सन् १७७५ तिर एशियाले कुल विश्वको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगटेको थियो। विश्वको कुल उत्पादनको दुई तिहाइ उत्पादन चीन र भारत एक्लैले गर्थे भने त्यसबखत युरोपको अर्थतन्त्र निकै धरासायी थियो। न त त्यसबेला अमेरिकाको अर्थतन्त्र नै बलियो थियो।
त्यस समयमा एशिया विश्वशक्तिको केन्द्रविन्दुमा थियो। तर सन् १७५० देखि सन् १८५० को बीचमा युरोपेलीहरूले यति द्रुतगतिमा छलाङ्ग मारे कि त्यसपछि विश्व अर्थतन्त्रको साँचो एशियादेखि युरोपको हातमा परिसकेको थियो र त्यसपछि युरोपको एकतर्फी राज चल्न थाल्यो।
सन् १९५० तिर पुग्दा युरोप र अमेरिकाले विश्वको कुल उत्पादनको दुई तिहाइ हिस्सा ओगटेका थिए भने चीनको योगदान जम्मा ५ प्रतिशत थियो।
सन् १७५० तिरको एशियाली अर्थतन्त्रलाई नियाल्ने हो भने त्यसबखतको नेपाल पनि बलियो नै भएको पाइन्छ। नेपालको अर्थतन्त्र राणाकालीन समयसम्म पनि बलियो रहेको र राणाकालका शासकहरूले विभिन्न देशहरूलाई आर्थिक, सैन्य अनि खाद्यान्न सहयोग गर्ने गरेको उल्लिखित इतिहास पढ्न पाइन्छ।