पहिलोपल्ट काठमाडौँ टेक्दा सरदार प्रितम सिंहमा ठूलो अत्यास थियो। त्यतिबेला उनी २३ वर्षका लक्का जवान थिए। यो विसं २०१५ तिरको कुरा हो; जतिबेला त्रिभुवन राजपथको निर्माण चलिरहेको थियो। २०१३ देखि नै साना सवारीहरू चल्न थालिसकेका थिए। तर, सडक साँघुरा भएकाले ठूला सवारी थिएनन्।
रक्सौल हुँदै अमलेखगञ्जसम्म ट्रेनमा आइपुगेका प्रितमलाई काठमाडौँ आउन थप तीन दिन लाग्यो। ‘बाटोमा ओर्लिएर पिसाब गरेर फेरि चढ्न पनि भ्याइन्थ्यो, त्यस्तो थियो रेलको गति,’ प्रितमले सम्झिए, ‘अमलेखगन्जमा जङ्गलै जङ्गल मात्र थियो। पुरानो जीएसमी गाडीलाई पनि काठमाडौँसम्म आउन हम्मे थियो।’
खासमा उनी बिहे भोजमा सहभागी हुन काश्मिरबाट उत्तर प्रदेशको तुल्सीपुरसम्म आएका थिए। भोजपछि बेहुलीका पिताले भने– ‘यहाँबाट काठमाडौँ नजिकै छ, यातायत व्यवसायमा सक्रिय तपाईंहरूका लागि त्यो ठाउँ सम्भावनायुक्त हुन सक्छ। त्यहाँको सडक, घुम्ती र मोड पनि काश्मीरकै जस्तो छ।’
तर, प्रितमलाई काठमाडौँ कुनै आधुनिक सहरजस्तो लागेन। न त बेहुलीका बाले भनेजस्तो तुल्सीपुरबाट नजिक नै थियो। ‘अहिलेको विमानस्थललाई त्यतिबेला गौचर भनिन्थ्यो, त्यहाँबाट पटनासम्म डिकोटा अर्थात् सानो प्लेन चल्थ्यो। अत्यास बढेपछि त्यसैमा चढेर म भोलिपल्ट बिहानै पटना फर्किएँ।’