पर्वतीय पर्यटनको कुरा गर्दा नबिर्सिइने नाम हो- लेफ्टिनेन्ट कर्णेल जेम्स ओवेन मेरिअन् रोबर्टस् अर्थात् जिमी रोबर्टस्। उनको जन्म ब्रिटिश शासित भारतको गुजरातमा २१ सेप्टेम्बर १९१६ मा भएको थियो। उनका बुबा स्कूलका हेडमास्टर थिए।
सन् १९३६ मा रोबर्टस् ब्रिटिश सेनाको कमिसन्ड अफिसर भए। उनको रेजिमेन्ट गोर्खा राइफल्स थियो। दोस्रो विश्वयुद्धताका बर्मामा देखाएको बहादुरीका कारण उनले सन् १९४२ मा मिलिटरी क्रस (एमसी) तक्मा पाए। सन् १९५४ मा रोबर्टस् मलाया खटिए।
त्यहीं कार्यरत रहँदा उनले ओबीई (अर्डर अफ ब्रिटिश इम्पाएर) तक्मा पाए। १९५८ मा सैनिक सहचारीका रूपमा काठमाडौंस्थित बेलायती दूतावास आएका रोबर्टस्ले १९६१ मा मेम्बर अफ भिक्टोरियन अर्डर (एमभीओ) सम्मान पनि पाए। र, त्यसको एक वर्षपछि लेफ्टिनेन्ट कर्णेलको ओहोदामा हुँदा सेवानिवृत्त भए।
युवाकालदेखि नै जिमी रोबर्टस्मा पर्वतारोहणप्रति रुचि थियो। त्यही भएर सन् १९३८ मै उनले काराकोरम पर्वतमालाको ७,८९० मिटर अग्लो म्यासरब्रुम चढेका थिए। उनी सन् १९५० मा बिल टिलम्यानको अन्नपूर्ण आरोहण अभियान दलमा पनि सामेल भएका थिए।
हुन त उनले एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफलता हासिल गरेको सन् १९५३ को ब्रिटिश एभरेष्ट आरोहण दलमा जाने पनि चाहना गरेका थिए, तर उनलाई आधार शिविरमा अक्सिजन ढुवानी गर्ने जिम्मा दिइयो। त्यस अवसरलाई उपयोग गर्दै उनले ६,४७६ मिटर अग्लो मेरा पीकमा पहिलो पाइला राखे। सन् १९५४ मा ७,२४६ मि. अग्लो पुठा हिउँचुलीको आरोहण गरे।
जिमी रोबर्टस् सन् १९५७ मा विलफ्रीड नोयससित माछापुच्छ्रे (६,९९३ मि.) चढ्न गए। तर, उनको टोली माछापुच्छ्रेको शिखरमा नटेकी त्यसको ५० मिटर तलबाटै फर्कियो। माछापुच्छ्रेलाई स्थानीय गुरुङ समुदायले ईश्वरको बास मानेर पूजा गर्ने भएकाले उनको टोलीले सो चुली नचढेको भनिन्छ। त्यस वेलादेखि अहिलेसम्म माछापुच्छ्रे कसैले चढेको छैन, सरकारले अनुमति पनि दिएको छैन।