बिहान उठेर कलेज जान लाग्दै थिएँ, हजुरबुवा ठूलो स्वरमा चिच्याउँदै आउनुभयो र भन्न लाग्नु भयो, ‘नानी थाहा पायौ, फेरि त्यही घोप्टे मन्त्री बन्ने भएछ नि, आजै नियुक्ति पत्र दिएर शपथ ग्रहण गराउने रे।’ मैले हजुरबुवालाई सोधेँ, ‘को भन्नुभएको हजुरबुवा।’ उहाँको जवाफ, ‘त्यही के नानी हामी सँगै सानामा स्कुल पढ्थ्यौँ, पछि १० पनि पास गर्न नसकेर राजनीतितिर लागेको थियो। अहिले त पटक–पटक देशको मन्त्री भैरा’छ। हिजोजस्तो लाग्छ नानी, १० मा फेल गराएको भन्दै गुरुबा–गुरुआमालाई कालो मोसो दल्न हिँडेको। आज हेर त देश को मन्त्री त्यही पनि पटक–पटक। राजनीतिमै लागेर पछि बीकमसम्म पास गयो रे भन्थे। तर, यसले देश चलाएको देख्दा त १० फेल हुँदा गुरुहरूलाई कालोमोसो लगाउन हिँडेको झल्झली याद आउँछ।’
हजुरबुवा ७८ वर्ष पूरा भइसक्नुभयो। उहाँलाई देशको शासनपद्धति देखेर यति धेरै वितृष्णा छ भने आजको युवा वर्गमा कस्तो प्रभाव परेको होला ? त्यो सजिलै अनुमान गर्न सकिन्छ। साँच्चै हामीले हाम्रो देश सञ्चालनको साँचो कस्तो मानिसलाई सुम्पिँदै आएको छौँ। अब हरेक नेपालीले गम्भीर भएर सोच्ने बेला आएको छ। सयौँ वर्ष राणा र शाहहरूले देश कब्जा गरे, राणा र शाहहरूबाट ठूलो संघर्ष र बलिदानीबाट देशलाई मुक्त त गरियो तर देश र जनताको मुहारमा अपेक्षाअनुसार परिवर्तन हुन त परको कुरा, पुराना भएका सकारात्मक र असल कुराहरू पनि मासिँदै गए। देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुदै संघीय गणतन्त्र पनि आयो। तर, सीमित मानिसका लागि आलोपालो सत्ता साझेदारीको अवसरबाहेक नेपाली जनताले केही पाउन सकेनन्। गरिब अझै गरिब हुने र धनी झन् धनी हुने प्रचलन दिन दुईगुना रात चारगुना हुन थालेको छ। प्रतिव्यक्ति ऋणको भारी प्रत्येक वर्ष बढिरहेको छ। सरकारको लाचारीका कारण शिक्षित बेरोजगारको संख्या दिन प्रतिदिन बढ्दो छ।