राजा वीरेन्द्रको कुमारी घरमा सवारी भएको थियो। जीवित् देवी कुमारीको बाहुलीबाट टीका ग्रहण गरेपछि उनको रेखदेख गर्दै आएका चिताइदार परिवारलाई सोधनी भयो - कही समस्या छ कि?
जुजुभाइ शाक्यले राजाको प्रश्न आउनसाथ कुमारीको पीठ घर जीर्ण रहेको सुनाए। कुमारी घरभन्दा पछाडि केही भित्र रहेको पीठ घरको अवस्था बिन्ती गरेपछि अष्टमातृका रहेको उक्त घरमा वीरेन्द्रले जाने इच्छा देखाए। जुजु भाइले वीरेन्द्रलाई पीठ घरसम्म डोर्याउँदै थिए। उनको पछिपछि पुगे जुजु भाइका छोरा, गौतमरत्न शाक्य।
गौतमरत्न सानै थिए। केही बेर अघि नै घाम डुबिसकेकाले अध्यारो कौशी हुँदै वीरेन्द्रसहितको टोली पीठ घर पुग्यो। राजाले तत्कालै निर्देशन दिए जीर्ण घर निर्माण गर्न। त्यही घरमा खेल्दै हुर्केका थिए, गौतमरत्न।
कुमारीलाई राजकीय सम्मान प्रदान गरी रथयात्रा गर्ने परम्परा जयप्रकाश मल्लले चलाएका थिए जसलाई शाह वंशीय राजाहरुले पनि अपनाए। अहिलेको कुमारी घर मल्लकै पालामा निर्माण भएको थियो जुन पछि विभिन्न कालखण्ड जिर्णोद्धार भइरह्यो। वसन्तपुरमै रहेको सिख्वंमू बहा: (श्रीखण्ड तरुमुल महाविहार) कै एक भागलाई कुमारी बस्नका लागि भनेर नयाँ विहार बनाइएको कथन पनि छ। शाक्य कूलकी छोरी कुमारी छनोट गरी कुमारी घरमा नै प्रतिस्थापन गर्न थालियो। जीवित् देवी कुमारीको हरेचाह र स्याहार सुसार गर्न जयप्रकाश मल्लले चिताइदार पदको व्यवस्था गरे। शाक्य कूलकी महिला चिताइदार नियुक्त भए पनि उनी एक्लैले सबै काम भ्याउन गाह्रो। त्यसैले चिताइदारको सम्पूर्ण परिवार नै कुमारीको रेखदेखमा लाग्न थाल्यो।