तक्माको गरिमा धुलिसात

देश महामारीले आक्रान्त बनेका वेला गत वर्ष केपी ओली नेतृत्वको सरकारले ५९४ जनालाई १२ करोडका तक्मा बाँड्यो, यसपटक ओलीलाई समेत उछिन्दै शेरबहादुर देउवाको सरकारले २० करोडका तक्मा ९०३ जनालाई बाँड्ने निर्णय गरेको छ।

तजबिजी निर्णय र भागबन्डाका आधारमा सरकारले इतिहासमै धेरै नौ सय तीनजनालाई विभूषण बाँड्ने निर्णय गरेको छ। देश कोरोना महामारीले आक्रान्त बनेका वेला विभूषण बनाउन मात्रै करिब २० करोड खर्च हुने गृह मन्त्रालयले जनाएको छ। गत वर्ष केपी ओली नेतृत्वको सरकारले पाँच सय ९४ जनालाई विभूषित गर्न १२ करोड खर्च गरेको थियो।

संख्या मात्र होइन, छनोटमा परेका व्यक्तिहरूका कारण समेत विभूषण विवादमा परेको छ। विभूषणमा प्रस्ट भागबन्डा भएको देखिन्छ । सत्तारुढ गठबन्धनका नेताहरूको सिफारिसका आधारमा राज्यको सबैभन्दा ठूलो सम्मान मानिने विभूषणमा भागबन्डा भएको हो।

गत वर्ष समयमा मल नल्याएर किसानको बिचल्ली बनाउने निर्माण कोइरालालाई पनि सरकारले विभूषण प्रदान गर्ने निर्णय गरेको छ। उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा समेत राखेको थियो। अन्य कतिपय विवादास्पद पृष्ठभूमिका व्यक्ति पनि विभूषित हुने सूचीमा अटाएका छन्।

सरकारले सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ। त्यसपछिको उच्च तहको विभूषण राष्ट्र गौरव स्वर्गीय कांग्रेस नेता सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिइएको छ।

खनाल सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता हुन्। केही दिनअघि खनालको दिल्लीमा भएको उपचार खर्चमा मात्रै सरकारले ८१ लाख खर्च गरेको थियो। समाजवादीमै लागेका नेता प्रदीप नेपाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्री दिइएको छ। 

प्रकाशित मिति: : 2021-09-20 10:54:00

प्रतिकृया दिनुहोस्