सीता भट्टराई
शब्द, मेलोडी र स्वरको संयोजन नै गीत हो । गीत मार्फत कथा भन्ने, भावना व्यक्त गर्ने, विशेष मान्यता वा विचारलाई व्यक्त गर्ने गरिन्छ । श्रोता रिझाउने उद्देश्य बोकेका हाम्रा गीतहरूमा महिलाद्वेषी सन्देश प्रशस्त पाइन्छ । पुरुषसत्ताको भाका गाउने त्यस्ता गीतहरूले महिलाको भावनामाथि हदैसम्मको मजाक गरेका छन् । ‘गीतमा त रमाउने हो, त्यत्ति सिरियस्ली नलिऔं’ भन्ने कतिलाई लाग्ला । सुर र तालद्वारा सजिएका गीतभित्रका अन्तरवस्तुबाट हामीले कस्तो समाजको कल्पना गर्दैछौं भनेर चिन्तन गर्यौं भने यसले मेरो जस्तै धेरैको टाउको दुखाउँछ ।
लैङ्गकि भूमिका, शक्ति सम्बन्ध र यौनिकताको सवालमा महिला पात्रलाई सधैं निरीह बनाए गीतहरूले । यसलाई प्रमाणित गर्न अभागी कर्महारा मानवको रूपमा वर्णन गर्दै छोरीको जायजन्मलाई नै धिक्कार्ने यस्ता गीतहरू बने- ‘छोरीको जन्म हारेको कर्म, कहाँको जनम भो कहाँ’, ‘ठोक न मादल ठोक सानु …देउता उल्लु आइमाईको संख्या बढाउनाले’ । यी पुराना गीत कानमा ठोक्किंदा लाग्छ- यसले आम महिलाको आत्मसम्मान र अस्तित्वमाथि झापड हानेको छ ।