बिहिबार, १९ मार्च २०२६

चार सय रूपैयाँ बाेकेर काठमाडाैं आएका गायक, जसले कराेडाैँकाे मन जिते

दिलिप कुवँर

दिलिप कुवँर

काठमाडौँ
Breaknlinks
• • •

०५१ साल भदौ ४ गते। बाल दिवस।

सर्लाहीको मलङ्गवास्थित कृष्णामति बोर्डिङ स्कुलमा जिल्लास्तरीय बालगीत प्रतियोगिता भयो। प्रतियोगितामा जिल्लाभरिका करिब ३५-४० विद्यालयहरुबाट विद्यार्थीहरुले भाग लिए। त्यहीँ भीडमा हजरियास्थित सरस्वती माध्यमिक विद्यालयबाट पनि एउटा बालक सहभागी भए।

सात कक्षामा पढिरहेका ती बालक निलो कमीज र पाइन्टमा सजिएर गीत गाउन कार्यक्रमको मञ्चमा पुगे। कार्यक्रममा विभिन्न समाजसेवी, विद्यालयका शिक्षक र २५ सयभन्दा बढी विद्यार्थीहरुको उपस्थिति थियाे।

जब बालकले गाउन थाले, तब कार्यक्रमको वातावरण नै सुमुधुर भयाे। हल्ला गरिरहेका विद्यार्थीहरु शान्त भएर उनको स्वर सुन्न थाले। निर्णायकहरुका कान ठाडो भए। शिक्षकहरुले अप्रत्यासित अनुहार बनाएर उनलाई हेरिरहे। सुनिरहे।

प्रतियोगितामा भाग लिएका अन्य विद्यार्थीहरुले पनि आ-आफ्नो प्रस्तुति राखे। सबैले प्रस्तुति राखिसकेपछि करिब आधा घण्टासम्म निर्णायकहरूबीच गन्थन-मन्थन चल्यो। त्यसपछि प्रतियोगिताको नतिजा सुनाउन थालियो।

सबैमा मनको ढुकढुकी बढिरहेको थियो। सबै नतिजा सुन्न आतुर थिए।

सुरुमा सान्त्वना पुरस्कार घोषणा गरियो। त्यसपछि प्रतियोगितामा तेस्रो हुने विद्यार्थीको नाम घोषणा गरियो। क्रमशः प्रतियोगितामा दोस्रो हुनेको नाम पनि घोषणा गरियो। तर त्यतिञ्जेलसम्म पनि ती बालकको नाम भने पनि घोषणा भएन।

ती बालकको अनुहारमा डर, हतास र उत्सुकताको भाव प्रष्टै झल्किरहेको थियो। नतिजाको अन्त्यमा कार्यक्रमका सबै निर्णायकहरु उठेरै एकै स्वरमा भने, 'यस बाल गीत प्रतियोगितामा प्रथम भएका छन्– शिव परियार।'

त्यसपछि ती बालकको मुहारमा खुशीको पाइथागोरसले नयाँ समीकरण बनायो। उनको आँखामा प्रफूल्लताको कम्पासले ह्वात्तै एक सय ८० डिग्रीको कोण बनायो। उनी दंग भए। हृदयदेखि हाँसे। निर्दोष तरिकाले मुस्कुराए।

ती बालक थिए– शिव परियार। यसै प्रतियोगिताबाट अघिबढेको थियो– चर्चित गायक शिव परियारको सांगीतिक यात्रा।

अनि शिव काठमाडौंको आए

पिता साधुराम दमाईं। आमा मनकुमारी दमिनी। घरका एक्ला छोरा थिए– शिव। उनका बहिनीहरु भने तीन जना छन्।

०५५  सालको बैशाखमा एसएलसी सकाए, उनले। त्यसको केही समयपछि पढ्नका लागि काठमाडौं जाने योजना बन्यो।

वास्तवमा शिव भाग्यमानी नै थिए। उनको सात पुस्ताले काठमाडौंमा पाइलासमेत टेकेका थिएनन्। शायद्, नाममात्र सुनेका थिए तर उनले भने काठमाडौंमै पढ्ने मौका पाए।

'वास्तवमा म आफूलाई भाग्यमानी नै ठान्छु। सात पुस्ताले नदेखेको काठमाडौं मैले देख्न पाएँ', उनले पुराना दिन सम्झिदै भने।

काठमाडौं अर्थात् देशको राजधानी। उनी मख्ख थिए, सपनाको शहर जान पाइने भो भनेर। आमाले थैली खोतलिन् अनि बेरेर राखेका सयका चार वटा नोट झिकिन् र उनको खल्तीमा हाल्दिइन्। त्यसपछि शिव लागे- काठमाडौंतिर।

सुरुका केही महिना उनी पाटनको लुखुसी टोलमा बसे। एक जना छिमेकी भिनाजुसँग तर केही महिनापछि मामासँग बस्न थाले, पेप्सिकोलामा।

झ्वाट्ट हेर्दा यो शहर जति सम्पन्न देखिन्छ, सारमा हेर्दा त्यति नै गरिब लाग्न थाल्यो- शिवलाई। उनलाई पढेर करिअर पनि बनाउनु थियो। पैसा पनि कमाउनु थियो र थियो– घरको जिम्मेवारी पनि पूरा गर्नु।

गुरू चन्दनकुमार श्रेष्ठसँगकाे भेट

०५६ सालमा जब उनी पढ्नकाे लागि काठमाडाैं आए, तब उनले थाहा पाए- 'भारतकाे ग्वालियर घरनामा रही शास्त्रीय संगीतमा प्रवीणता तहसम्मकाे अध्ययन सकेर शास्त्रीय गुरू चन्दनकुमार श्रेष्ठ काठमाडाैं फर्किनु भएकाे छ र उहाँले  शास्त्रीय संगीत गायन विषयकाे अध्यापन गराइरहनु भएकाे छ।'

त्यसपछि उनले खाेज्दै-साेध्दै उनै गुरू श्रेष्ठसम्म पुगे। त्याे भेटले  शिवभित्र थप उत्साह जाग्याे। र उनले गुरु श्रेष्ठसँगै  ग्वालियर घरनाअन्तर्गत शास्त्रीय ज्ञानकाे अध्ययन र साधना सुरु गरे।

त्यतिबेला उनले ललितकला क्याम्पसमा पनि 'संगीत' बिषय लिएर औपचारिक अध्ययन थालिसकेका थिए। तर आर्थिक अभावले उनलाई नियमित पढाइलाई त्यही पुर्णविराम लगाउन बाध्य बनायाे। उनले ललितकला क्याम्पसकाे पढाइलाई अगाडि बढाउन सकेनन्।

'सङ्गीत भनेको लिखित ज्ञान मात्र होइन रहेछ, यो त नित्तान्त साधनाको विषय रहेछ‘, उनले पहिलोपल्ट लिएको सङ्गीतको औपचारिक क्लास सम्झिँदै भने।

त्यसको दुई तीन वर्षपछि शिवको लागि एउटा राम्रो अवसर आयो। सायद् त्यो अवसर शिवको लागि मात्र नभएर शिवजस्तै राम्रो गायक बन्ने सपना देखेर भौँतारिरहेका अरु हजारौँको लागि पनि थियो।

रेडियो नेपालले खोलेको ढोका

भयो के भने, वि.सं २०५९ साल चैत्र २० गते आफ्नो वार्षिकोत्सवको अवसरमा रेडियो नेपालले आयोजना गरेकाे राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा भाग लिने अवसर पाए।

उक्त प्रतियोगितामा देशभरबाट १५ हजारभन्दा बढी कलाकारहरूले भाग लिनकाे लागि आवेदन दिएका थिए। तर त्यतिबेला अनिवार्य स्वर परिक्षण गरेर मात्र भाग लिन पाउने व्यवस्था थियाे।

अन्ततः १५ हजारभन्दा बढी आवेदकहरुबाट एक सय ११ जना मात्र स्वर परिक्षणमा उत्तिर्ण भए र प्रतियाेगिताकाे छनाेटमा परे। त्याे भीडमा छनाेट भएर शिवले उक्त प्रतियाेगितामा स्वरतर्फ 'ए ग्रेडको गायक' को उपाधिसहित प्रथम पुरस्कार पाउन सफल भए। तत्कालिन सञ्चारमन्त्री रमेशनाथ पाण्डेको हातबाट उनले १० हजार रुपैयाँसहित प्रमाणपत्रले विभुषित भए। जुन उनको जीवनमा पहिलाे महत्वपुर्ण सांगीतिक  'टर्निङ पोइन्ट' थियाे। 

तर उनी भन्छन्, 'त्यो मेरो जीवनको एउटा स्वर्णिम विभुषण थियो, घुम्तीहरु त बाँकी अझै कति छन् कति !'

त्यतिबेला रेडियो नेपालको प्रतियोगिता जितेको गायक भन्नबित्तिकै महत्वपूर्ण अर्थ राख्थ्यो। उपाधि जितेपछि ०६० साल बैशाख ४ गते उनको पहिलो गीत रेकर्ड भयो। त्यो पनि- रेडियो नेपालमा 'लाइभ'।

त्यही साँझदेखि नै गुञ्जिन थाल्यो- नेपाली सङ्गीतको आकाशमा एउटा नयाँ गायक शिव परियारको आवाज।

त्यो दुर्लभ क्षणलाई सम्झँदै उनले भने, 'रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड भएपछि अढाई समय पारिश्रमिक पाएँ, जुन मेरो जीवनको पहिलो कमाई थियो।'

'बेहोसीपछि त होशमा आउँदा क्या दामी भो'

०६२ सालमा उनको नयाँ गीत बजारमा आयो, 'फेवातालमा साइली डुंगा सरर'। यो गीतलाई स्रोताले खूब रुचाए। यसले शिवलाई राम्रै चर्चा दिलायो।

त्यसपछि उनका गीतहरु 'अलिकित नजर तिम्रो झुकाएर आउ', 'कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ', 'धेरै चोटी मरे' लगायतका गीतले नेपाली सङ्गीतमा नयाँ आयाम थपे।

०६७ मा रिलिज भएको 'बेहोसीपछि त होशमा आउँदा क्या दामी भो' बोलको गीतले त नेपाली सङ्गीतमा तहल्का नै पिट्यो। नेपाली स्रोताले पनि यही गीतबाट 'गजलीय गीत'को फरक स्वाद लिने मौका पाए। यहाँसम्म कि स्रोत र दर्शकले यु–टुबमा समेत शिवका गीतलाई खोजी–खोजी सुन्न थाले।

त्यस्तै उनको 'संगी' बोल गीतले पनि नेपाली सङ्गीतमा हस्तक्षेप उपस्थिति देखायो। 'पिउदिनँ भन्दाभन्दै पिलायो साथीले' बोलको गीतले पनि युवायुवतीमाझ उनको राम्रो क्रेज बनायो।

'अनायसै मूड चल्यो, बिहे गरिहालेँ'

जीवनमा उनले 'आफू'ले प्रेम गर्नेहरुभन्दा पनि 'आफूलाई' प्रेम गर्नेहरुको सङ्गत धेरै गरे।

०६३ सालतिर भर्खर सङ्गीतमा करिअर बन्दै थियो। अनायसै खै कताबाट सोच आयो, फागुनमा उनले बिहे गरिहाले चितवनकी सुनितासँग।

'प्रेमको सागरमा चुर्लुम्म डुबेर बिहे गर्नुभएको हो ?' भन्ने प्रश्नमा उनले हाँस्दै भने, 'मैले सागरमा डुबेरभन्दा पनि सागरको किनारमा आएर विवाह गरेँ।‘

'उसो भए, अहिले तपाईंलाई छाड्नेहरुको बढी माया लाग्छ कि छोडेकाहरुको ?' भन्ने थप प्रश्नमा पनि उनले मुस्कुराउँदै भने, 'ती सब उमेरका किस्साहरू थिए। अब चाहेर पनि दोहोरिन्नन्। अहिले भने म आफैँसँग भएकोलाई असाध्यै प्रेम गर्छु।'

शिवकी एउटी छोरी छिन्– आठ वर्षीया। अहिले उनको सबैभन्दा 'प्रिय साथी' भनेकै छोरी हुन्।

'मलाई ईश्वरकाे रुप लाग्छन्– बच्चाहरु। उनीहरु निर्दोष हुन्छन्। प्रेमिल हुन्छन्', छोरीसँगको सम्बधबारे कोमल हुँदै उनले भने, 'म जस्तोसुकै चिन्ता र तनाव भए पनि छोरीको मुस्कान देखेपछि  म यसै खुशी भइजान्छु।'

ईश्वर र छाेरी

त्यसो त नेपाली समाजका अधिकांश अभिभावकहरुसँग आफ्ना सन्तानको लागि एउटा सपना हुन्छ। 'मेरो छोरो डक्टर बनोस्', 'इञ्जिनीयर बनोस्', 'वकील बनोस्' वा 'मेरो छोरी नर्स बनोस्', 'कुनै बैंकको ठूलो जागिर खाओस्', 'पाइलट बनोस्' जस्ता आदि-आदि।

तर, शिवको हकमा भने यो अपवाद छ। उनले अहिले नै 'मेरो छोरी यस्तो बनोस्' भनेर कुनै सपना देखेका छैनन्। तर, छोरीले इच्छाएको 'करिअर' मा ठूलो हिस्सा बन्ने उनको रहर छ।

उनले सुनाए, 'मेरी छोरी भविष्यमा यस्तो बनोस् भनेर कहिल्यै सोचेको छैन। बिस्तारै उसको पढाइ र उमेरले कुनै बाटो रोज्ने छ। म त्यहीँ बाटोमै छोरीको साथी बन्नेछु। उसलाई सधैँ आँखामा राखेर साथ दिनेछु।'

वास्तवमा शिवलाई 'प्रेम'को परिभाषा थाहा छैन रे ! गम्भीर भावसहित उनले भने, 'मलाई प्रेमको ठ्याक्कै परिभाषा थाहा छैन। तर प्रेम मेरो लागि एउटा सुन्दर सोच र भावना हो। प्रेमको कुनै परिधि र सीमा छैन। शब्दमा भन्ने हो भने प्रेम सामान्य विषय हो, तर यसको अस्थित्व बृहत् छ। फराकिलो छ।'

त्यस्तै शिवलाई 'पैसा' को परिभाषा पनि थाहा छैन रे ! उनले भने, 'पैसाको परिभाषा पनि मलाई ठ्याक्कै थाहा छैन तर मेरो लागि पैसा फगत साध्य मात्र हो। गाँस, बास र कपासको आवश्यकता टार्ने एउटा भौतिक थोक मात्रै हो।'

यहाँसम्म कि, शिवलाई 'जीवन'को ठ्याक्कै परिभाषा पनि थाहा छैन रे ! उनले थप्दै भने, 'सास रहुन्जेलसम्म गरिने यात्रा नै जीवन हो। भलै यात्रामा कहिले दुःख आउला, कहिले सुख।'

'साधा जीवन उच्च विचार'

अहिले शिव आफ्नो जीवनसँग सन्तुष्ट नै छन्। उनलाई आफैँसँग कुनै गुनासो छैन। उनले भने, 'हरकोहीको रहर हुन्छ कि ओत लाग्ने एउटा आफ्नै झुपडी होस्। खुशी परिवार होस्। दुई चार जनाले चिनुन्। यी सबै दृष्टिकोणले आफ्नै जीवनसँग मेरो कुनै गुनासो छैन।'

त्यसो त 'साधा जीवन उच्च विचार' को पर्याय हुन्- शिव। स्रोत तथा दर्शकमाझ जति चर्चित भए पनि उनी सामान्य सर्वहारा नागरिक नै भएर बाँच्न रुचाउँछन्।

हिजोआजकै उनको दैनिकीलाई नियाल्ने हो भने भने उनी सामान्य जीवन बाँचिरहेका छन्। बिहान ११/१२ बजेसम्म घरमै बसेर परिवारसँग रमाउँछन्।

बिहान केही समय रियाज (साधन) गर्ने दैनिकी बनाएका छन्। साँझ कति बजे सुत्ने, बिहान कति बजे उठ्ने, मर्निङ–वाक जाने, परिवारसँग समय बिताउने, रेकर्डिङ गर्ने, साथीहरुसँग भेट्नेलगायत विभिन्न गतिविधिहरुलाई उनले आफ्नो दैनिकी राखेका छन्।

'दैनिकीलाई एउटा रुटिनमा चलाइएन भने अस्तव्यस्त हुँदो रहेछ। त्यसैमाथि सङ्गीत क्षेत्रमा झन् यो नित्तान्त आवश्यक पर्दो रहेछ', उनले आफ्नो दैनिकी सुनाउँदै भने।

उनी अहिले पनि सङ्गीतको कक्षा लिइरहेका छन्। अपरान्ह दुईदेखि चार बजेसम्म उनी सङ्गीत पढ्न नियमित (कहिलेकाहीँ जरुरीबाहेक) गान्धर्व सङ्गीत प्रशिक्षण केन्द्र पुग्छन्। त्यहाँ गुरु चन्दनकुमार श्रेष्ठसँग उनी हृदय खोलेर नयाँ कुरा पढ्छन्। उनी अहिले सङ्गीत प्रवीण तहमा सातौँ वर्षका विद्यार्थी हुन्।

'लिजेण्ड भनेर स्राेताहरूले माया गर्दा आफू बुढाे भएझैँ लाग्छ '

आगामी फागुनमा शिव ३९ वर्ष पुग्दै छन्। उनले गीत गाउन थालेको समय गन्ने हो भने २७ वर्ष भइसक्यो। यसबीचमा उनले विभिन्न आरोहअवरोह पार गरे।

उनको यति लामो साङ्गीतिक यात्रालाई सम्मान गर्दै पछिल्लो समयका दर्शक तथा स्रोत र गायकहरुले उनलाई 'लिजेण्ड' भन्छन्।मान्ने हो भने 'लिजेण्ड' को उपाधि पाउनू आफैँमा एउटा गौरवको कुरा हो।

'अरुले लिजेण्डभन्दा आफूलाई बूढो भएको महसुस हुँदो रहेछ तर म बुढो बन्न चाहन्नँ', उनले हाँस्दै भने, 'म आफूलाई नयाँपुस्ताकै ग्रेडमा राखेर कर्म गरिरहेको छु। यसले एउटा उर्जा दिन्छ।'

त्यसो त, अहिलेसम्म शिवले आफ्नै गृह जिल्लामा ५-६ पटक कन्सर्ट गरिसकेका छन्। उनी नारायण गोपाल युवा संगीत पुरस्कार, नेपाल सरकारद्वारा राष्टिय युवा प्रतिभा सम्मान, कान्तिपुर नेशनल अवार्ड, हिट्स एफएम अवार्ड, इमेज एफएम अवार्डलगायत दर्जनौँभन्दा बढी पुरस्कारबाट पनि विभुषित भइसकेका छन्।

शिवको सङ्गीत–परिभाषा

आफूले सिकेको र जानेको ज्ञानलाई आत्मसात गर्दै उनले 'सङ्गीत'को शाब्दिक अर्थ सुनाए- 'सङ्गीत'बाट 'त' हटाउँदा 'सङ्गी' बन्छ। जसको अर्थ प्रिय, साथी वा दोस्ती हुन्छ।

'सङ्गीत' बाट 'गी' हटाउँदा 'संत' बन्छ, जसको अर्थ हुन्छ– महात्मा। अर्थात् भौतिक दुनियाँभन्दा बाहिरको पात्र। जसलाई सांसारिक लोभ-लालच, रिस आक्रोश छैन।

'सङ्गीत'बाट 'सं' हटाउँदा 'गीत' बन्छ। जसको अर्थ मानिसको कल्पना, यथार्थ र भाेगाइकाे लयात्मक अभिव्यक्ति भन्ने बुझिन्छ।

'सङ्गीत'को बृहत्  परिभाषाबारे उनले सुनाए- सङ्गीतबिनाको संसार कल्पनासम्म पनि गर्न सकिन्न। प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सङ्गीत मानिसको आत्मा हो र यो सार्वजनिक भाषा पनि हो। पृथ्वीमा सास फेर्ने सबै प्राणीहरुको अस्तित्व र जीवनलाई सुन्दर तरिकाले सिँगार्ने माध्यम र कला नै 'सङ्गीत' हो।

पुरा गर्न बाँकी सपना

शिव आफूलाई सपनाबिहीन मान्छे भन्न रुचाउँछन्। 'श्रीमद् भगवत गीता' मा लेखिएको एउटा शाश्वत वाक्य– 'कर्म गर, फलको आशा नगर।' शिवको स्लग नै हो यो।

उनले आफ्ना बेवारिशे सपनाहरु सुनाउँदै भने, 'म वास्तवमा  सपनाबिहीन मान्छे थिएँ र अहिले पनि हुँ।'

कुनै दिन अध्यात्मको बाटो हिँड्ने पनि उनले सङ्केत देखाए। उनले भने, 'सपनाहरुको टुङ्गो नभएका मानिसभित्र भोक जाग्दो रहेछ। भोककाे भाेक पछि आध्यात्म सुरु हुन्छ। म अहिले भोकमै छु। कुनै दिन आध्यात्मिक जीवन पनि बाँच्न सक्छु।'

अन्त्यमा,

हिजाे (शुक्रबार) शिवको जीवनमा पहिलाे रेकर्ड गरेकाे 'जति बिर्स्याे तिम्राे याद' बाेलकाे गीत सार्वनजिक भएकाे छ। जसमा शब्द सुरेश वाग्ले छ भने संगीत र स्वर शिवकै छ।

शिवले यही गीतबाटै रेडियाे नेपालकाे आधुनिक गीत प्रतियाेगिता जितेका थिए। वास्तवमा याे गीतलाई वि.सं २०६० वैशाख ४ गते रेडियाे नेपालकाे स्टुडियाेमा लाइभ रेकर्डिङ गरिएकाे थियाे। जुन पहिलाे संस्करण थियाे।

यसकाे नयाँ संस्करण भने ०७४ सालमा रेकर्डिङ गरिएकाे हाे। उक्त गीतलाई  नै परिमार्जिन गरेर शिवले म्युजिक भिडियोको रुपमा प्रस्तुत गरेका हुन्।

भिडियोमा अभिनेता पल शाह, आकाश श्रेष्ठ र प्रमिला कार्कीकाे अभिनय छ। भिडियाेलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

अन्त्यमा शिव निधार नै खुम्च्याएर मुस्कुराउँदै भने, 'वास्तवमा मेरो सांगीतिक यात्रा बल्ल सुरु भएकाे महशुस हुँदैछ, किनकि मेरो जीवनकै पहिलो गीतलाई करिब १८ वर्षपछि नयाँ तरिकाले प्रस्तुत गर्न पाएँ।'

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!