काबुल ड्रोन आक्रमण: सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार, पेन्टागनले माग्यो माफी

Photo  : AP
Photo : AP

अफगानिस्तानको राजधानी काबुलमा भएको ड्रोन आक्रमणमा १० जना सर्वसाधारणको मृत्युभएको अमेरिकाले स्वीकार गरेको छ।

काबुलमा अमेरिकी ड्रोन आक्रमणमा बालबालिकासहित १० जना सर्वसाधारण अघिल्लो महिनाको अन्तिमतिर मारिएका थिए। हमलाको बचाउ गरिरहेको पेन्टागनले एक्कासी शुक्रबार आफ्नो भनाइ फिर्ता लिँदै माफी मागेको हाे।

आतंकवादी लक्षित आक्रमणबाट इस्लामिक स्टेट नभई सामान्य नागरिक मारिएको अमेरिकाले स्वीकार गरेको टोलोन्यूजले जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्डर जनरल फ्रान्क म्याकेन्जीले ड्रोन आक्रमणमा १० जना अफगानी नागरिकको मृत्यु हुनु दुःखद भएको बताउँदै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

अमेरिकी रक्षा सचिव लोयड जे अस्टिन–तेस्रोले पनि काबुल ड्रोन हमलामा सामान्य नागरिक मारिएकोमा माफीसमेत मागेका छन्।

यसैबीच तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने विदेशी भूमिमा अमेरिकी कारबाही अवैध भएको बारम्बार टिप्पणी गर्दैआएका छन्। उनले भनेका छन्, ‘अफगानिस्तानमा कुनै सम्भावित खतरा थियो भने हामीलाई जानकारी गराउनुपर्ने थियो। तर अमेरिकाले मनोमानी हमला गर्दा हाम्रा नागरिकले ज्यान गुमाए।’

प्रकाशित मिति: : 2021-09-18 09:16:00

प्रतिकृया दिनुहोस्