डोल्पाको ठुलिभेरी नगरपालिकाका १७० घरलाई निशुल्क सोलार वितरण

डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं ९ का एक सय ७० घरधुरीलाई निशुल्क सोलार वितरण गरिएको छ। 

कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो। 

शनिबार एक औपचारीक कार्यक्रमकाबीच मोतिपुर,डाँगीबाडालगायतका बस्तीका नागरिकलाई बोलाएर सोलार वितरण गरिएको हो।

नगरपालिकाको बीस लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पचास लाख गरेर कुल ७० लाख अनुदान सहयोगमा सम्पूर्ण वडावासी लाभान्वित हुने गरी सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए।

जनताको माग अनुसार प्रत्येक घरधुरीलाई दुई सय वाटको प्यानल र एक सय पचास एम्पियरको ब्याट्री निशुल्क रुपमा वितरण गरिएको उनले बताए।

'वर्तमान अवस्थामा सेवा दिइरहेको दुनैस्थित जैरीगार्ड जलविद्युतको घण्टौ लोडसेडिङ्ले जनताले हैरानी खेपेका थिए, उक्त समस्यालाई मध्येनजर राख्दै सोलार खरिद गरिएको हो,अब नागरिकहरु अन्धकारबाट मुक्त भएका छन्' उनले भने, 'सुरुमा नगरकार्यपालिकाले हाम्रो माग अश्विकार गरेको थियो,यद्यपी वडा नं का जनप्रतिनिधिको तीब्र दबावले नगरसभाबाट प्रस्ताप पास भएको हो,जनताको माग अनुसार योजना दिँदा हामि पनि खुशी छौँ,जनताहरु अझ धेरै खुशी भएका छन्।'

प्रत्येक घरधुरीलाई खरिद र ढुवानीसहित ३९ हजार पाँच सय मूल्य बराबरको सोलार वितरण गरिएको उनको भनाइ छ।

कम्पनीबाट सोलार र ब्याट्री खरिद गरेर डोल्पासम्म पुर्याउन उपभोक्ता समितिले निकै हैरानी खेपेको बताइएको छ। 

भरपर्दो बत्तीको सुविधा नहुँदा र अन्धकारमा बस्दै आएका आफूहरुले सोलार पाउँदा निकै नै खुशी लागेको स्थानीय सुनकुकारी कठायतले बताइन्।

'जनता प्रत्यक्ष लाभान्वित हुने विकास योजना दिने जनप्रतिनिधि पटकपटक निर्वाचित हुनुपर्छ, उनले भनिन्, 'निशुल्क रुपमा सोलार पाएपछि हामी धेरै खुसि छौं, वडा अध्यक्ष भण्डारी लगायतका सम्पूर्ण जनप्रतिनिधिलाई धन्यवाद।' 

प्रकाशित मिति: : 2021-09-25 21:27:00

प्रतिकृया दिनुहोस्