पाउँ अर्थात् अमिलो–पिरो। नाम सुन्नासाथ धेरैको मुखमा पानी रसाउँछ। प्रायः लप्सी र अमिलो फलबाट बन्ने पाउँ उपहारका रूपमा देश–विदेश पनि पुग्छ। गत शुक्रबार चाँगुनारायण पौवास्थित ‘चम्पक पाउँ उद्योग’ पुग्दा अफ सिजनमा पनि पाउँ बनाउन भ्याइनभ्याइ थियो।
बिहान करिब १० बजे उद्योगका तीन कर्मचारी सुकेको पाउँको माडा टुक्र्याउँदै थिए। ०२९ सालमा काभ्रेको नालामा जन्मिएकी देवका श्रेष्ठले ०५८ सालमा घरेलु तथा साना उद्योगको रूपमा यो पाउँ भण्डार सञ्चालनमा ल्याएकी हुन्। उनका अनुसार अहिले मासिक करिब ६ लाख रुपैयाँको कारोबार हुन्छ।
खासगरी, मंसिरदेखि पाउँ उत्पादनको सिजन सुरु हुन्छ। सिजनमा ११ जनासम्म कामदार आवश्यक पर्छ। मंसिर आउन अझै करिब दुई महिना बाँकी भएकाले अफ सिजनको उत्पादन चलिरहेको छ अहिले।
नेपालकै लप्सी, स्वदेशी पाउँ
देवकालाई सानैदेखि कृषिमा लगाव थियो। खेतबारीमा जाँदा उनी रुखबाट लप्सी टिप्दै खान रमाउँथिन्। उमेर बढ्दै जाँदा उनको मनमा लप्सीबाट के बनाउन सकिएला भन्ने प्रश्नले डेरा जमायो। पछि लप्सीबाट पाउँ बनाउने तालिम लिएर उद्योग खोलिन्।
‘लप्सी नेपालमा मात्र पाइन्छ भन्ने कुरा मलाई पहिला नै थाहा थियो। हाम्रो घरतिर लप्सी फालाफाल थियो तर त्यसको सदुपयोग गरिएको देख्दिनथेँ। खाँदा पनि यसबाट अरू के बन्न सकिन्छ भन्ने प्रश्न जहिल्यै उठ्थ्यो,’ उनी भन्छिन्।