‘म पनि मेरी रानीसँगै मर्छु,’ निर्णय गरें। आदेश दिएँ- ‘चिहानमा रानीको शव मेरो काखमा राखेर सबै मलामी फर्किनू। प्रेम र मृत्युलाई अनुभूति गर्दै बिस्तारै मर्नेछु।’
सर्वनाम थिएटर। सधैं यहाँ नाटक चल्छ, तर आज कथा चल्नेछ।
घण्टी बज्यो। दर्शक नाटकघरभित्र पसे। स्टेजको पर्दा खुल्यो। हल्का दाह्रीवाला मानिस स्टेजको बीचमा देखा पर्यो। दर्शकतिर हात जोड्यो- ‘नमस्कार म राज शाह। कथा सुन्न आउने सबैलाई स्वागत छ।
यो लोककथा हो। धेरैले सुनेको, सुनाएको कथा हो। तर, यहाँ आज आफ्नो कथा भन्न स्वयं राजारानी आउँदै छन्। राजारानीलाई स्वागत गरौं।’
ताली बज्यो। मणिमाणिक्यले सजिएको जवान राजा स्टेजमा पस्यो। काठको कुर्सीमा बसेर बोल्न थाल्यो।
राजा
म एकादेशको राजा हुँ। रानीलाई औधी प्रेम गर्थें। तपाईं आफ्नी प्रेमिकालाई जति प्रेम गर्नुहुन्छ, त्यसको कैयौं गुणा धेरै। रानीको लागि हजार थरी फूलको अत्तर बन्थ्यो। उनले जहाँ पैताला राख्थिन्, त्यहाँ गुलाफको फूल ओछ्याइन्थ्यो। उनको श्रृङ्गारका लागि सयौं सुसारे जुट्थे। उनलाई हेरेर मेरा आँखा कहिल्यै थाकेनन्। उनलाई चुमेर मेरा ओठ कहिल्यै गलेनन्। उनको मुटुको गतिमा मेरो मुटु चल्थ्यो।