अर्घाखाँचीको शितगंगा केन्द्रमा विद्युत् लाइन विस्तार

अर्घाखाँचीको शितगंगा नगरपालिका ११ खयरभट्टीमा पहिलो पटक विद्युत् पुग्ने भएको छ। विश्व बैंक र एसियाली विकास बैंकको सहयोगमा विद्युत् लाइन विस्तार हुन लागेको छ।

वडा नं. ११ को वडा कार्यालयसमेत भएको ग्रामीण भेगका स्थानीय विद्युत् पुगेपछि खुसी भएका छन्। शनिबार ट्रान्सफर्मर जोडिए पछि विद्युत् बाल्ने सपना पुरा हुन लागेको वडा नम्बर ११ का अध्यक्ष कोपिलचन्द्र आलेले बताएका छन्।

‘यहाँका ६५ घरमा पहिलो पटक विद्युत् पुग्ने भएको छ। पोलमा तार बिछ्याउने काम सकिएको छ। आइतबार ट्रान्सफर्मर चार्ज गर्ने योजना रहेको छ। ट्रान्सफरमर चार्ज भएपछि विद्युत् मिटर जडान गरी एक साताभित्र विद्युत् पुर्‍याउने लक्ष्य छ,' वडाध्यक्ष आलेले भने। विद्युत् पुर्‍याउनको लागि स्थानीय शंकरपुर सामुदायिक वन उपभोक्ता समितिले समेत ४० लाख लगानी गरेको बताइएको छ। 

विद्युत् लाइन विस्तार नहुँदा स्थानीयले नगरपालिकाबाट प्रदान गरिएको २० वाट क्षमताको सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए। कपिलवस्तुको कृष्णनगर वितरण केन्द्रमार्फत बुद्धभूमि नगरपालिका ९ गव्दहवाबाट ६ किलोमिटर खण्डमा पोल राखेर तार बिछ्याउने काम सम्पन्न भएपछि ट्रान्सफर्मर जडान भएको छ।

यता खयरभट्टीदेखि ३ किलोमिटर दक्षिणतर्फ रहेको पर्सौल बस्तीमासमेत यही वर्षभित्र विद्युत् पुर्‍याउने कार्य अगाडि बढेको छ। 

प्रकाशित मिति: : 2021-10-03 21:16:00

प्रतिकृया दिनुहोस्