धेरैको गुनासो छ यो नेपालमा- ‘देश त धर्तीमा स्वर्गको एक टुक्रा नै हो, तर के गर्ने एउटा राम्रो नेता कहिल्यै जन्मेन। प्राकृतिक रूपले स्वर्ग जस्तो देश राजनीतिक रूपले सधैं नर्क जस्तो भयो। स्रोतसाधनले सम्पन्न भए पनि सधैं विदेशिन, गरीब कहलिन बाध्य भयौं।’ सामान्य र आमझैं लाग्ने यस्ता टिप्पणीभित्रको पीडा भने निकै गहिरो छ। सर्वसाधारणको हृदयभित्रबाट अभिव्यक्ति हुने यस्ता भावना बारम्बार सुन्नु पर्दा सबैलाई नमीठो लाग्नु स्वाभाविक हुन्छ।
सोच्दै जाँदा भावुक हुन मन लाग्छ। एक्काइसौं शताब्दीको दोस्रो दशक पार गरिसक्दा पनि हामी संसारकै विपन्न र नाजुक मुलुकमध्ये एक छौं। लोकतान्त्रिक मूल्य/मान्यताको स्थापना र राजनीतिक स्थायित्व अझै राम्रो गरी प्रत्याभूत छैन। दलीयकरण र स्वार्थको टकराव चरम छ।
प्रतिव्यक्ति आय मुश्किलले ११०० डलर छ, जबकि १ लाख ३५ हजार डलर प्रतिव्यक्ति आय भएका देश यही विश्वमा छन्। विश्व औसत मात्र १३ हजार ५०० डलर पुगिसक्यो। ‘पहिलो विश्व’ मा पुग्ने त कुरै छोडौं, विश्वको विद्यमान औसत जीवनस्तर प्राप्त गर्न मात्र पनि हामीलाई अझै दुई शताब्दी लाग्न सक्दछ, त्यतिन्जेलसम्म विश्व कहाँ पुग्ला ?