जुम्लामा कांग्रेस अधिवेशन: पाका पुस्ताकाे अभिभावकत्वमा युवा पुस्ता मैदानमा

Breaknlinks
Breaknlinks

वडाबाट, पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशन गरी राेचक शैलीले नेतृत्व चयन गर्ने काँग्रेस पार्टी यतिबेला नयाँ नेतृत्व चयन गर्ने म्याराथनमा छ। याे म्याराथनकाे अग्रभागमा छन् नयाँ पुस्ता। जाे आक्रमण ढंगले अगाडि आइरहेको छ।

केही समय अघिकाे वडा अधिवेशनमा जुम्लाका कुल ६० वटा वडामध्ये अधिकांशकाे नेतृत्व युवा पुस्ताले सम्हाले। पार्टीलाई गतिशिल र फरक शैलीले अघि बढाउन युवा नेतृत्व आवश्यक भएकोले अधिकांस वडाको जिम्मा युवाको काँधमा सुम्पिएको पाका पुस्ताका कार्यकर्ता तथा चन्दननाथ– १० का वडाध्यक्ष इश्वरी प्रसाद न्याैपानेले बताए।

'अब युवाको काँधमा नयाँ जिम्मेवारी बोधका साथ काँग्रेस अगाडि बढ्दैछ भन्ने सन्देश दिनुपर्छ,' उनले भने,'हामीले वडा सभापतिदेखि प्रतिनिधि छनाेटमा युवा पुस्तालाई अगुवाइ गर्न आग्रह गरेका छाैं।'

पार्टीप्रति युवाको आकर्षक बढिरहेको समयमा संगठन चुस्तदुरुस्त र समयानुकुल अघि बढाउन सक्छन् भन्ने मान्यताका साथ युवा पुस्ताले जिम्मेवारी पाएकाे जिल्ला समन्वय समितिका उप-प्रमुख बुढाकाे भनाइ छ।

'नयाँ परिस्थिती अनुसार वडा हाँक्न सक्छन् भनेर युवा पस्ताप्रति विश्वास जागेको छ,' उनले भने, 'विज्ञान र प्रविधि सँग पनि सहजै जोडिने भएकोले अधिकांस वडा युवाको नेतृत्वमा चल्ने गरि नेतृत्व चयन गरिएको हो।'

चन्दननाथ नगरपालिका- ४ मा ३३ वर्षीय दीपेन्द्रविक्रम हमाल वडा सभापतिमा चुनिएका छन्। सानै उमेरमा नेविसंघको राजनीतिमा क्रियाशिल उनले वडालाई नयाँ प्रकारले अघि बढाएर काँग्रेसमय बनाउन लाग्ने बताए।

त्यस्तै, चन्दननाथ- १० मा युवा नेता दुर्लभ खत्रीले जिम्मेवारी पाएका छन्, भने कनकासुन्दरी गाउँपालका- ८ मा मात्रिका उपाध्याय वडा सभापतिमा चुनिएका छन्।

यसपाली पार्टी नयाँ ढंगले अगाडि बढ्न खाेजिरहेकाे उर्जा विकास तथा जलस्रोत मन्त्रीका स्वाकीय सचिव महेन्द्र कार्कीले बताए।

'पर्टीले वडा स्तरमा युवाहरुलाई विश्वास गरेकाे छ। याे सकारात्मक पक्ष हाे,' उनले भने, 'यस्तै खालकाे जिम्मेवारी र विश्वास जिल्ला, प्रदेश र केन्द्रमा हुन सक्याे भने पार्टीको उचाइ अझ बढ्ने छ। राजनीति मरुन्जेल गर्ने कसैकाे पेसा र पेवा हुनुहुन्न।'

पालिका र प्रदेशमा पनि युवा अनुहार मुखरित

वडापछि भएकाे पालिका स्तरीय नेतृत्व चयनमा पनि युवा अनुहार मुखरित भएकाे छ। जिल्लाकाे एक नगरपालिका र छ वटा गाउँपालिका सबैमा युवा पुस्ता हावी भएकाे छ।

जसमा रामचन्द्र पाैडेल समूहबाट चन्दननाथ नगरपालिकामा रबि थापा, कनकासुन्दरी गाउँपालिकामा लालु बुढा, हिमा गाउँपालिकामा नरबहादुर  शाही, तिला गाउँपालिकामा भक्तबहदुर रोकया, पातरासी गाउँपालिकामा रतनसिंह बुढा र तातोपानी गाउँपालिकामा धनकृष्ण चौलागाईं सभापति चयन भएका छन्। भने, देउवा समूहबाट गुठीचाैर गाउँपालिकामा माटेकबहदुर भण्डारी र सिंजागाउँपालिकामा गोविन्द शर्मा सभापति चयन भएका छन्। पालिकामा निर्वाचित सबै सभापतिहरु युवा पुस्ताका छन्।

त्यस्तै, पूर्व कार्यतालिका अनुसार मंगलबार उद्घाटन भएको क्षत्रीय कार्यसमितिको प्रथम अधिवेशनका लागि पनि  काँग्रेसमा नयाँ पुस्ता अगाडि आउने सिनारियाे देखिएकाे छ।

नेपाली काँग्रेस प्रदेश (क) का सभापति लछिमन बोहोराले सहमति र सहकार्यका आधारमा नेतृत्व चयन हुने भएकाले वर्तमान सभापतिका नाताले पुनः आफ्नो दावी प्रदेश (क) को सभापतिमा रहने बताए।

उनलाई टक्कर दिन सभापतिमा संस्थापन पक्षका नारायण बहादुर शाही चुनावी मैदानमा हुनेछन्। भने, प्रदेश ‘ख’ को सभापतिमा संस्थापन पक्षका भीमनिधि हमाल र पौडेल पक्षका कालीबहादुर बुढाको उम्मेदवारी टुङ्गो लागेको छ।

निर्वाचन पछिकाे मत परिणामले जसकाे पल्ला भारी हुने भएपनि अगाडि आउने युवा पुस्ता नै हुने भएकाे छ।

जिल्लामा पाका पुस्ताकाे साथमा पाएपछि युवा पुस्ता मैदानमा

जुम्लामा जिल्ला अधिवेशनकाे मिति नजिकिदैछ। वडा अधिवेशन अगाडि नै पार्टी सभापतिका आकांक्षिहरुले मुख खाेलीसकेका छन्। झण्डै आधा दर्जन आकांक्षि देखिए पनि सभापतिका बलिया उम्मेदवार दुई समुहबाट दुई जना देखिएका छन्। जसमा पाैडेल समूहका वर्तमान सभापति दीपबहादुर शाही छन्, भने देउवा समूहका कर्णबहादुर शाही छन्।

तुलनात्मक रुपमा पाका उमेरका दीपबहादुर शाहीकाे टिममा सचिव सह–सचिव लगायत पदमा  युवा पुस्ताकाे उम्मेदवारी छ, भने उनकाे टिमलाई कर्णाली प्रदेशका उर्जा विकास तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठकाे, प्रतिनिधि सभा उम्मेदवार देवेन्द्र शाही लगायत अनुभवी नेताहरुकाे साथ छ।

त्यस्तै, सिंगाे प्यानल नै युवा पुस्ताकाे सम्हालेका वर्तमान पार्टी सचिव कर्णबहादुर शाहीलाई सविधानसभा सदस्य ललितजंग शाहीकाे दरिलाे साथ छ। संविधानसभा निर्वाचनताका पाैडेल पक्षका उम्मेदवार भए पनि हालै देउवा पक्षमा लागेका उनी निर्वाचनका मामलामा निकै परिपक्व मानिन्छन्। त्यसैले देउवा पक्ष पनि सभापति पट्काउने दाउमा छ।

नेताहरुकाे पेटबाेलीमा गुट, बाहिर देश

नेताहरुले ओैपचारिक समारोहमा देश र जनताका कुरा गरे पनि उनीहरुको भित्री स्वार्थ आफ्नाे गुटलाई अगाडि ल्याउनु रहेको छ।

प्रदेश (क) अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेशका जलस्रोत मन्त्री दिनबन्दु श्रेष्ठले समृद्ध मुलुक निर्माण गर्ने अभिभारा नेपाली काँग्रेसको काँधमा आएको बताए। देशको शासन चलाउने जिम्मेवारी पाएका कम्युनिस्टहरू टुटफुटमा अल्झिएको हुनाले देश निर्माणको जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको उनकाे भनाइ छ।

'देश चलाउने काँग्रेसका नेताहरु क्षमतवान, निष्कलंकित, देशप्रेमि र नेपाली जनताको भलो चाहने नेतृत्व आजको आवश्कयता हाे,' उनले भने, 'पार्टीको निर्वाचनको बेला समूहमा विभाजन नभइ एकता, सहमति र सहकार्यका आधारमा अघि बढ्नु पर्छ।'

वडा हुँदै जिल्ला सम्म हुने निर्वाचनबाट असल र चरित्रवान नेतृत्व चयन गर्न काँग्रेसका मतदातालाई पाका पुस्ताकाे सुझाव छ। 

संविधानसभा सदस्य ललितजंग शाहीले नेपाली काँग्रेसको मार्गदशनलाई चिनेको, पार्टीलाई सहज तवरले अवतरण गर्न सक्ने लिडर चयन गर्न सबैलाई आग्रह गरिरहेका छन्।

'नेपाली काँग्रेसले निष्ठा र त्यागको राजनीति गर्ने भएकाले पदलोभि नहुन साथीहरुलाई आग्रह गर्छु,' उनले भने, 'नेपाली जनताको लोकप्रिय पार्टीलाई कतैबाट पनि आच आउने कार्यमा सहभागि नगराउन पार्टी नेता र कार्यकर्तासँग अनुरोध छ।'

बाहलवाला मन्त्री श्रेष्ठ र संविधानसभा सदस्य शाहीले नेतृत्वकाे पक्षमा बाहिर जेकुसै बाेले पनि उनीहरु आफ्नाे समूहकाे पल्ला भारी बनाउने दाउमै छन्।

स्वघाेषिस सभापतिका उम्मेदवारहरु

काँग्रेस जुम्लाको १३ औं जिल्ला अधिवेशनका प्रत्यासी खड्गबहादुर सेजुवालले त्यसबेला पराजित भएको भन्दै यसपटक पनि सभापतिमा आफ्नो दावी रहेको घोषणा गरे। उनले भने, 'खड्ग सेजुवाल उम्मेदवारीबाट पछि हटिसक्यो भन्नु भ्रम हाे,'  उनले भने, 'पार्टी भित्रको अन्तरविरोधका पछि नलागि पार्टीको हित र भलाइका लागि सक्रिय हुनेछु।'

नेपाली काँग्रेसका महासमिति सदस्य तथा मेयर कान्तिका सेजुवालले पार्टीभित्र महिलाहरु प्रयोग हुने र फ्याकिने चलनबाट माथि उठ्नु पर्ने बताउँदै आफै पनि सभापतिकाे उम्मेदवार भएकाे कुरा घुमाउरो ढंगले प्रस्तुत गरिन्।

'अरुबाट महिलाहरु परिचालित भएमा महिलाको सपनाहरु चकनाचुर हुनेछन्,' उनले भनिन्, 'महिलाका लागि राज्यले दिएको ३३ प्रतिशतको अधिकार पार्टीभित्र पनि लागु हुनुपर्‍याे। पार्टीलाई जीवन्त राख्नको लागि असल नेतृत्वको खोजि हुनु पर्‍याे।'

पौडेल समूह बलियाे

नेपाली काँग्रेस स्थानीयतहको अधिवेशनमा जुम्लामा रामचन्द्र पौडेल समूह बलियाे देखिएको छ। जिल्लाको एक नगरपालिका सहित ७ गाउँपालिका मध्ये दुइवटा स्थानीयतहमा मात्र देउवा प्यानलले सभापति पाएकाे छ। 

जिल्लाका छ वटा स्थानीयतहमा सर्वसहमतिले सभापति चयन भए पनि चन्दननाथ नगरपालिकामा निर्वाचन भयाे। नगरसभापतिमा पौडेल पक्षबाट रवि थापाकाे पूरै प्यानल निर्वाचित भयाे। 

यो अधिवेशनबाट प्रदेशमा १२ पदाधिकारी जाने र जिल्ला कार्यसमिति ५१ सदस्यीय हुनेछ, भने यही असोज १५ गते हुने जिल्ला अधिवेशनमा ९ सय ६५ जना मतदाताले भाग लिने काँग्रेस जुम्लाले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-01 07:18:00

प्रतिकृया दिनुहोस्