संसदमै 'जागिरे महिला-पुरुषकाे विवाहमा प्रतिबन्ध' लगाउन प्रस्ताव गरेपछि यसरी हाँसे सांसदहरू

Photo : Photo: UNB
Photo : Photo: UNB

बंगलादेशका एक सांसदले बेरोगारी समस्या समाधानबारे दिएको एउटा विवादास्पद अभिव्यक्तिको मन्त्री र अन्य सांसदहरूले खिल्ली उडाएका छन्।

शनिबारको संसद् बैठकमा सांसद रिजउल करिमले बेरोजगारी समस्या अन्त्यका लागि काम गर्ने जोडीबीचको विवाहमा रोक लगाइनुपर्ने बताएका थिए।

‘जागिरे पुरुषले विवाहका लागि आफूजस्तै काम गर्ने महिला खोज्छन्। त्यस्तै, जागिर खाने महिलाले पनि आफूजस्तै रोजगार पुरुष खोज्छिन्। यस्तो प्रवृत्ति रहिरहयो भने बेरोजगार समस्या समाधान गर्न सकिन्न। तसर्थ, दुवैजना जागिरे व्यक्तिले विवाह गर्न नपाउने कानून ल्याउन प्रस्ताव गर्छु,’ उनले भने। कार्यलयमा काम गर्ने जोडिका सन्तान प्रायः घरेलु कामदारबाट दुर्व्यवहार हुने गरेको उनको तर्क थियो।

उनको प्रस्तावपछि संसदमा हाँसोको फोहोरा नै छुटेको थियो। कानूनमन्त्री अनिसुल हुकले सांसदको प्रस्ताव ‘अभिव्यक्ति स्वतन्त्रता’ को परिणाम बताएका छन्।

‘यो प्रस्तावलाई स्वीकारें भने म संसद् भवनको दुई खुड्किला पनि चढ्न सक्दिनँ,’ मन्त्रीले भने। यस्तो प्रस्तावमा समर्थन जनाएर आफ्नो करिअरलाई जोखिममा नपार्ने उनको भनाइ थियो।

सन् २०१८ मा पहिलोपटक सांसद बनेका करिम गत वर्ष पनि आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका थिए। महिला अभियानका कारण बलात्कारका घटनामा वृद्धि भएको भन्ने उनको अभिव्यक्ति विवादित बनेको थियो। 

प्रकाशित मिति: : 2021-09-05 10:34:00

प्रतिकृया दिनुहोस्