जसले आफ्नै पुस्तक पढेर स्नातकोत्तर गरे

हिमाल खबर

काठमाडौँ

जनस्वास्थ्य विषयलाई आजीविकाको माध्यम बनाए पनि इतिहास प्रतिको अनुरागले 'राजा यक्ष मल्ल र उनको समय’ शीर्षकमा विद्यावारिधि गरी बालापनदेखिको इच्छालाई सार्थक बनाए।

आफैंले लेखेको पुस्तक पढेर स्नातकोत्तर तहको परीक्षा उत्तीर्ण गर्ने सुअवसर कमै विद्यार्थीलाई प्राप्त होला। त्यस्ता भाग्यमानी विद्यार्थीमा पर्छन्- इतिहासकार नयनाथ पौडेल।

त्रिभुवन विश्वविद्यालयको नेपाली, इतिहास, संस्कृति तथा पुरातत्त्व विषयको स्नातकोत्तर तहको पाठयक्रमको सन्दर्भ सामग्रीमा आफैंले लेखेको अभिलेख सङ्ग्रह र इतिहास संशोधनको प्रमाण-प्रमेयलाई समावेश गरेपछि उनले २०३१ मा एमए गरेका हुन्। प्राध्यापक मुकुन्द अर्याल र विभागीय प्रमुख प्रा.डा. हितनारायण झाले ‘लौ पौडेलजी, आफूले लेखेको पुस्तक आफैं पढी परीक्षा दिनू’ भनेको कुरा उनी आज पनि सगौरव सम्झना गर्छन्।

नेपालको शैक्षिक इतिहासको परिचर्चा गर्दा इतिहासकार नयराज पन्तले चलाएको पाठशालाको महत्त्वपूर्ण योगदान छ। त्यसै पाठशालामा पढेका कैयौं विद्यार्थीमध्ये २१ जनाले नेपाली इतिहासको परिशीलनमा योगदान पुर्‍याए (महेशराज पन्त, को हुन् त नयराज पन्त?, २०७१, पृष्ठः १६२)।

नेपालको इतिहासको अन्वेषणमा व्यक्ति मात्र होइन, परिवार नै लागेका देखिन्छन्। नयराज पन्त र उनका दुवै छोरा (महेशराज पन्त र दिनेशराज पन्त), शङ्करमान राजवंशी र उनका छोरा श्यामशुन्दर राजवंशी (श्यामसुन्दर संशोधन-मण्डलका सदस्य होइनन्) र भोलानाथ पौडेल र उनका छोरा नयनाथ पौडेलले इतिहास लेखनमा घराना संस्कृतिको स्थापना गरे।

उनका अर्का छोरा रुक्मनाथ पौडेलले गुरु नयराज पन्तको सहायक भएर तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा करीब दश वर्ष इतिहास सम्बन्धी काम गरेको यस सन्दर्भमा प्रासङ्गिक हुनेछ।

संशोधन-मण्डलमा संलग्नता

१४ माघ २००२ मा भोलानाथ र लीलादेवी पौडेलको जेठो सन्तानका रूपमा जन्मे, नयनाथ। उनले घरपरिवारबाट नै अनौपचारिक अध्ययन थाले।

उनका पिता भोलानाथले विसं २००५ मा बनारस गई सिद्धान्त ज्योतिषमा शास्त्री परीक्षा उत्तीर्ण गरी नेपाल फर्किएपछि २००८ सालको आसपास नयराज पन्तकै शैली र पाठ्यक्रममा आधारित रहेर ठूलाघर, लुभुमा गुरुकुलीय पाठशाला खोली अध्यापन कार्यको शुरुआत गरे (भक्तपुरको राजकुलो, पृष्ठः १२)।

 

प्रकाशित मिति: : 2021-09-21 09:01:00

प्रतिकृया दिनुहोस्