अझै किन ‘चरी जेलैमा!’

लोक गायिका विष्णु माझी (बाँया) र उनको ‘चरी जेलैमा’ गीतको भिडिओमा अभिनय गर्दै ललिता पौडेल।

के हाम्रो समाज परम्परा र पितृसत्ताको दबदबाका कारण महिलाले निसासिँदै बाँच्न बाध्य ‘जेल’ को ढोका खोल्न अझै तयार छैन?

जसरी एउटै इन्जिनले ताने पनि रेलका सबै डिब्बा एउटै हुँदैनन्, त्यसै गरी समाजमा एउटै तालमा नाचेका देखिने सबै गोडा समान हुँदैनन्। समाजलाई हेर्ने नजर र यसको अध्ययनको शास्त्रमा प्रायः दुई तरिका पाइन्छन्। एउटा तरिकाले भन्छ, ‘चिजलाई समुच्चयमा हेर। अर्थात्, पूरै रेललाई हेर। सम्पूर्ण जङ्गललाई हेर। एउटा मानिसलाई होइन, उसको समाजलाई हेर।’

अर्को तरिकाले भन्छ- ‘होइन, भात पाकेको छ कि छैन भन्ने थाहा पाउन पूरै भाँडा घोप्ट्याउनु पर्दैन, एउटा सिता छामे पुग्छ।’ अर्थात्, समाजको नाममा कुनै आकार नभएको चिज हेरेर के फाइदा, हेर्ने भए मानिसलाई हेर। मानिसका खुशी र दुःखलाई हेर। उसको भावना र सङ्घर्षलाई हेर। रेललाई होइन, डिब्बालाई हेर। पूरै जङ्गलको कुनै चरित्र हुँदैन, चरित्र खोज्ने भए एउटा-एउटा रूखलाई हेर।

मानिसले आफ्ना भोगाइलाई कल्पनाको लेप लगाएर, कलाको जलपमा जोगाएर राख्ने गरेको छ। ठेट इतिहासको एउटा मोटो रेखा जहाँ जहाँ कोरिएको छ, त्यसकै समानान्तर अर्को एउटा पातलो रेखा पनि कोरिएको छ। त्यो रेखा हो- कलाका विभिन्न माध्यमले लेखेको बेग्लै इतिहासको। लोकगीत, लोकवाणी र लोक साहित्य/आख्यान यही रेखामा लामबद्ध हुन्छन्।

 

प्रकाशित मिति: : 2021-09-18 14:36:00

प्रतिकृया दिनुहोस्