सिरियाका राष्ट्रपति असद १५ वर्षपछि मस्कोमा, पश्चिमा आक्रमणविरुद्ध सहयोग गरेकोमा पुटिनप्रति आभारी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, दायाँ, मस्कोको क्रेमलिनमा उनीहरुको बैठकको दौरान सिरियाली राष्ट्रपति असदको कुरा सुन्दै। Photo / Kremlin Pool

सिरियाका राष्ट्रपति बसर अल-असद र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको राजधानी मस्कोमा भेटेका छन्।

मस्कोमा सोमबार भएको दुई नेताबीचको उक्त भेटवार्तामा असदले एक दशकलामो लडाईंपछि देशमा आफ्नो पकड जमाई सत्ता चलाउन सफल भएकोमा पनि पुटिनले बधाई दिए। असद सन् २०१५ पछि पहिलो पटक मस्को पुगेका थिए।

२०२० को जनवरीमा सिरियाको राजधानी दमास्कसमा आयोजित शिखर सम्मेलन पछि दुई नेताहरु बीचको यो पहिलो भेट हो।

पुटिनले आफ्नो समकक्षीलाई गत मेको राष्ट्रपति चुनावमा जीत हासिल गरी राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई दिएको क्रेमलिनले जनाएको छ।

उक्त चुनावमा असदले ९५% मत हासिल गर्दै राष्ट्रपति भएको कुरालाई अमेरिकासहित थुप्रै पश्चिमी मुलुकले उनि अमर्यादित रुपमा राष्ट्रपति घोषित भएको भनी उनको दाबी खारेज गरेका थिए।

२०११ मा 'अरब स्प्रिङ' को विरोध प्रदर्शनपछि सुरू भएको सिरियाली युद्धमा हजारौंको मृत्यु भएको थियो भने लाखौँ देश छोडेर जान बाध्य भएका थिए। कैयौँ आन्तरिक रूपमा विस्थापित भएका थिए।

क्रेमलिनले पुटिनको भनाई उद्धृत गर्दै भनेको छ, 'आतङ्कवादीहरुले गम्भीर क्षति भोगेका छन्। तपाईंको नेतृत्वमा रहेको सिरियाली सरकारले ९०% क्षेत्रहरु नियन्त्रण गर्दछ।' तर उनले संयुक्त राष्ट्र संघको निर्णयबिना सिरियामा तैनाथ विदेशी सेनाले देशको एकीकरणमा बाधा बन्न पुगेको चेतावनी दिए।

क्रेमलिनका अनुसार राष्ट्रपति असदले पुटिनलाई सिरियामा 'आतंकवादको विस्तार' रोक्नका लागि सहयोग गरेकोमा  आभार प्रकट गरे।

रसियाको समर्थनले राष्ट्रपति असदलाई युद्धको क्रममा आतङ्कवादी समूहले कब्जा गरेको लगभग सबै क्षेत्र फिर्ता पाउन मद्दत गरेको छ।

'कब्जा गरिएका क्षेत्रहरुलाई मुक्त गर्न' मा रुसी र सिरियाली सेनाको सफलतालाई प्रशंसा गर्दै पश्चिमी प्रतिबन्धलाई असदले 'अमानवीय' र 'अवैध' भन्दै वर्णन गरे।

सिरियाको अधिकारिक टेलिभिजनका अनुसार, सिरियाका विदेशमन्त्री र रुसका रक्षामन्त्री आतङ्कवादीसँग लड्न र आपसी सम्बन्धमा छलफलको लागि नेताहरुसँग पछि सामेल भए।

रुसी सेना सिरियामा अझै पनि छन् र विपक्षी दलका कार्यकर्ताका अनुसार, रूसी विमान हालै इडलिब प्रान्तमा आक्रमण गरिरहेका छन्।

कोभिड महामारीका कारण युद्धका समाचार दाबिए पनि सिरियाको केही क्षेत्रहरुमा लडाइँ, खाद्य असुरक्षा र बिग्रिएको अर्थ–व्यवस्थाका कारण अवस्था भने अझै गम्भीर नै छ। १३.४ करोड सिरियालीलाई सहयोग र ठूलो मानवीय पहुँचको खाँचो रहेको संयुक्त राष्ट्रसंघले यसै महिना जानकारी गराएको छ।

प्रकाशित मिति: : 2021-09-14 17:44:00

प्रतिकृया दिनुहोस्