हेलो सर नमस्कार। तपाईं गणेश हो ? यहाँ हाम्रो सुन पसलमा धामन सर्प बसिरहेको छ। आईदिनु पर्यो। उद्धार गरिदिनु पर्यो।
दिन होस् या रात, उर्लाबारी–३ का गणेश श्रेष्ठ (२६) लाई यस्ता फाेन आइरहन्छन्। उनी कुनै कुराकाे प्रवाह नगरी तुरून्त बाेलाएकाे ठाउँमा पुगरे सर्पलाई च्याप समाएर सुरक्षित स्थानमा लगेर छाेड्छन्। याे गणेशकाे दैनिकी हाे।
सर्प देख्न साथ प्रायः धेरै मानिस डराउने गर्छन्। तर, गणेश भने सजिलै सर्प समाउछन् र कुन सर्प विषालु हाे या विषालु हाेइन जानकारी दिन्छन्। उनले सबैलाई सर्प मार्नु हुँदैन भन्दै सुरक्षित स्थलमा छोड्न सुझाउछन्।
गणेशले किंग कोब्रादेखि डोडे सर्प लगायत सयौं सर्पहरुको उद्धार गरिसकेको छन्। उनले सामान्य सर्पले टोक्दा पनि आत्तिएर ज्यान जाने गरेकाे सुनाए। सर्पको पहिचान भए उपचार गर्न सजिलो हुन्छ।
अहिले पनि उनी दिनदिनै सर्पको उद्धारमा व्यस्त रहन्छन्। सर्पको संरक्षणमा आकर्षित गणेशले प्रेम बिष्ट मार्फत् यो कला सिकेका रहेछन्। प्रहरी सेवामा २१ वर्ष बिताएका प्रेमले सर्पको उद्धार गरी सुरक्षित स्थानमा छोड्छन्। उनले सर्प उद्धार गरेको भिडियो खिच्न जाने क्रममा आफूले पनि सिकेको गणेशले बताए।
‘सुरुमा त साह्रै डर लाग्यो, कतिपटक सर्पको डसाई पनि भेटियो’, उनले सुरुवाती दिन सम्झदैं भने, ‘सिप सिकिन्छ भनेर पछि हटिएन्। अहिले जस्तो सुकै सर्प उद्धार गर्न सक्छु।’
प्रेम बिष्टसँगै हिड्ने क्रममा गणेश सर्पप्रति आकर्षित भएका थिए। बिस्तारै सर्पका बारेमा भिडियोहरु हेर्दै गर्दा सर्पप्रति झन् रुचि बढ्यो बढेकाे उनले बताएका छन्। अचेल उनले सर्प उद्धार गरेको भिडियो अपलोड गर्न आफ्नो छुट्टै गणेश स्नेक रेस्क्यु नामकाे युट्युब च्यानल सञ्चालन गरेका छन्।
कोभिड–१९ का कारण नेपालमा लकडाउन सुरु भएपछि (यो सामाग्री तयार पार्दासम्म) उनले १०० वटा सर्पको उद्धार गरिसके। लकडाउनको समयमा झापा मोरङ, सुनसरी र चितवन आदि क्षेत्रमा पुगेर सर्पको उद्धार गरिएका छन्। यो समयमा १० प्रजातिका सर्प रेस्क्यु गरेको गणेशले बताए। जसमा किङ कोब्रा, हरेउ, मोनो सेलेट कोब्रा आदि छन्। यसैगरी कम विषालु धामन सर्प, सिंगारे सर्प, हेर्दा करेतजस्तै देखिने चिचिन्डे सर्प उनले उद्धार गरे।
सर्पको उद्धार गर्न उनलाई साथी रमेश भण्डारीले पनि सघाउँछन्। ‘मलाई रमेशले पनि सर्प समात्न सघाउँछन्,’गणेशले सुनाए। यसरी उद्धारमा खटिएका उनले कुनै शुल्क भने लिदैनन्। कतैबाट पाउँदैनन् पनि। ‘स्वयंसेवी रुपमा काम गर्ने हो। रेस्क्यु फ्रीमा गर्छु। पैसा लिन्न, कहीँबाट आउँदा पनि आउँदैन्,’ उनले भने।
उनले पकेट खर्च चलाउनका लागि मोबाइल पसल सञ्चालन गरेका छन्। र युट्युब च्यानल सञ्चालन गर्छन्। पसल र भिडियो खिचेर आएको पैसाले खर्च चलिरहेको उनले सुनाए।
उनले हालसम्म कुल ५ सयभन्दा बढी सर्पको उद्धार गरिसके। पछिल्ला दिनमा उनको व्यस्तता झन् बढ्दैंछ। उनले गरेको काम, सक्रियता तथा लगावका कारण यस्तो भएको हो। अहिले पूर्वमा सर्प देखिए उनलाई फोन गर्छन्। उनी नाइनास्ति गर्दैनन्, तुरुन्त बोलाएको ठाउँमा पुगिहाल्छन्। ‘सर्पको उद्धारका लागि म सकेसम्म बोलाएको ठाउँमा पुगिरहन्छु, कहिलेकाहीँ छिमेकी जिल्लामा पनि पुग्ने गरेको छुँ,’ उनले भने।
के सर्प सजिलै समात्न सकिन्छ ?
सर्प समात्नु सजिलो विषय होइन्, जोखिम हुन्छ। कुनै सर्प यति विषालु हुन्छन्। जसको टोकाइबाट मानिसको तुरुन्त मृत्यु हुन्छ। सर्प रेस्क्यु गर्ने मात्र हाेइन सर्पसँग गर्ने सबै काम, सधै चुनौतीपूर्ण नै हुने उनी बताउँछन्। विषालु सर्पमा राज गोमन (किङ कोब्रां), मोनो सेलेट कोब्रा, हरेउ, करेत आदि हुन्। सर्पको उद्धार गर्दा उसको बसाइँको स्थिती र ठाउँले जोखिमलाई निर्धारण गर्ने उनले बताए। खुल्ला ठाउँमा भए उद्धार गर्न सजिलो हुने अनुभव उनको छ। धेरैजसो सर्प अक्कारमा भेटिन्छन्, त्यस्तो ठाउँबाट रेस्क्यु गर्न पनि गाह्रो हुन्छ। विशालु सर्पको उद्धार गर्दा जतिखेर पनि जोखिम हुने भएकाले सधै सर्तक भएर काम गर्नुपर्ने उनले बताए।
अहिले त श्रेष्ठलाई एकदिनमा नै दुई/तीन वटा सर्प रेस्क्युकै लागि फोन आउन थालेका छन्। उद्धार गरेको सर्पलाई उनी मानिसको पनि सुरक्षा हुने र सर्पको पनि सुरक्षा हुने ठाउँमा लगेर छोड्ने गर्छन्। टाढा लगेर छोड्दा सर्प बाँच्ने सम्भावना कम हुन्छ। लगभग एक किलोमिटर आसपासमा छोडिन्छ।
‘धेरै टाढा लैजाँदा अरु सर्प पहिल्यै हुन्छ, त्यो ठाउँमा त्यो सँग लड्नु पऱ्यो। खानेकुरा कता पाइन्छ। पानी कता पाइन्छ नयाँ सर्पलाई थाहा हुँदैन्,’ उनी भन्छन्, ‘त्यही भएर रेस्क्यु गरेको नजिकै सुरक्षित हुने ठाउँमा छोड्ने गरेको छु।’
सर्पको आक्रमणबाट जोगिन कुन सिजनमा सर्प बढी आउँछ भन्ने थाहा पाएर सर्तक हुनुपर्ने उनको तर्क छ। घरको वरीपरी काम गर्नुभन्दा अगाडि राम्रोसँग हेर्ने, घाँस काट्ने ठाउँमा हरेउ हुने भएकाले ख्याल गर्ने, तरकारी टिप्दा, झाडीमा काम गर्दा सर्तक रहनुपर्ने उनी बताउँछन्। रातिमा जंगल जाँदा लामो बुट लगाएर जाने, घर वरीपरी फोहर नगर्ने, दाउराको थुप्रोमा ख्याल गर्नुपर्ने उनको भनाइ छ। ‘खासमा मुसा खान सर्प आउने हो। घरभित्र छिर्ने प्वाल छन् भने टाल्नुपर्छ। त्यति गरे छिर्दैन,’ उनले टिप्स दिए।
उनकाअनुसार सर्पले देख्ने बितिकै आक्रमण कहिल्यै गर्दैन, जब सर्पले आफूमाथि खतरा महशुस गर्छ अनि मात्र डस्ने गर्छ। सर्पलाई नजिस्काए उ सजिलै आफ्नो बाटो लाग्ने उनी बताउँछन्। सर्पको प्रजाती अनुसार बाच्ने आयु निर्धारण हुन्छ। रेस्क्युको कारण अहिले सर्पलाई सुरक्षित तरिकाले जोखिम नहुने ठाउँमा लाने चलन बढेकोले मानिसबाट सर्पको मृत्यु हुने क्रम निकै घटेको उनले सुनाए। सर्वसाधारण मानिसमा सर्प मार्नुहुन्न भन्ने चेत र सर्प संरक्षणमा लागेकाहरुको क्रियाशीलताले नै यो सम्भव गराएको हो।
सुरुमा उनले सर्प समात्न थालेको देखेपछि परिवारमा डरको माहोल सिर्जना भएको थियो। तर, अहिले परिवारको समेत सपोर्ट पाएपछि उनी झन् उत्साहित छन्।
सर्पको विषबाट एन्टिभेनम बनाइन्छ। सर्पले इको सिस्टमा ठूलो सहयोग पुर्याउँछ। सर्पलाई खाने अरु प्राणी पनि हुन्छन्। अझ भन्दा सर्प किसानको नजिकको साथी हो। मुसा खाएर मुसाले गर्ने असर रोक्छ। सर्पको विषबाट अरु पनि विभिन्न औषधी बन्दछन्।
सर्प कसरी समाउने
सर्प भएको ठाँउमा गएर सावधानीपूर्वक अनुसन्धान गरिन्छ। आफूसंँग भएको हुक, चिम्टा लगायतका औजार प्रयोग गरी उद्धार गरी कालो कपडामा राखेर बोरामा हालेर उद्धार गरिन्छ। जुन घरबाट निकालिन्छ, त्यस घरका मानिसलाइलाई सर्पबारे केही जानकारी गराउने गरेको श्रेष्ठले बताए।
'धेरै टाढा लान मिल्दैन, नजिकैको जङ्गलमा छोड्छौँ। किनकी उसको बच्चाहरू, फूलहरु नजिकै हुन सक्छ।' गणेशले भने।
सर्पका विशेषता
अरु प्राणीजस्तै सर्प पनि महत्वपुर्ण हुन्छ। यसबाट सर्पले टोकेको औषधिलगायत अन्य औषधि पनि बन्ने गर्छ। यसलाई संरक्षण गर्नुपर्ने गणेश बताउछन्।
'जुन सर्पले टोक्छ त्यही सर्पको विषबाट औषधि बनेको हुन्छ। नेपालमा प्रतिविष निकाल्ने व्यवस्था छैन। सरकारले यसतर्फ ध्यान दिनुपर्छ।' उनले भने। उनकाअनुसार भारतलगायत अन्य देशबाट सर्पले डसेको औषधी ल्याउने गरिन्छ।
बच्ने उपाय
विषालु सर्पले टोकेको स्थानमा दाँत गाडेको डाम हुन्छ। अविषालु (विष नलाग्ने) सर्पले टोकेकोमा चिथोरेको डाम हुन्छ। फोहोर बढी भएको ठाँउमा सर्प आउने भएकोले घरआँगन सफा राख्नुपर्छ। मुसा भ्यागुता सर्पको आहार भएकोले यी खोज्न पनि सर्प घरमा पस्नेगर्छ। आफ्नो सुरक्षाका लागि सर्पले डस्ने भएकोले उसलाई बिस्तारै निस्केर जाने वातावरण बनाउनुपर्छ। तराई क्षेत्रमा पाइने विषालु सर्पले तातो खोज्न बिस्तारामा जाने गर्छ र मान्छेले नदेखेपछि कुल्चिने वा दबाउने भएपछि डस्ने गर्छ। आफ्नो बचाउका लागि मात्रै सर्पले डस्ने भएकोले उसलाई जिस्काउन नहुने संरक्षणकर्मी बताउँछन्।