दसैं–तिहारका लागि सरकारको ढुकुटीमा कति छ खाद्यवस्तु ?

हिन्दु धर्मावलम्बीको विशेष पर्व दसैं–तिहारलाई लक्षित गर्दै ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ले असोज १ गतेदेखि नै सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ। 

दसैं, तिहार र छठलाई लक्षित गरेर उपत्यकामा चार स्थानसहित देशभर कुल ४३ स्थानमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइएको लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्। उपत्यकामा भक्तपुर, रामशाहपथ, थापाथली र नख्खुमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइएको छ। 

सर्वसाधारणले यी पसलबाट अन्य पसलमा भन्दा सस्तो (लिमिटेडको तोकिएको मूल्यभन्दा ५ देखि १० रुपैयाँ कम) मूल्यमा खाद्यान्न खरिद गर्न पाउने सूचना अधिकारी सुवेदी बताउँछिन्। 

लिमिटेडको भण्डार 

देशभर लिमिटेडको ५९ वटा डिपो कार्यालय रहेका छन्। त्यस्तै, एक प्रधान कार्यालय, सातवटा प्रादेशिक कार्यालय, पाँचवटा मुख्य शाखा कार्यालय, २३ वटा शाखा कार्यालय छन्। सुवेदीका अनुसार, देशभर कम्पनीका लागि दुई सय ५० कर्मचारी कार्यरत छन्।

देशभर गरी लिमिटेडको भण्डारमा एक लाख ८५ हजार क्विन्टल खाद्यवस्तु रहेको छ। ‘यो बिक्री हुँदै गर्छ। त्यसलाई प्रतिस्थापन गर्न खाद्यान्न आयातको नयाँ प्रक्रिया सुरु गर्छौं,’ सूचना अधिकारी सुवेदी भन्छिन्, ‘तर यो प्रक्रिया दसैंपछि मात्र सुरु हुन्छ। दसैंका लागि पर्याप्त खाद्यान्न छ।’

प्रकाशित मिति: : 2021-10-04 14:05:00

प्रतिकृया दिनुहोस्