केटीहरू भन्थे, ‘कमला छोरी गुमाएर पीर नगर, हेर त कति छौं तिम्रा छोरीहरू’ तर आज हामीले कमला नै गुमायौं। हाम्रो साझा अम्मा गुमायौं। कमलाले धेरै मानिसको जीवनमा रिक्तता छोडेर गइन्।
दिन धुमिलो, मन अमिलो भइरह्यो। आँखामा त्यही पहिलो भेट नाचिरह्यो। कमला भसिनका चम्किला आँखा, ऊर्जा र स्नेहले भरिएको आवाज। मनबाटै ओझेल पर्नै सकेनन्। उनी अब यो संसारमा छैनन् भन्ने सत्य स्विकार्नु कसरी?
कमला भसिनको देहान्त समानताको आन्दोलनमा बल्झिरहने एक कठोर सत्य हो। उनले दिने प्रशिक्षण कक्षाहरूमा हावामा उडिरहेका हुन्थे उनका हातहरू। गुन्जिरहन्थे गीतहरू। उनका आफ्नै सिर्जनाहरूले मनहरू हल्लाइदिन्थे। जुरुक्क हुन्थ्यो जाँगर। ‘शेरनी से हम शक्ति चुराएगें, हिरणीसे हम फुर्ति चुराएगें, जिन्दगी अपना बदलजाएगें’।
कमलाको शक्तिशाली आवाजमा यो गीत घन्किँदा घरि आफू बघिनी जस्तो, घरि आफू फुर्तिली हरिणी जस्तो भएझैं लाग्दथ्यो। यो गीत सार्क देशका सबै भाषामा छ। यसको मूल लय नेपाली लोकगीतको हो, ‘दाइले मादल बजाएको सुनेर, आएँ रे म त झ्यालढोका थुनेर’। नेपाली गीतको यो सुन्दर भाका दक्षिण एसियाका महिलाहरूको ऊर्जा सञ्चार गर्न वर्षाैंदेखि प्रयोग भइरहेको छ। यो मात्र होइन, कमलाको अरू धेरै तागतिला सिर्जनाले हाम्रो आँट भरेर जान्थे। त्यो समय बितेर जानेछ, यो त मैले सोचेकै रहेनछु।