अस्तित्व, प्रतिरोध, आदिवासीकरण र स्वाधीनता। बबरमहल रिभिजिटेडस्थित ‘सिद्धार्थ आर्ट ग्यालरी’ पस्दै गर्दा आँखामा ठोक्किए, कलाकार सुवास तामाङले देब्रे काँधमा भिरेको झोलामा अंकित यी शब्द। झोलामा कोरिएका यी चार शब्द र प्रदर्शनीमा राखिएका करिब २५ कलाकृतिले पहिचान र अस्तित्वका लागि विरोधाभास पस्किइरहेका थिए।
अस्तित्व, प्रतिरोध, आदिवासीकरण र स्वाधीनता शब्दले इतिहास खोतल्न प्रेरित गरिरहेका थिए। र, न्यायप्राप्ति र अस्तित्व रक्षाको प्रश्न खडा गरिरहेका थिए। सिद्धार्थ आर्ट ग्यालरीमा गत शुक्रबारदेखि कलाकार तामाङको कला प्रदर्शनी ‘काइतेन : इतिहास, स्मृति र पहिचान’ सुरु भएको छ, जुन १२ असोजसम्म चल्नेछ।
पहिचानको खोजी
ग्यालरीको दोस्रो तलाको एक कुनामा पाँचवटा ढुंगे स्लेट छन्। लोकसेवा आयोग ‘सामाजिक अध्ययन’ पुस्तकको बाहिरी कभरको आवरण पहिलो स्लेटमा कुँदिएको छ। लगत्तै दोस्रो ढुंगाको स्लेटमा कोरिएको छ- ‘तामाङ जाति शेर्पा जातिसँग मिल्दाजुल्दा हुन्छन्। खासगरी बुहारी, छोरी, स्वास्नी बेची पैसा कमाउने प्रवृत्तिका हुन्छन्। त्यति मात्रै होइन, राम्रो खान र लगाउनका लागि आफू स्वयं बन्धकीमा बस्न सक्ने हुन्छन्।’ तामाङ जातिको यस्तो कथित परिचय आयोगको ‘सामाजिक अध्ययन’ पुस्तकमा उल्लेख छ। र, कलाकार तामाङले त्यसमा आपत्ति जनाउँदै आफ्नो जातिको विशिष्ट पहिचान रहेको सन्देश कला प्रदर्शनीमा दिन खोजेका हुन्।