नेपालबाट चोरिएका ती सय सम्पदा

हिमाल खबर

काठमाडौँ

न्यूयोर्कको मेट्रोपोलिटन म्यूजियमले शिवको मूर्ति फिर्ता गर्न लागेको खबर आएसँगै त्यहाँ रहेका एक सयभन्दा बढी नेपालका मूर्ति फिर्ता गर्न पहल गर्नुपर्ने इतिहासकार प्रा. रमेशकुमार ढुंगेल बताउँछन्।

अमेरिकाको न्यूयोर्कस्थित ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट’ले नेपालबाट चोरिएको शिव मूर्ति फिर्ता दिन लागेको समाचार सुनेपछि इतिहासकार प्रा. रमेशकुमार ढुंगेललाई २५ वर्षअघिको यात्रा स्मरण भएको छ। उनी भन्छन्, “एउटा मूर्ति फिर्ता गरेर के हुन्छ? त्यहाँ त नेपालबाट चोरेर लगिएका एक सयभन्दा बढी मूर्ति छन्।”

मेट्रोपोलिटन म्यूजियमले आधा शताब्दीअघि नेपालबाट चोरिएको शिव मूर्ति फिर्ता गर्ने प्रक्रिया थालेको छ। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको समन्वयमा शिव मूर्ति फिर्ता हुन लागेको हो। यो मूर्ति विष्णुमतीको किनारमा रहेको कंंकेश्वरी मन्दिरबाट सन् १९७० तिर चोरी भएको थियो।

अध्ययनका क्रममा न्यूयोर्कको मेट्रोपोलिटन म्यूजियम अगाडि ढुंगेल दम्पती।

इतिहासकार ढुंगेल सन् १९९६ मा मेट्रोपोलिटन म्यूजियम पुगेका थिए। अहिले नेपाललाई फिर्ता गर्न लागिएको शिवमूर्तिबारे पनि लेखेका थिए। योसँगै त्यहाँ रहेका एक सयभन्दा बढी मूर्तिबारे अध्ययन गरेको उनी बताउँछन्।

ढुंगेल अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गर्ने क्रममा मेट्रोपोलिटन म्यूजियम पुगेका थिए। जहाँ उनले मेट्रोपोलिटन म्यूजियममा रहेका हिन्दू र बौद्ध धर्मका एक सयभन्दा बढी मूर्तिको दर्ता, जानकारी र फोटोको विवरण उतारेका थिए।

प्रकाशित मिति: : 2021-10-04 19:01:00

प्रतिकृया दिनुहोस्