घरमा दुइवटी श्रीमती हुँदा-हुँदै बनगाड कुपिण्डे नगरपालिकाका वडाध्यक्ष इन्द्र कुमाइले गतवर्ष (०७७)काे मंसिर १ गते भगाएरै तेस्राे बिहे गरे।
उनले भगाएकाे महिला पनि अरू कसैकाे श्रीमती नै हुन्। अर्काेकाे श्रीमती भगाएपछि भनेका थिए, ‘हामी लामाे समयदेखि प्रेममा थियौं। गाउँमा सबैले थाहा पाए, अनि बिहे गर्न बाध्य भएँ।’
उनले आफूले गल्ती गरेकाे र कानूनी सजाय भाेग्न तयार भएकाेसमेत बताएका थिए।
०७७ साल मंसिर १९ गते प्रहरीले उनलाई पक्राउ गरेर बहुविवाह कसुरमा मुद्दा चलायाे। जिल्ला अदालत सल्यानले ०७७ फागुनमा वडाध्यक्षसँगै उनकी कान्छी श्रीमतीलाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसला सुनायाे। त्यसपछि उनी जिल्ला कारागार सल्यान चलान भएका थिए।
तर गत असाेज ३ गते भने 'संविधान दिवस'काे अवसर पारेर उनलाई राष्ट्रपतिद्वारा माफी दिइयाे। र उनी जेल मुक्त भए।
उनै वडाध्यक्षलाई अहिले नेकपा एमाले सल्यानले आफ्नाे पार्टीमा प्रवेश गराएकाे छ। उनलाई नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गराएका हुन्।
कुमाई स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। पार्टीको अगुवा कार्यकर्ता भेलामा उनीसहित दुई दर्जनभन्दा बढी कार्यकर्ताले पार्टी प्रवेश गरेको नेकपा एमाले नगर कमिटी सदस्य दलवहादुर बस्नेतले जानकारी दिएका छन्।
सल्यानकै एक कानून व्यवसायी भन्छन्, ‘यसरी बहुविवाह अपराधमा जेल परेकालाई आममाफी दिन हुँदैन थियाे। त्याे पनि वडाध्यक्षजस्ताे जिम्मेवार व्यक्तिलाई। आममाफीकाे लागि सिफारिस गर्ने निकायले पहिले ध्यान दिनुपर्थ्याे। प्रमुख जिल्ला अधिकारीले पनि यस्ता अपराध गर्नेलाई सिफारिस गर्न हुँदैन थियाे।’
राष्ट्रपति कार्यालयमा पुगेका यस्ता फाइलहरु हजाराैं हुने गरेकाे र राष्ट्रपतिले सबै हेर्न नभ्याउन गरेकाे पनि उनले बताए।
वडाध्यक्ष कुमाइ जेलबाट छुट्ने समय थाेरै दिन मात्र हुँदा-हुँदै पनि संविधान दिवसकै धज्जी उड्ने गरी भएकाे याे माफी लाजमर्दाे विषय भएकाे उनकाे दावी छ।