प्रसिद्ध चन्दननाथ र भैरवनाथकाे मन्दिरमा नयाँ लिंगा खडा गरिएको छ। हरेक वर्ष घटस्थापनाका दिन नयाँ लिंगा फेर्ने चलन अनुसार बिहीबार चन्दननाथ भैरबनाथ मन्दिरका लिंगा फेरिएको हो।
असोज १८ गते चन्दननाथ -३ ढाँड थपालाको जंगलबाट नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र, प्रहरी तथा सयौं भक्तजनकाे संयुक्त बलमा लिंगा ल्याइएकाे थियाे भने बिहीबार पुरना लिंगा प्रतिस्थापन गरेर नयाँ लिंगा खडा गरिएको चन्दननाथ, भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ।
चन्दननाथ मन्दिरमा ५२ हाते लिंगा र ५२ हाते ध्वजा राखिएको छ भने, भैरवनाथ मन्दिरको लिंगामा ४८ हातको लिंगा र ४८ हातकै ध्वजा राखिएको छ। साथै दुबै मन्दिरमा करिब ४२ हाले सहायक लिंगा खडा गरिएको चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए।
'चन्दननाथ भैरबनाथ मन्दिरमा नयाँ लिंगा फेरीसकेपछि मात्र जुम्लाका घरघरमा घटस्थापना गर्ने चलन छ,' उनले भने, 'मन्दिरकै माटो लिएर जमरा राख्ने चलन छ। मन्दिरमा विजय स्तम्भ सहित पाँचवटा लिंगा खडा गरिएको हो।'
चन्दननाथ भैरबनाथ मन्दिरका नयाँ लिंगा फेरिए संगै जुम्लामा विधिवत रुपमा दसैं शुरु भएको मानिन्छ। पछिल्लो समय भक्तजनहरुको संख्या भने घटेको देखिन्छ। सुरक्षाकर्मीकै भरमा लिंगा काटेर ल्याउने देखि ठड्याउने सम्म हुने गरेको गुठी व्यवस्थापन समितिका सचिव जीत बहादुर महतले बताए।
घटस्थापनाकै दिन उत्पादन वृद्धि होस, भोकमरी नआवस भन्ने कामना सहित चन्दननाथ भैरबनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने समत परम्परा रहेको संस्कृति सम्बन्धका जानकार रमानन्द आर्चायले बताए।
'बाबा चन्दननाथले आफ्नै बलबुतामा मार्सीधानको बीउ पत्ता लगाएर विस्तारकाे लागि आफ्ना बलशाली शिष्य लछालकृति पैकेलाेलाई खठाएका थिए,' उनले भने, 'मार्सी धानकाे प्रयाेग सफल भएपछि बाबा चन्दननाथकाे सम्मान स्वरुप लिंगा खडा गर्ने रित बसालिएकाे हाे।'
उनका अनुसार लछालकृति पैकेलाले तातोपानी -२ मा पर्ने गुरु फोक्टो नामक खेतमा पहिलो टपकट मार्सी खेती सुरु गरेका थिए। त्यस सफल भएपछि जस चन्दननाथ बाबालाई गयाे। जसका कारण जुम्ली किसानले आफू खानु भन्दा पहिले मार्सी चामलको सिक चन्दननाथ मन्दिरमा चढाउने परम्परा बसेकाे हाे।
जुम्लामा बडिमालिका जानेदेखि घटस्थापनामा मन्दिरका लिंगा फेर्ने संस्कृतिको अनुपम रहेकाे प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईंले बताइन्।
'धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण जुम्लाको विकासमा राज्यले लगानी बढाउनुपर्ने देखिन्छ,' उनले भनिन्, 'जुम्लामा आउँदा यहाँका विभिन्न सांस्कृति परम्परा देखेर निकै खुसीसँगै देवभुमिमा आएको महशुस भएको छ।'
घटस्थापनाकाे लिंगा खडा गर्ने ठाउँमा पुग्दा आफूले चिताएको पुरा हुने भन्दै मन्दिरमा करिब १ हजार बढी भक्तजनहरु सहभागी भएका थिए।
घटस्थापनाकै दिन जुम्लाका घरघरमा जाैका जमरा राख्ने चलन छ भने साँझ नयाँ फलेकाे मार्सी धानकाे चिउरा कुटेर दही, मह सँग मिसेर न्वागी बनाई घर परिवार तथा बिहे गरेकी छाेरी चेलीलाई बाेलाएर खुवाउने चलन छ।