बुधबार, ०८ जुलाई २०२६

अर्जेन्टिनी फुटबल संघमाथि अमेरिकामा अनुसन्धान सुरु

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डिसी
News Image
• • •

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अर्जेन्टिना फुटबल संघ (एएफए)को अमेरिकास्थित वित्तीय कारोबारबारे अनुसन्धान सुरु गरेको छ।

अर्जेन्टिनी पत्रिका ला नासियोनका अनुसार एएफएका अध्यक्ष क्लाउडियो तापियाको नेतृत्वमा रहेको फुटबल संघमाथि सम्भावित सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी आरोपको अनुसन्धान भइरहेको हो।

अनुसन्धानकर्ताहरूले एएफएले अमेरिकाको वित्तीय प्रणालीमार्फत रकम कसरी प्रवाह गर्‍यो, त्यस क्रममा कुनै आपराधिक गतिविधि भएको थियो वा थिएन भन्ने विषयमा छानबिन गरिरहेका छन्।

यो खबर फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टलाई पराजित गरेको खेललाई लिएर विवाद चलिरहेका बेला सार्वजनिक भएको हो। उक्त खेलमा रेफ्रीका धेरै निर्णयहरूको व्यापक आलोचना भएको थियो।

अर्जेन्टिनी पत्रिका ला नासियोनका अनुसार फ्लोरिडामा दर्ता रहेको टुरप्रोडएन्टर एलएलसी (TourProdEnter LLC) ले विदेशमा अर्जेन्टिना फुटबल संघ (एएफए)का वित्तीय दायित्वहरू व्यवस्थापन गर्दै आएको थियो र हाल उक्त कम्पनी पनि अनुसन्धानको दायरामा परेको छ।

प्रतिवेदनमा भनिएको छ, ‘केही महिनामा प्राप्त गरी विश्लेषण गरेका कागजातहरू तथा सन् २०२५ को अन्त्य र यस वर्षको सुरुआतमा सार्वजनिक गरिएका विवरणअनुसार, गिलेट र फारोनी (जो रिन्युअल फ्रन्ट का पूर्व ब्युनस आयर्स लेजिस्लेचर हुन्)ले अमेरिकाका पाँच वित्तीय संस्थामा खोलिएका खातामार्फत कम्तीमा सयौं मिलियन अमेरिकी डलर कारोबार गरेका थिए। ती संस्थामा सिटीबैंक, सिनोभस, बैंक अफ अमेरिका, जेपी मोर्गन र पीएनसी बैंक रहेका छन्।’

प्रतिवेदनले थप दाबी गरेको छ, ‘यी खातामार्फत टुरप्रोडएन्टर एलएलसीले एएफएसँग सम्बन्धित कम्तीमा २६ करोड अमेरिकी डलर बराबरको आम्दानी व्यवस्थापन गरेको थियो। तर ला नासियोनले विश्लेषण गरेका बैंक अभिलेखअनुसार, उक्त रकमको एउटा अंश मात्रै अध्यक्ष क्लाउडियो तापिया नेतृत्वको एएफएका पहिचान गर्न सकिने सञ्चालन खर्चसँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ,’ प्रतिवेदनले थप दाबी गरेको छ, ‘त्यसैगरी, थप ५ करोड ७० लाख अमेरिकी डलर विभिन्न कम्पनी र लाभग्राहीहरूलाई वितरण गरिएको देखिएको छ, जसको आर्थिक औचित्य समीक्षा गरिएका कागजातबाट स्पष्ट हुन सकेको छैन। तीमध्ये करोडौं डलरका बैंक हस्तान्तरण त्यस्ता कम्पनीहरूमा गरिएको उल्लेख छ, जसले कुनै पहिचानयोग्य सेवा प्रदान गरेको प्रमाण भेटिएको छैन। ला नासियोनले विश्लेषण गरेका कागजातअनुसार ती कम्पनीहरू त्यस्ता व्यक्तिहरूको नियन्त्रणमा थिए, जसले सरकारी सामाजिक सहायता लिइरहेका थिए र बारिलोचे वा ब्युनस आयर्समा मुकाम कायम गर्दै आएका थिए।’

यसअघि पनि एएफएका अध्यक्ष क्लाउडियो तापिया भ्रष्टाचारसम्बन्धी अनुसन्धान तथा अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईसँग फुटबल क्लबहरूको स्वामित्व संरचनालाई लिएर चर्किएको शक्ति संघर्षका कारण चर्चामा आएका थिए।

उनीमाथि गत मार्च महिनामा कर छली (ट्याक्स इभेजन) सम्बन्धी मुद्दा दर्ता गरिएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!