'अनि सात सय वर्ष पर्खिएँ'

तस्वीर स्केचः कवि भूपीन
तस्वीर स्केचः कवि भूपीन

कवि सीमा आभासको गम्भिर जिज्ञासा नै हो - एउटा भाडाकाे भात खायाे। एउटै समाजमा बस्याे। एउटै भाषा बाेल्याे। एउटै धर्म मान्याे। दाजुभाई र दिदी-बहिनी बीचमा लवाइ, खवाई, हिँडाई, बाेलाई, साेचाई, हेराई, पढाइमा आकाश-जमिनकाे अन्तर हुन्छ।

के तत्व हुन्छ ? जसले यति अन्तर ल्याउँछ !

पुलकित सोध्दछ- किन कोही मानिस भेट्नासाथ मन पर्छ ? किन कोही यसै टाढा भइजाऊँजस्तो लाग्छ ?

ओशोको आत्मकथनको अनौपचारिक भावानुवादले रहस्य केही खोल्दछ कि सायद भनेर...

सबैभन्दा पहिले त व्यक्तिले आफ्नो जन्मलाई छनौट गर्नुपर्छ। जुन असाध्य असंभव हुन्छ। ध्यानको स्थितिमा मरेको व्यक्तिले मात्र आफ्नो जन्मको छनौट गर्न सक्छ। ध्यानीले मात्र जन्मलाई रोज्न सक्छ। जो होशपूर्वक मर्छ, उसले होशपूर्वक जन्म लिने अधिकार प्राप्त गर्दछ।

म होशपूर्वक मरेको थिएँ। खासमा म मरेको थिइनँ, मारिएको थिएँ। म तीन दिनपछि मर्नेवाला थिएँ तर तिनीहरुले पर्खन सकेनन्। तीन दिन पनि पर्खन सकेनन्। मान्छे यति हतारमा छन् !

तिमीलाई आश्चर्य लाग्ला कि जुन व्यक्तिले मलाई मारेको थियो, अहिले उ मेरो सन्यासी हो। उ फेरि मलाई मार्न आएको थियो, सन्यास लिन आएको थिएन। यदि उसले आफ्नो हठ छोड्दैनथ्यो भने म पनि आफ्नो हठ छोड्नेवाला थिइनँ।

सन्यासी भएको सात वर्षपछि उसले स्वयं स्वीकार गरेर भन्यो- प्रिय सद्गुरु, अब म भयबिना हजुरको सामुन्नेमा स्वीकार गर्न सक्छू कि, अहमदावादमा म तपाईलाई मार्न आएको थिएँ।

मैंले भनेँ- ’हे परमात्मा फेरि दोश्रोपटक ?’
उसले भन्यो- ‘दोश्रोपटक भन्नाले हजुरको तात्पर्य ?’
मैंले भनेँ- ‘यो अर्कै कुरा हो। तिमी आफ्नो कुरा भन।‘
उसले भन्यो- ‘सात वर्ष पहिले अहमदाबादमा हजुरसँगको भेटमा म रिवल्वर लिएर आएको थिएँ। हल यति भरिएको थियो कि संयोजकले मानिसहरुलाई मञ्चमा बस्न दिएका थिए।

त्यो व्यक्ति जो मलाई मार्न भनेर आएको थियो, उसलाई मेरो छेउमा बस्न दिईएको थियो। कति राम्रो अवसर थियो !

मैले भनेँ- 'तिमीले यो अवसर किन खेर फाल्यौ ?'
उसले भन्यो- ‘मैले तपाईलाई कहिल्यै सुनेको थिइनँ। जब तपाईलाई सुनेँ, मलाई लाग्यो- मार्नुभन्दा त बरु आत्महत्या गर्छु। यही कारणले मैले सन्यास लिएँ- यहि मेरो आत्महत्या हो।'

सात सय वर्ष पहिले यही मानिसले मेरो हत्या गरेको थियो। यसले मलाई विष दिएको थियो। त्यो समयमा पनि यो मेरो शिष्य थियो।

तर जस्तो कि जुडासबिना जिसस हुनु गार्हो छ।

अनि म होशपूर्वक मरेँ। यसैले मलाई होशपूर्वक जन्मिने अवसर प्राप्त भयो। मैंले आफ्ना माता-पिता छनौट गरेँ।

पृथ्वीमा हजारौं मुर्खहरुले प्रतिक्षण संभोग गरिरहेका छन्। लाखौं अजन्मी आत्माहरु कुनै पनि गर्भमा प्रवेश गर्न तयार भएर बसेका छन्। मैले उपयुक्त क्षणको प्रतिक्षामा सात सय वर्ष पर्खिएँ।

र अस्तित्वलाई धन्यवाद छ कि, मलाई त्यो क्षण प्राप्त भयो। लाखौ वर्षको तुलनामा सात सय वर्ष केही होइन खासमा। केवल सात सय वर्ष ! हो म भनिरहेको छु- केवल।

मैले एकदमै गरीब र अन्तरंग दम्पतिलाई छनौट गरेँ।

मेरो पिताको हृदयमा मेरी माताप्रति अगाध प्रेम थियो। उहाँहरु एकअर्काप्रति अत्यन्त निकट, प्रेमपूर्ण र संतुष्ट हुनुहुन्थ्यो।

तथापि गरीब हुनुहुन्थ्यो- गरीब तर धनी ! यही घनिष्टता र पारस्परिक प्रेमका कारण नै गरीबीमा पनि उहाँहरुमा ठूलो समृद्धि थियो।

अशिक्षित, सरल माता उहाँलाई त यो पनि थाह छैन कि वुद्धत्व के हो ? यही त सौंदर्य हो। कोही वुद्ध हुनसक्छ, वुद्धत्व के हो भन्ने नजानेरै। र यसको उल्टो कोही वुद्धत्तवको बारेमा सबैथोक जान्न सक्दछ र पनि अवुद्ध बनिरहन सक्छ।

मैले यस दम्पतिलाई चुनेँ- सीधा-साधा, ग्रामीण। म राजा र रानीलाई पनि छनौट गर्न सक्थेँ। यो मेरो हातमा थियो। सबै प्रकारका गर्भहरु उपलव्ध थिए। तर म सरल र सोझो रुची भएको व्यक्ति हुँ।

यो दम्पति गरीब थियो, असाध्यै गरीब। तिमीलाई पत्यार नलाग्ला कि, मेरो पितासँग जम्मा सात सय रुपैयाँ थियो। यो उहाँको कुल सम्पत्ति थियो। तैपनि मैले उहाँलाई आफ्नो पिता चुनेँ। उहाँसँग आँखाले देख्न नसकिने एक बेग्लै सम्पन्नता थियो। एक अभीजात्यता थियो, जो देख्न सकिदैनथ्यो।

तिमीमध्ये धेरैले उहाँलाई देखेका छौ र निश्चितरुपमा एक बेग्लै सौन्दर्य बाेध भयो होला। उहाँ असाध्यै सीधा र सरल हुनुहुन्थ्यो।तिमी उहाँलाई गाउँले भन्न सक्छौ। तर उहाँ समृद्ध हुनुहुन्थ्यो- सांसारिक अर्थमा होइन तर कुनै पारलौकिक अर्थ छ।

सात सय रूपैयाँ, यही उहाँको कुल पूजी थियो। मलाई थाह पनि हुन्थेन होला तर जब व्यापारको दिवाला चलिरहेको थियो र उहाँ प्रसन्न हुनुहुन्थ्यो।

मैले सोधेँ- दद्दा (मैले उहाँलाई दद्दा भन्ने गर्थेँ)तपाई छिट्टै दिवालिया हुदै हुनुहुन्छ तर खुशी हुनुहुन्छ। खास कुरा के हो, के यो हल्ला हो ?

उहाँले भन्नुभयो- हल्ला होइन, यो त साच्चै हो। दिवालिया त हुने नै छ तर म खुशी छु किनकी मैले सात सय रुपैयाँ बचाईसकेको छु जसबाट मैले व्यापार शुरु गरेको थिएँ। र त्यो ठाउँ तमीलाई देखाउँ ? त्यो मैले जमिनमा गाडेको छु।

मैले भनेँ- त्यसो त तपाईले पैसा गाडेको ठाउँ देखाइसक्नुभयो मलाई तर मैले देखेको छुइनँ।
उहाँले सोध्नुभयो- के भन्न खोजेको ?

‘म कुनै विरासतको हिस्सा होइन- ठूलो या सानो, धनी या गरीब।

तर उहाँ असाध्यै प्रेम दिने पिता हुनुहुन्थ्यो। जहाँसम्म मेरो प्रश्न छ म प्रेम गर्ने पुत्र होइनँ- मलाई माफ गर्नू !

उहाँको हृदयमा यो आवारा पुत्रको लागि यति धेरै प्रेम थियो र यति धेरै करुणा। म त आवारा नै हुँ। आफ्नो परिवारकोलागि कहिल्यै केही गरिनँ। कुनै पनि प्रकारले उहाँहरु मप्रति ऋणी हुनुहुन्न। उहाँहरुले मेरो लागि सबै गर्नुभयो।

मैले यस दम्पतिको छनौट गर्नुको कारण थियो- आपसी घनिष्टता र अन्तरंगता। उहाँहरु दुई भएर पनि एक हुनुहुन्थ्यो। यसरी सात सय वर्ष पछि म पुनः शरीरमा प्रवेश गरेँ।

यसरी भन्न सकिन्छ- प्रेम, सद्भाव र सुसम्बन्ध जन्म-जन्मान्तर जान्छ उसैगरि घृणा र द्वेष पनि। आ-आफ्ना गुण र स्वभाव पनि।

छ छुट्नु भने पनि- छुट्नू प्रेमपूर्वक र भेट्दा भेटिनु - सफा हृदयले !

प्रकाशित मिति: : 2021-09-29 10:10:00

प्रतिकृया दिनुहोस्