अहिले आर्ट काउन्सिलको भित्तामा एउटै कलाकारका दुईवटा अजीवका चित्र झुन्डिएका छन्। दुवै एकैजसो लाग्ने चित्र एउटा सन् २०२० र अर्को २०२१ मा बनेका हुन्। हेर्दा दुईवटा देखिए पनि मूलतः गोटा गन्तीले हेर्दा आठवटा चित्र छन्। एउटामा चारवटा चित्र छन् तर झट्ट हेर्दा एउटैजस्तो देखिन्छ। दुवैको पृष्ठभूमिको रङलाई र मोटिफलाई याद नगर्ने हो भने यी दुवै पनि एउटै लाग्छन्। मूलतः चारवटा चित्रलाई मिलाएर कलाकारले एउटा चित्र बनाएका छन्। समग्रमा भन्नुपर्दा एउटै चित्र अनि आठवटा चित्रलाई कलाकारले प्रस्तुतिमा एउटा भ्रम (दृष्टि भ्रम) पनि फालेको देखिन्छ। यो चित्रका चित्रकार मुकेश श्रेष्ठ हुन् ।
अप आर्ट
विश्वमा सन् १९७० को दशकमा कलामा एक अचम्मको मुभमेन्ट आएको थियो। यस वेला कला अभिव्यक्ति र अभिव्यञ्जनाको मात्र माध्यम हो भन्ने पुरानो विचारबाट बाहिर आउने प्रयास हुँदै थियो। यस वेला कलाको इतिहासमा बाह्य स्वरूपको परिवर्तनसँगै शैली, लक्षण, कला–संयोजन र मोटिफको खोजीमा सर्जकबीच होडबाजी भएको देखिन्थ्यो। कलाको दर्शन, समूहको प्रस्तुति र कलामा ‘सिग्नेचर’को बिगबिगी बढेको देखिन्थ्यो। यी सन्दर्भ चुरोमा पुगेपछि कलाकार विचार वा अवधारणामा उत्रन खोेजेका देखिन्छन्।