उत्तरी मकवानपुर थाहानगरपालिका–६ का ७२ वर्षीय जयराम श्रेष्ठ बिहान सबेरै उठ्छन्। उठ्ने बितिक्कै उनलाई काममा जान हतार हुन्छ। बिहानको झिसमिसेमा नै काममा निस्कने उनी झमक्क साँझ परेपछि मात्रै फर्कन्छन्।
जीवनको सम्पूर्ण कालखण्ड ज्याला मजदुरी गरेर बिताएका उनी बुढेसकालमा बाउ बाजेको बिँडो समाइरहेका छन्। जयरामको दैनिकी अचेल पानी घट्ट चलाएर बित्छ। जीवनयापन गर्नको लागि उनले यतिका वर्षसम्म गरेको संघर्षले त्यति सन्तुष्टि दिएको थिएन, जति सन्तुष्टि उनले अहिले पानी घट्ट चलाउँदा पाइरहेका छन्। उनी भन्छन्, ‘बाउ बाजेले जीवनभर गरेको काम र इतिहासमै लोप हुन लागेको कुराको संरक्षण गर्दाको सन्तुष्टि अर्कै हुने रहेछ।’
बाजेले चलाउँदै आएको पानी घट्ट बाजेको सेखपछि उनका बाले चलाए। बाको सेखपछि जयरामको दाइले पनि पानी घट्टबाटै आफ्नो जीवन चलाए। पानी घट्ट चलाएरै उनले पनि संसारबाट बिदा लिए।
त्यसपछि आफ्नो पुर्खाले गर्दै आएको कामको संरक्षण गर्ने जिम्मा जयरामको काँधमा आइपुगेको थियो। तर पछिल्लो समय आधुनिकतासँगै आएको विभिन्न प्रविधिले पानी घट्ट लोप हुदै गएको थियो।
त्यसमाथि पनि २०५० सालमा आएको बाढीले घट्टमा ठुलो क्षति पुर्याएपछि उनले घट्ट सञ्चालनमा ल्याउन सकेका थिएनन्। घट्ट चलाउने ताकत पनि नभएकोले आफूले दाइको सेखपछि पुर्खाको कामलाई निरन्तरा दिन नसकेको उनी बताउँछन्। तर गत वर्ष भने उनलाई आफूले बाउबाजेले गरेको कामको संरक्षण गर्न नसकेकोमा निकै दु:ख लाग्यो।
बुढेसकालमा उनले आफूले खाने खानामा घट्टमा पिनेको अन्नको स्वाद खोज्न थाले। त्यसपछि उनलाई बाउबाजेको काम र नेपालको परम्पराको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो।
गत वर्षको भदौमा २७ वर्षदेखि क्षतविक्षत भएर बसेको घट्टको मर्मत गरेर सञ्चालन गर्न जयराम तात्तिए। उनले घट्ट बनाएर सञ्चालन गर्छु भन्दा घरमा छोराछोरीबाट त गाली पाए नै समाजबाट उनलाई बुढेसकालमा जानी जानी दुख बिसाउन लागेको भन्दै विभिन्न कुरा आयो। तर जयरामलाई कुनै पनि हालतमा घट्ट चलाउनु थियो।