कांग्रेसकी कान्छी सभापति भन्छिन्- '१६ वर्षकाे उमेरमै महिलाले बन्दुक उठाए, मैले पनि नेतृत्व गर्न किन नसक्ने ? (अन्तर्वार्ता)

कमल प्रभात

काठमाडौँ

दैलेखमा १९ वर्षीया स्वस्तिका महत सत्तारुढ नेपाली कांग्रेसकाे वडा समिति सभापतिमा निर्वाचित भएकी छिन्। वडा सभापति भएको खबरले यतिबेला उनको चर्चा एकाएक चुलिएको छ।

दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन्।

कांग्रेसले पछिल्लो समय युवाहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेको छ। नेतृत्वमा पाका नेताहरु भए पनि तल्लो तहमा विस्तारै युवाहरुको जमात बढिरहेको छ। महिलाले राजनीतिमा केही गर्न सक्दैनन्, नेतृत्व लिन सक्दैनन् भन्ने सोचलाई चिर्न केही गरेर देखाउने स्वस्तिकाले बताईन्। अबकाे नयाँ कदम र राजनीतिक यात्राकाे बारेमा उनै स्वस्तिका महतसँग बिएल नेपाली सेवाले गरेको कुराकानी गरेकाे छः

सानै उमेरमा पार्टीको जिम्मेवारी पदमा पुग्नु भयाे, कस्तो महशुस भइरहेकाे छ ?

वडा सभापति बन्न पाउनु मेरो लागि सबैभन्दा ठूलो कुरा हो। त्यसैले धेरै खुशी लागेको छ। त्यसमा पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिन भन्ने हल्का डर पनि लागेको छ। जे होस्, पार्टीको आशालाई निराशामा बदल्ने छैन भन्ने मनमा ऊर्जा जागेको छ।

कांग्रेसकाे सबैभन्दा 'कान्छी' वडा सभापति बन्नु भएकाे छ, अब तपाईकाे पहिलाे प्राथमिकताकाे विषय के हुनेछ ? 

नेपाली कांग्रेस पार्टीलाई वडाका सबै स्थानीयले स्वीकार गर्न सक्ने खालको बनाउने मेरो पहिलो प्रयास रहने छ। त्यसपछि आफूले सक्ने काम त गर्ने नै छु। वडाका समस्या र सम्भावनालाई पार्टीको माथिल्लो तहमा पुर्‍याएर वडाको विकासमा लाग्ने छु।

तपाईकाे प्रेरणाको स्रोत काे हो ?

पहिलो त राजनीतिमा लाग्ने मेरो इच्छा पनि थियो। त्यसमा पनि मेरो बुबा पार्टीको जिल्ला उप–सभापति हुनुन्थ्यो। इमान्दारिता र मिहिनेतले काम गर्दै गर्दा उहाँको गतवर्ष निधन भयाे। उहाँका सपाना पूरा गर्नकै लागि पनि राजनीतिमा लाग्छु भन्ने सोच पलाएको थियो।

राजनीतिमा लाग्ने साेच कहिलेदेखि आएकाे थियाे ?

नेपाली कांग्रेसमा म केही वर्ष पहिलेबाट लागेकी हुँ। अरु पार्टीको बारेमा त मलाईं थाहा पनि छैन। नेपाली कांग्रेसको क्रियाशील सदस्य भएर नै म अहिले यो स्थानमा आएकी हुँ।

वडा सभापतिको उम्मेदवार बन्ने प्रस्ताव राख्दा अन्य नेताहरुकाे प्रतिक्रिया कस्ताे थियाे ?

वास्तवमा अरु नेताहरु मलाई यो पद दिनको लागि हिचकिचाउनु भएको थियो। ‘सक्दैनस् तँ, सानो उमेरको महिला होस्’ भन्नुहुन्थ्यो। तर, पनि मैले सक्छु भन्ने हिम्मत निकालेर उहाँहरुलाई कन्भिन्स गरेँ। यो पदको लागि हामी १४ जना थियौँ, उहाँहरुलाई विश्वास दिलाएरै म सर्वसम्मत यस पदमा चयन भएँ।

सुरूमा तपाईलाई नपत्याउने नेताहरुलाई कसरी कन्भिन्स गर्नुभयो ?

सबैभन्दा पहिला मैले युवाको नेतृत्व गर्छु भन्ने कुरा उहाँहरुमा राखेकी थिएँ। युवा भनेको देशको महत्वपूर्ण शक्ति हो, त्यसैले नै हामीलाई पहिलो मौका दिनुहोस् भनेकी थिएँ।

तपाईजस्तै राजनीति गर्न इच्छुक युवाहरुलाई के सुझाव दिनुहुन्छ ?

अब म आफै महिला भएको हिसाबले पछाडि पर्नुहुन्न भन्ने चाहान्छु। महिलाले पनि नेतृत्व गर्न सक्छन्। जस्तो द्धन्द कालमा १६/१७ वर्षका महिलाहरुलाई बन्दुक बोकाइयो र उनीहरु सफल पनि भए। अझै हामी त एक्काइसौँ सताब्दीमा महिला हौँ, त्यसैले पनि हामीले नसक्ने भन्ने केही छैन।

राजनीतिक दृष्टिकाेणबाट तपाईकाे आँखाले देखेकाे सपना शेयर गर्न मिल्छ ?

म त राजनीतिमा त्यति धेरै जान्ने भएर लागेको त होइन, सानो पदमा पुगेको त हो। त्यस्तो धेरै ज्ञान त छैन।  त्यही पनि पढ्ने छु, सिक्ने छु। ठूला–ठूला नेताहरुले गरेका राम्रा कामको अनुसरण गर्नेछु। प्ररिस्थिति अनुसार अगाडि बढ्छु।

स्थानीय तहकाे आगामी चुनावमा उम्मेदवार बन्ने कत्तिकाे सम्भावना छ ?

अहिले नै त्यस्तो त केही सोचेकी छैन। गर्छु नै त नभनि हालौँ। भर्खरै त राजनीतिमा लागेकी छु। आत्तिएर सबैतिर हात हाल्न पनि त गाह्रो हुन्छ। हेरौँ परिस्थिति कस्तो हुन्छ।

कांग्रेसभित्रै पनि युवाहरूकाे लागि गगन थापा प्रेरणादायी पात्र हुन्, उहाँलाई कसरी लिनु हुन्छ ?

उहाँ त आफैमा लोकप्रिय नेता हुनुन्छ।  उहाँहरुले काम गरेरै हामीमा प्रेरणा जागेको हो।

प्रकाशित मिति: : 2021-09-04 18:01:00

प्रतिकृया दिनुहोस्