्रस्वदीर्घ, हेडलाईन, न्यूज, क्याटेगोरी, फोटो मिलाउँदैमा मेरो दिन रात बित्ने गर्थ्यो।

काम गर्दै-गर्दा कति बज्यो पत्तो नै नपाउने। केही समयको अन्तरालमा फेरि मोबाइलको घन्टी बज्यो। अनि फोन नउठाई मोबाइल साइलेन्टमा राखेर आफ्नै काममा लागेँ।

घडीले नौं बजाइसकेको थियो। रिसले चुर हुँदै फेरि पनि आमाले फोन गर्नुभयो। अनि उत्ताबाट खरो स्वभावमा भन्नुभो, 'नानी यत्ति झुट त् कसैले बोल्दैन, काम सकेको छैन् भने किन ढाटिराखेको? मैले के तिमीलाई जिस्क्याएको जस्तो लाग्छ? घरि एकछिन घरि काम सकेपछि म आफैं फोन गर्छु? अझ सम्मखाना खान भ्याएकी छैनौँ होइन?'

फेरि फाेन राखेँ।

बिस्तारै रात छिपिदै थियो। अब भने केही फुर्सद हुँदै थिए। नभन्दै फेरी एउटा ब्रेकिङ्ग न्युजले म्यासेन्जर भरिए अनि लागे फेरि त्यही किबोर्डका अक्षरहरु हान्न। त्यो ब्रेकिङ्ग न्युजलाई पोस्ट गरेँ। कामलाई विश्राम गर्ने तरखर गर्दै दिनभरी कस्ता-कस्ता न्युज गए, हेडिङ्ग, क्याटागोरी, फोटोहरु स्क्रोल गर्दै हेरे र कामलाई त्यहँ विश्राम गरेँ।

शरीर पुरै थकित अवस्थामा थियो। केही गर्न सक्ने क्षमता थिएन। त्यसपछि खाना खान लागेँ। खाना खाइसक्दा घडीले ११ बजाईसकेको थियो। अनि आमालाई फोन गर्न लागेँ।

अघि रिसले चुर भएर फोन राखिदिएको आमालाई के भनेर फकाउने कौतुहलता थियो मनमा। 'अ भन, बल्ल हजुरको फुर्सद भयो पत्रकार ज्यू? अब काममा लागेपछि त आमासँग बोल्ने फुर्सद पनि हुँदैन। अझै फुर्सद छैन होला। अब तिमी पत्रकार नै बनेर बस। जसको आमासँग दुईचार शब्द बोल्ने फुर्सद पनि हुँदैन।', आमाले भन्नु भाे।

अनि मैले यत्ताबाट भने, 'त्यस्तो होइन् नी आमा, संसारकी सबैभन्दा राम्री अनि प्यारी मेरी आमा हजुरसँग चाहेर पनि कुरा गर्न सकिनँ। मलाई माफ गरिदिनुस्। अनि अहिले त् छोरीले फोन गरिन् त्! अब बोलौँन त् आमाछोरीको कुरा !'

'नकल्ली, कति गफाडी बनेकी है मेरी असल अनि भविष्यको एक कुशल पत्रकार, सञ्चारकर्मी ज्यू ! ल ल राम्रोसँग आफ्नो ख्याल गरेस्, समयमा खाना, खाजा खाएस् है। रात छिपियो अहिले सुत। शुभरात्री नानी।', यति भन्दै आमाले फाेन काट्नु भयाे।

आफ्नो दुखलाई दुख नसम्झिने मेरी ममताको खानी मेरी आमालाई कोशौं टाढाबाट भए पनि मिठो सम्झना !!! 

प्रकाशित मिति: : 2021-10-10 19:09:00

प्रतिकृया दिनुहोस्