'छ्या दसैं पनि आयो है' ल्यापटप झोलामा राख्दै प्रियाले भन्छे। 'लौ किन छ्या नि? दसैं आउँदा खुसी लाग्या छैन तँलाई?' अचम्म मान्दै सोध्छु।
मतिर हेर्दै नहेरी झोलाबाट मोबाइल निकालेर समय हेर्छे अनि प्रिया बोल्छे- जति खुसी हुनु बिहे नहुञ्जेल भइयो, बिहेपछिको दसैं त कहिल्यै रमाइलो लागेन मलाई।
हामी उसको अफिसबाट बाहिर निस्कियौं। प्रिया एक निजी संस्थामा जागिर गर्छे। उसको आजबाट दसैं बिदा भएको थियो। अफिस बिदा भएपछि दसैंको किनमेल गर्न सँगै जाने सल्लाह भएको थियो हाम्रो। त्यसैले म उसलाई लिन त्यहाँ गएकी थिएँ। उसको कुरा अनि निराश अनुहार देखेर किनमेल गर्न जाने मनस्थिति नै बनेन।
'हिँड् जाऊँ त्यहाँ मिठ्ठो चटपटे पाउँछ, पहिले चटपटे खाऊँ अनि बजार जाउँला' मैले उसको मुड फ्रेस बनाउने जमर्को गर्छु। हुन त म खासै चटपटेको पारखी होइन तर सच्चा साथीको कर्तव्य निर्वाह गर्नु थियो। 'दाइ, ६० को चटपटे बनाउनु ल, पिरो कम अमिलो ट्वाक्क' मैले कुर्सी मिलाउँदै चटपटे अर्डर गर्छु।
प्रियाले बल्ल मेरो आँखामा हेरेर बोल्न सुरू गर्छे-कहिलेकाहीँ त अफिसबाट छुट्टि भएपछि पनि यहीँ अफिसमै बसिरहुँ जस्तो लाग्छ। घरकाले त हामी अफिस आराम गर्न गएको जस्तो सोच्छन् कि क्याहो! अझ चाडवाड आएपछि त मेरो हालत के हुन्छ तँलाई थाहै होला।