सरिशा अछामी
जन्मजात अपांग शोभा श्रेष्ठलाई आफ्नो जिन्दगी बोझ लाग्थ्यो। उनका गोडा राम्रोसँग चल्दैनथे। उनी सोच्थिन्- ‘अरूको सहारामा कतिदिन बाँच्नु ?’ पटक-पटक मर्न मन लाग्थ्यो। तर, अध्ययनलाई निरन्तरता दिन सकेमा थोरै भए पनि आत्मनिर्भर बन्न सकिने विश्वासले उनलाई मृत्यु होइन, जीवनका लागि प्रेरित गरिरह्यो। अहिले काठमाडौं प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट स्नातकोत्तर सकेर थेसिसको तयारी गरिरहेकी छन्।
‘समाज परिवर्तन भइरहेको छ भनिए पनि अपांगता भएको व्यक्तिलाई हेर्ने दृष्टिकोण भने अझै अशक्त नै छ,’ उनी भन्छिन्।
अध्ययनको सिलसिलामा पनि साथीभाइ अपांग भन्नेबित्तिकै नजिक आउन मन पराउँदैनथे। बाहिरी व्यवहारमा मनपराएजस्तो गरे पनि सकारात्मक सोच पाउँदैनथिन्। ‘अपांगता भएको व्यक्तिलाई पाइला-पाइलामा दुर्व्यवहार भोग्नुपर्छ,’ उनी भन्छिन्, ‘अपांग भएकै कारण मानिस मिल्न र नजिकिन डराउँछन्।’
चार वर्षदेखि पठाओ कम्पनीकी सेयर राइडर बनेकी छन् उनी। चारपांग्रे स्कुटरमा उनले आत्मनिर्भरताको यात्रा हाँकिरहेकी छन्।