३८ क्विन्टल सुन काण्डः सरकारी वकिलको बहस सकियो, मंगलबारदेखि प्रतिवादी कानून व्यवसायीको बहस

करिब ३८ क्विन्टल सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत मोरङमा जारी छ।

फैसलाको चरणमा रहेको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको हो। सुनुवाइमा सोमबार सरकार पक्षका कानुन व्यवसायी (सरकारी वकिल)को बहस सकिएको छ।

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार सरकारी वकिलको बहस सकिएपछि सोमबारबाटै प्रतिवादीका कानुन व्यवसायीले पनि प्रतिरक्षा बहस प्रारम्भ गरेका छन्।  प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा अदालतले फैसला सुनाउने धमलाको भनाइ छ।

मुद्दामा सरकारी वकिलले आइतबार र सोमबार बहस गरेका थिए। वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबू पोखरेलले बहस गरेका छन्।

आपराधिक समूह स्थापना र सञ्चालन (सङ्गठित अपराध)का विषयमा केन्द्रित रहेर भुसालले बहस गरे। अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा काफ्लेले एवम् अवैध सुन चोरी निकासी र पैठारीका विषयमा पोखरेलले बहस गरेका छन्।

बहसका क्रममा सरकार पक्षका वकिलहरूले सुन तस्करी र हत्यामा प्रतिवादीहरूको संलग्नता पुष्टि गर्न खोजेका थिए। उनीहरूले प्रतिवादीलाई बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेका छन्।

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दर्ता गरेको थियो।

१७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी सरकार पक्षको छ।  सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको हो। तर तस्करी गरेको भनिएको सुन भने अझै फेला परेको छैन।

मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती मुख्य अभियुक्त रहेको मुद्दामा सनमको हत्या गरिएको घटनाबाहेक सुन तस्करीसम्बन्धी प्रमाण मजबुत नभएको बताइएको छ। प्रतिवादीले बयानका क्रममा स्वीकार गरेको विषयलाई सुन तस्करीको मुख्य प्रमाणका रूपमा पेस गर्न खोजिएको छ।

सुरुमा ६३ जनामात्रै प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन्। प्रतिवादीमध्ये ५५ जना पक्राउ परेको र २२ जना अझैसम्म फरार रहेको अदालतका सूचना अधिकारी धमलाले बताए।

मुद्दामा नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेललगायतका प्रतिवादी छन्। खत्री र राउत अहिले पनि थुनामै छन्। अरू पूर्व एवम् बहालवाला प्रहरी भने उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।

सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले प्रतिरक्षा बहस थालेका छन्। प्रतिवादीका पक्षमा बहस गर्न ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको धमलाले बताए।

सोमबार एक जना प्रतिवादीको पक्षमा बहस भयो। पहिलो दिन पूर्वडिआइजी निरौलाको पक्षमा बहस भएको हो। उनको प्रतिरक्षामा अधिवक्ता भानुभक्त निरौलाले बहस गरे। बहसका क्रममा उनले सुन तस्करी र सनम हत्यामा पूर्वडिआइजी निरौलाको संलग्नता नरहेको दाबी गरे। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करीमा सहयोग गरेको आरोप लागेका पूर्वडिआइजीले मुद्दामा सफाइ पाउनुपर्ने जिकिर अधिवक्ता निरौलाको छ।

पक्राउ परेका अभियुक्तमध्ये मोहन काफ्लेको घरबाट एउटा डायरी बरामद भाएको थियो। त्यो डायरीमा सुन तस्करीको हिसाबकिताब राख्ने गरिएको अनुसन्धानबाट खुलेको छ। उक्त डायरीमा ‘डिआइजी मामा’ भनेर उल्लेख थियो। डिआइजी मामा भनिने व्यक्ति पूर्वडिआइजी निराला भएको अनुसन्धानबाट खुलेको हो।

प्रतिवादीमध्येका एसएसपी खत्रीका सवारी चालक विष्णुबहादुर खड्काले पनि ‘डिआइजी मामा’ भनिने व्यक्ति पूर्वडिआइजी निरौला नै भएको बयान दिएका छन्। जिल्ला अदालत मोरङको आदेशबाट थुनामा पुगेका पूर्वडिआइजी निरौला भने यसअघि नै उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।

तस्करी गरेर दुवईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोप लगाउँदै गोरेको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको हो।

घटना भएको भोलिपल्ट शाक्यको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई विराटनगरबाट पक्राउ गरेको थियो। त्यतिबेला फरार रहेका गोरेलाई पछि प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

प्रकाशित मिति: : 2021-09-27 20:50:00

प्रतिकृया दिनुहोस्