२००६ सालमा पोखरामा भएको आगलागीको त्यो घटना, जसले जनता रैतीबाट नागरिक बन्ने प्रक्रिया प्रारम्भ गर्यो।
२००६ सालको अन्तिम महीनाको अन्तिम अन्तिम दिन। अर्थात् चैत २९ गते, पूर्णिमा तिथि। पोखराको प्रमुख मन्दिर विन्ध्यवासिनीमा सदा झैं यस वर्ष पनि विशेष पूजा हुँदै थियो। शतचण्डी, रुद्री पाठ हुँदै थियो। यज्ञ गरिँदै थियो।
तिनताक विन्ध्यवासिनी मन्दिर रहेको थुम्कोमा आँपका बडा-बडा रूख थिए। एका-दुई त अद्यापि बाँकी छन्। तिनै रूखमुनि यज्ञको अग्नि बल्दै थियो। चरु हवन हुँदै थियो।
ठ्याक्कै कहिलेदेखि यो पूजा शुरू भयो कोही बताउन सक्दैन। उहिले-कहिलेदेखि विन्ध्यवासिनीमा दुवै दशैं (असोजे र चैते)को पूर्णिमामा यस्तो पूजा वर्षेनी हुँदै आएको थियो, र अद्यापि चल्दै छ। तर, यस पालि भने पूजा-प्रक्रियामा पहिले-पहिलेको रीतभन्दा केही भिन्न हुँदै थियो। यस पटक मन्दिरको पूजामा तान्त्रिक विधि समेत प्रयोगमा ल्याइएको थियो। र, बलि पनि दिइएको थियो।
यो नयाँ रीतका पछाडि राणा बडाहाकिम धनशमशेरको लहडले काम गरेको थियो। धनशमशेर तन्त्रमा विश्वास राख्थे; पछि तन्त्रका अध्येता पनि भए। पञ्चायतकालमा उनी प्रज्ञा प्रतिष्ठानमा मनोनीत भए, तन्त्रका अध्येता÷ज्ञाताकै रूपमा। उनले लेखेको तन्त्र सम्बन्धी पुस्तक प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ।