एकापट्टि माटोको आश्चर्यचकित पार्ने खालका ढिस्का। अर्कोतर्फ साधुका कुटी। एकान्त अनि सुनसान लाग्ने ठाउँ। प्रकृतिका अनुपम छटाले मनमोहक मानिने स्थल। कलकल बगिरहने खोला। चिसो हावापानी। पहाडको फेदी, जहाँ पशुपन्छीहरू रमाइरहेका हुन्छन्।
डाँडामा लुकामारी खेलिरहने बादलले घरि सूर्यका किरणलाई लुकाउन खोज्छ त घरि सिमसिम पानी बर्साइरहेकोे हुन्छ। तराईको छेउ, पहाडको फेदी मन्त्रमुग्ध तुल्याउने प्रकृतिको सुन्दरता पान गर्न पछिल्लो समय लम्किरहेका हुन्छन्– कयौँ पाइलाहरू।
कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिकाअन्तर्गत पर्ने उक्त क्षेत्र लिङ्गा क्षेत्रका नामले परिचित छ। पछिल्लो समय आन्तरिक पर्यटकहरूको चाप बढिरहेको उक्त क्षेत्र यतिखेर निकै चर्चित छ।
दुई वर्षसम्म कोरनाका कहरका कारण थलापरेको पर्यटन व्यवसाय बिस्तारै तर्गिने अनुमान लगाइरहेका छन् विज्ञहरूले।
सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूले पनि बिस्तारै देख्न थालेका छन् पर्यटकको छायाँ। हिजो आज बेतकोट ताल, लिङ्गा, खप्तडलगायतका केही पर्यटकीय क्षेत्रमा चहलपहल बढिरहेको कुरा सुनाउँछन् स्थानीयबासीहरू।
धार्मिक, साँस्कृतिक र पुरातात्विक हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छन् सुदूरपश्चिमका कयौं पर्यटकीय क्षेत्रहरू। जसअन्तर्गत पर्ने एउटा चर्चित क्षेत्र हो लिङ्गा पनि। विगतमा सुदूर–पश्चिमका पहाडी जिल्लाबाट हाट जाने अर्थात् टनकपुर र ब्रह्मदेव नुन गुड लिन जानेहरूको बास बस्ने ठाउँ पनि हो लिङ्गा क्षेत्र।
यसै क्रममा बेतकोट नगरपालिका प्रमुख अशोक चन्द सुनाउँछन्, ‘आजभन्दा ७०–८० वर्षपहिले पनि यही बाटो भएर हिँड्थे टनकपुर, ब्रह्मदेवबाट नुनगुड लिन आउनेहरू। आउँदा र फर्किंदा हटेरुको बसोबास गर्ने ठाउँ थियो लिङ्गा क्षेत्र। जहाँ भरियाका लागि थकाइ मार्ने ठूलो सुन्दर चौतारो पनि थियो।’
पूर्वजले पाइला बिछ्याएको गोरेटो हो उक्त क्षेत्र। घनघोर जङ्गलमा बाघभालुको डर हुँदाहँुदै पनि दैवीय शक्तिको विश्वासमा त्यतै बास बस्थे बटुवाहरू। साँझ बिहान भगवान्को पूजा–आराधना गरेर मात्र खान्थे।
पुरातात्विक हिसाबले समेत महत्व राख्ने यस क्षेत्रमा उत्खनन् गर्ने हो भने पुर्खाका पालाका केही सामग्री फेला पर्न सक्छन्। विगतको इतिहास थाहा पाउन सकिने आधारहरू भेटिन सक्छन्।
स्वमी तारादत्त जोशीका अनुसार, तीन चार वर्ष भयो नगरपालिकाले बाटो पुर्याएपछि यहाँ पर्यटकको सङ्ख्या बढ्न थालेको। हिजो आज आन्तरिक पर्यटकहरूको घुइचो लाग्छ उक्त क्षेत्रमा।
‘प्रकृतिले भूमिको रचना गर्दा कतै कतै भूगर्भभित्र यस्ता संरचनाहरू तय भएका छन्। पहाडतिर पनि कहीँ कतै यस्ता संरचनाहरू भेटिन्छन्। यस प्रकारको संरचनालाई हडेली माटाको संज्ञा पनि दिइन्छ। हाँडीझैँ देखिने माटो भएकै कारण हडेली भनियो। यो क्षेत्र धार्मिक एवम् ऐतिहाशिक दुबै हिसाबले महत्व राख्दछ’, जोशीले भने।
स्थानीय बूढापाकाका अनुसार २०१८ सालतिर लिङ्गा क्षेत्रमा केही मानिसहरू पहाडबाट आई बसोबास गर्न थाले। बस्ती बसिसकेपछि पानीको श्रोत खोज्दै उनीहरू पुगेछन्, हालको लिङ्गा क्षेत्रमा। जहाँ तिनले खोलामा कलकल बगिरहेको पानी देखे।
कथा भन्छ– गाउँलेहरूले कुलो खनेर बस्तीसम्म पानी पुर्याइयो। दिनभरि कुलोमा पानी बगिरह्यो। राती एकाएक पानी बन्द हुन गयो। उषाको पहिलो प्रहरमा गाउँका कुनै बुज्रुकलाई सपना हुन गयो। सपनामा कसैले भनेछ –त्यो क्षेत्रमा शक्तिपिठ छ। त्यहाँ गएर सबैले सामूहिक पूजा गरेपछि मात्र निरन्तर रुपले पानी आउने छ।
सपनामा भनेअुसार गाउँलेले सामूहिक पूजा गरेपछि कुलोमा निरन्तर पानी बग्न थालेछ। तत्पश्चात् गाउँलेहरू मिलेर पाठपूजा गर्न थाले। हाल उक्त क्षेत्रलाई नगरपालिकाले पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेको छ।