झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवणकुमार तिमिल्सिना, अर्घाखाँचीका सीडीओ विष्णु पौडेल र रुकुम पूर्वका सीडीओ लक्ष्मीप्रसाद बाँस्कोटा कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट ठहरिएका छन् ।
गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा ए प्लस ग्रेड पाएर तीन सीडीओ मन्त्रालयकै भाषामा ‘अति उत्कृष्ट’ ठहरिएका हुन् ।
गृह मन्त्रालयले गृह प्रशासन सुधार योजनाअन्तर्गत जिल्ला प्रशासनको स्तर वृद्धि गर्न गृह सचिव र सीडीओबीच वार्षिक कार्यसम्पादन सम्झौता भएको थियो । सोही सम्झौता कार्यान्वयनलाई लिएर मूल्यांकन गरिएको गृह मन्त्रालयका योजना महाशाखाका प्रमुख कमलराज ढकालले जानकारी दिए ।
मन्त्रालयले ग्रेडका आधारमा पहिलो, दोस्रो र तेस्रो गरी वर्गीकरण गरेको छ ।
ललितपुरका सीडीओ ढुण्डीराज निरौला र रुकुम पश्चिमका सीडीओ बद्रिनाथ गैरे ‘ए’ ग्रेड ल्याएर दोस्रो र सोही ग्रेड प्राप्त गरेकी गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा तेस्रो भएका छन् ।
गृह मन्त्रालयले सफ्टवेरको सहयोगमा ६ वटा सूचकका आधारमा सीडीओहरूको मूल्यांकन गर्दै आएको छ ।