रामेछापको बिजुलीकोटकी मिठु सुन्दास २ बिसको नेटो काटी सकिन्। तर पनि उनको अहिलेसम्मको दैनिकी काठमाडौंको सेतोपुल नजिकै जम्मा भएको फोहोर उठाउन र त्यसलाई व्यवस्थापन गर्नु उनको दैनिकी हो।
उनले फोहोर उठाउन लागेको कम्तिमा २ दशक बित्न थाल्यो तर उनको दैनिकी भने फेरिएको छैन। त्यहीँबाट उनले तीन सन्तालाई हुकाईबढाइ गरिन्।
उनका जीवनसाथी झलक सुन्दास अस्पतालको जागिरे थिए तर श्रीमान्ले छोराछोरी पाल्न एक सुको पनि सहयोग गरेनन्, कमाएको सबै आफैँ खर्च गरेर सक्थे। खर्चको भार मिठुलाई नै थियो।
उनका श्रीमान् भएको र नभएको बराबर थियो। त्यही पनि श्रीमान् त छन् कुनै दिन सहयोग गर्लान् भन्ने आश थियो तर त्यो पनि टुट्यो, झलकले अर्कै टिपेर हिँडे। जिन्दगीको दुःख बाँड्ने अब छोराछोरी छन्। उनीहरुलाई हेरेर खुशी मनाउँछिन्। उनीहरु हाँस्दा आफुपनि हाँस्छिन्, रुदाँ रुन्छिन्।
छोरीछोरीलाई पढाएर ठूलो मान्छे बनाउने इच्छा, त्यही इच्छालाई पुरा गर्न बिहान ६ बजेदेखि बेलुका आँखा देखुन्जेलसम्म काममै लागिरहन्छिन्।
आमाको दुःखलाई देखेर सहयोग गर्न उनकी छोरी पनि काम गर्न थालेकी छन्।
‘काम सानो–ठुलो हुदैँन मम्मी’ भन्दै काम गर्ने थालेको विएल नेपाली सेवालाई सुनाउँदा उनको आँखाबाट आँशु टिलपिल गरिरहेका थिए। घरको दुख देख्न नसकेका कारण आफूले जस्तो काम छोरीले गर्नु परेको बाध्यताले उनको मन खिन्न हुन्छ।
‘छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु भनेर सपना त देखेको थिएँ नी तर के गर्नु गरिबीको अगाडि कसको के नै लाग्ने रहेछ!’ दुख पोख्दै मिठुले विएल नेपाली सेवासँग भनिन्,’ ‘के गर्नु र सबै दुःख त गरिबले नै भोग्नुपर्ने रहेछ।’
उनले फोहोर उठाउँदै जेठो छोरालाई उच्च शिक्षा पढाउँदैछिन्। भाईलाई उहि दाजुले रेखदेख गर्छन्, गृहकार्य गराउँछन्। मिठुले त राति मात्र भेट्ने हुन्। आमाको पीडा बुझेर छोराले घरको सबै काम गर्छन्, जसले गर्दा उनलाई आडभरोसा दिएको छ।
‘ससांरमा म जस्तो अभागी को छ र? मैले न त माइतको साथ पाएँ, न श्रीमानको नै, तर पनि खुशी छु, छोराछोरीको साथ पाएको छु,’ माइतीघर र श्रीमानको मायाबाट बञ्चित भएकी उनी भक्कानिँदै बिएल नेपालीसगँ भनिन्।
माइतीले सहयोग गरुन् पनि कसरी ? आर्थिक अवस्था कमजोर नै थियो। उनले भनिन्, ‘हाम्रो परिवारको त्यति राम्रो आर्थिक स्थिति थिएन।’
बुवाआमाका पाँच सन्तान मध्येका उनी दोस्रो सन्तान हुन्। तर उनको दिदी र बहिनीको भने सानैमा मृत्यु भयो। आफू सानो हुदाँको कुरा उनलाई स्पष्टसँग त थाहा छैन तर बुबा बिरामी भएको क्षण भने उनी भुल्न सक्दिनन्।
उनी सात बर्षको हुँदा उनका बुवा बिरामी पर्नुभयो। बिरामी बुवालाई अस्पतलमा उपचार गर्दा जग्गाजमिन समेत बेच्नु परेको स्मरण गर्छिन् मिठु। ‘बुबा एकदमै बिरामी हुनुहुन्थ्यो, के भएको हो थाहा भएन तर बुबाको उपचारका लागि गाउँको सारा जमिन बेच्नुपर्यो, तर पनि बुबा निको हुनु भएन,’ उनले विगतलाई स्मरण गरिन्।
बुवा बितेको एक बर्ष हुँदा आमाले पनि उनको साथ छोडिन्। अर्कैसँग विवाह गरेर गइन्। आमाबाबुको छायाँबाट बञ्चित भएकी उनले कसैको साहारा पाइनन्। आमाले आफूहरुलाई ढाँटेर अर्केसँग गएको उनी बताउँछिन्।
‘मामाघर जान्छु भनेर भाइबहिनीलाई लिएर जानुभएको थियो तर मामाघरमा आमा नै थिइनन्’ उनले भनिन्, ‘भाइबहिनीलाई मामाघरमै छाडे्र जानुभएछ,’ उनले स्मरण गर्दै भनिन्।
कक्षा दुई पढ्दै गरेकी मिठुले बिचैमा पढाइलाई छाड्नु पर्यो। पढ्ने उमेरमा उनी काममा लाग्न थालिन्। पेट पाल्नको लागि उनले अर्काको घरमा बाख्रा चराउन थालिन्, जसले गर्दा उनले एक छाक पेटभरी खान पाउँथिन्। ‘के गर्नु पापी पेटको लागि नसक्ने काम पनि गर्नु नै पर्ने रहिछ’ उनले भनिन्, ‘पच्चीस वटा बाख्रा लिएर जगंल जान्थेँ।’
सानै भएका कारण उनलाई गाउँलेहरुले समेत ‘टुहुरी’ भन्दै हेप्दा दिनभरि बाख्रा चराएर साझँ घर फर्किदाँ भक्कानिएर रुने गर्थिन्।
त्यसैगरी नै उनको दैनिकी बितिरहेको थियो। एक दिन ‘मितीनी दिदी’ले ‘काठमाडौं हिँड उतै काम गर’ भनेपछि उत्साहित हुँदै २०४८ साल तिर काठमाडौं आएकी थिइन्।
नयाँ ठाउँमा आएकी मिठुले सुरुवाती दिनमा दिदीसँगै गलैँचा बुन्न थालिन्। उनलाई गलैँचा बुन्न पनि दिदीले नै सिकाएकी थिइन्।
सहरमा काम गरेको सात वर्षपछि उनी गाउँ फकिइन्। जहाँ उनको विवाहको कुरा चल्यो। दिदीकै सहमतिमा उनको विवाह उही गाउँका झलक सुन्दाससँग भयो।
‘मलाई विवाह गर्ने मन थिएन तर दिदीले राम्रो केटा छ। विवाह गर्यो भने सुख दिन्छ भन्दै मलाई फकाउनुभयो’, उनले भनिन्, ‘अनि मैले आफूभन्दा चार वर्ष जेठोसँग विवाह गरेँ।’
विवाहपछि मिठुले गलैँचा बुन्न छोडेर सडकको फोहोर बढार्ने काम गर्न थालिन्। जहाँ उनकी नन्द काम गर्थिन्। ‘पहिलो पटक फोहोरमा काम गर्दा निक्कै असहज महसुस भयो तर पछि बानी पर्यो’, उनले विगतका दिन सम्झँदै भनिन्।
बैवाहिक सम्बन्धमा बाँधिएको केही वर्षसम्म श्रीमानको साथ पाएकी मिठुले विस्तारै श्रीमानको मायाबाट टाढिदैँ गइन्। छोराछोरीलाई जन्म दिएसंगै झलकको स्वभाव परिवर्तन हुँदै गएको उनी बताउँछिन्।
‘सडक बढार्ने काममा बिस्तारै बानी पदै थियो। नन्दले काम छाडेका कारण मैले पनि बाध्य भएर काम छाडेँ। सँगै काम गरेको साथी नरहेपछि नमज्जा हुँदो रहेछ नि’, उनले विएल नेपाली सेवासँग भनिन्।
मिठुलाई अहिले आफूले गरेको कामप्रति गर्व छ। जसको सहायताले उनले परिवारलाई पालिरहेकी छन्। उनको अबको सपना भनेकै छोराछोरीको भविष्य राम्रो बनाउनु हो। उनी चाहँदिनन् आफूले जस्तो दुख छोराछोरीले पाउन्। ‘मेरो दुख उनीहरुले भोग्न नपरोस्’ उनी भन्छिन्, ‘मैले जति दुख पाएपनि मेरा छोराछोरीहरुले सुख पाओस्।’