केही दिनअघि विराटनगर जाने मौका मिलेको थियो। कोरोना महामारीबीच त्यहाँ देखिएको बढ्दो चहलपहलको कुरा गर्दै जाँदा त्यहाँका एकजना प्रहरी अधिकारीले सीमानाका पनि खुलेकाले प्रहरीहरू अरू व्यस्त रहनुपरेको कुरा खुलाए। लामो अन्तरालपश्चात् खुलेको सीमानाकाका बारेमा स्पष्ट पार्दै उनले भने, ‘व्यापक भिडभाड चलिरहेको छ। हुन पनि किन नहोस्, भेडेटारसम्मका मानिस एउटा पंखा किन्न पनि कहिले सीमानाका खुल्ला र किनौँला भनेर कुरेर बसेका छन्।’ यो छलफलले कोरोना कहरबीचको जोगबनी नाकाको आवत–जावत हेर्ने रहर र चासो अरू बढेका कारण मध्याह्नको समय पारेर सिमानामा पुग्दा अन्य अवस्थामा भन्दा खास फरक अनुभूति भएन।
सीमा पार नै गर्दा मुखमा मास्क लगाउनेबाहेक बजार घुम्दा मास्क प्रयोग नगर्नेहरू पनि त्यत्तिकै संख्यामा देखिन्थे। महिनौँपश्चात् खुलेको जोगबनी बजारका साहुजीहरूमा एक प्रकारको उत्साह देखिन्थ्यो भने त्यस बजारका ग्राहक नेपालीहरूमा योजनाअनुसार चाहिएको सामान किनेर नेपालतर्फ फर्किहाल्ने चटारो। भारतीय व्यापारीहरू महिनौँसम्म पसल बन्द गर्नुपर्दाको पीडा ग्राहकसँग नम्र भएर पोखिरहेका र नेपाली ग्रहकहरू सामानको मूल्य कस्दै सस्तोमा किन्न पाएकोमा मख्ख देखिन्थे।