दिन र रातको दोसाँध, गोधूलि साँझ। सरकारी निवास फर्कँदै थिएँ म। एक हुल मान्छेले घेरे चारैतिरबाट। एउटा गाडी बत्तिएर आयो। निल्यो मलाई। क्रमशः उनीहरूलाई समेत निल्यो। बत्तियो फेरि।
“तिमीहरू को हौ ? मलाई कहाँ लान लागेका ?”
“तपाईं हाम्रो कब्जामा हुनुहुन्छ।” एउटाले बोल्यो।
लगत्तै, कमिलाले टोकेजस्तो केही भयो मलाई, चिसिक्क। आँखाहरू लोलाउन थाले। चेतनाशून्य हुँदै गएँ म, क्रमशः। होस खुल्दा सेता गाउनधारीहरूद्वारा पुरिएको थिएँ।
मेरा हातखुट्टा, नाडी, छाती तथा टाउकाको चारैतिर इलेक्ट्रोड जडान गरिएका थिए। इलेक्ट्रोडहरू फुस्काउन खोज्छुम। विडम्बना, हातखुट्टा बेडमा बाँधिएका रहेछन्।
“मलाई कहाँ ल्याएका ? अनि के गर्न लागेका ?” मभित्रका आक्रोश उम्लिए।
“तपाईं हाम्रो प्रयोगशालामा हुनुहुन्छ। तपाईंमाथि प्रयोग हुँदै छ।” सेता गाउनधारीमध्येको एउटा बोल्यो। जसका नजरहरू भित्तामा झुन्ड्याइएको मोनिटरमा दौडँदै गरेका इन्डिकेटरहरूमा टाँसिएकै थिए।
विद्युतीय झट्का दिइयो मलाई।