जागिरे श्रीमानका बेरोजगार श्रीमतीका पीडा!

सेतोपाटी

यमुना अर्याल (काफ्ले)

पात्र १ः

'भन्छन् नि कुकुरको काम पनि छैन, फुर्सद पनि छैन। मेरो जिन्दगी त्यस्तै छ। बाहिर देख्दा घरमै बस्ने त हो नि, के काम छ र भनेजस्तो देखिन्छ। आफूलाई भने एकैछिन फुर्सद हुँदैन,' एक जना हाकिमकी श्रीमतीको गुनासो।

केही काम परेर कहिलेकाहीँ श्रीमानको अफिसमा जाँदा उनलाई निकै खिन्न महशुस हुँदो रहेछ। घर नजिकै रहेछ अफिस। श्रीमानको केही सामान घरमा छुटे, उनैले पुर्‍याउने रहिछन्।

एकदिन श्रीमानको फाइल घरमै छुटेछ। उनले श्रीमतीलाई फाइल ल्याउन भने। जब अफिस पुगिन्, हाकिम साबकी श्रीमती भनेर सबैले चाहिनेभन्दा बढी सत्कार गरे। उनैलाई अप्ठ्यारो हुनेगरी।

एकपटकको घटनाले भने उनको मनमा धेरै दिनसम्म बिझिरह्यो।

अफिसको पेनड्राइभ घरमै बिर्सेछन् श्रीमानले। श्रीमतीलाई ल्याउन भने। जब अफिस पुगिन्, एक जना कर्मचारीले हाकिमलाई सोधे, 'सर म्याडम कुन अफिसमा काम गर्नुहुन्छ?'

श्रीमतीको मनमा चिसो पसिहाल्यो।

उनले सोचिन्, बेलैमा पढ्न पाएको भए त म पनि यो ठाउँमा हुन्थे होला नि...!

तर श्रीमानले नमज्जाले जवाफ फर्काए।

'कुनै जागिर सागिर गर्दिनन्। उनको अफिस घर जे-जे भने पनि त्यही एउटा घर मात्रै हो। उनको कुनै काम छैन बस् घरमा बस्ने मात्र हो।'

यी सब कुरा सुनेपछि श्रीमती फनक्क घर फर्किइन्।

त्यो घटनाले निकै सतायो उनलाई। बाटोमा मनभरि कुरा खेल्न थाले।

जागिर गर्ने भन्दा घरमा धेरै काम हुन्छ नि। जागिर जानेले घरमा के हेर्नुपर्छ र! छोराछोरी, सासूससुरा,नन्द, भान्जी सबैको खानादेखि लुगा धुने जिम्मा, घरमा पाहुना आए सत्कार गर्ने जिम्मा, घरमा सरसफाइ गर्ने। के यी काम अफिस जानेको भन्दा बढी छैन र? बस् घरमै बस्ने मात्र हो रे ? अरूको अगाडि कसरी भन्न सकेका।

जागिरे श्रीमानका बेरोजगार श्रीमतीको पीडा सबैको मेरोजस्तै हुँदो हो कि? अरूका बुढाले कुरा बुझ्दा हुन्? केही नगरी घरमा बस्ने मात्र भए, घरको सारा काम कसरी चलेको छ? यसको जवाफ मेरा श्रीमान जस्तै पुरूषले कसरी दिँदा हुन्?

पात्र २ः

तीन छोरा छोरीकी आमा अफिस जाँदिनन्। उनलाई हरेक दिन उत्तिकै चटारो हुन्छ। हरेक दिन बिहान चार बजे उठेदेखि रातिको दस बजेसम्म मुश्किलले एक-दुई घन्टा मात्र आराम पाउँछिन् उनले।

लकडाउनअघि नै उनले आफ्नो पीडा सुनाएकी थिइन्।

अहिले स्कुलहरूले अनलाइन क्लास चलाएका छन्। लकडाउनअघि उनलाई भ्याइनभ्याइ हुन्थ्यो। बच्चालाई स्कुलको लागि तयार गर्न। त्यसपछि श्रीमानको लागि सब कुरा ठिक्क पारिदिनुपर्थ्यो। अलि ढिला भयो कि डाँको छोड्न थाल्थे।

प्रकाशित मिति: : 2021-09-09 19:43:00

प्रतिकृया दिनुहोस्