नागरिकहरूलाई शिक्षा दिने दायित्व राज्यको हो । कस्तो शिक्षा दिई कस्ता नागरिकहरू उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गरेको शिक्षा नीति र कार्यान्वयनको पक्षले निर्र्धारण गर्छ । समाजमा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा असन्तुष्टि, आलोचना वा गुनासा बढिरहेका छन् । शिक्षा समयसापेक्ष भएन भन्नेमा बहस, अन्तरक्रिया, विचार, विमर्श छलफल भइरहेको छ । बारम्बार परिवर्तन भइरहने सरकार र शिक्षा मन्त्रालय समाल्ने मन्त्रीजनहरूले शिक्षामा सुधार गर्नुपर्ने कुरा भन्दै जाँदै गरेको पाइन्छ । परन्तु शिक्षामा सुधार गर्न के गर्ने ? कसले गर्ने ? कहिले गर्ने ? कसरी गर्ने भन्नेमा ठोस अवधारणा निर्माण भएको पाइँंदैन ।
त्यसो त शिक्षाको क्षेत्र व्यापक छ । मानिसमा अन्तर्निहित भावनाहरूलाई उजागर गर्ने माध्यम शिक्षा हो । शिक्षाविद् बिल डुरान्टले शिक्षा मानिसको प्रगतिशील खोज तथा अनुसन्धानको क्षेत्र हो, भनेका छन् । अहिलेको २१औं शताब्दीको तेस्रो दसकसम्म आइपुग्दा विज्ञान र प्रविधिमा भएको चामत्कारिक विकासले उनको भनाइलाई पुष्टि गर्छ । आज मानिसले धर्तीमा मात्र होइन पानीमा पनि यातायातका साधनहरू गुडाएको छ । समुन्द्रमुनी राजमार्ग र पुलहरू निर्माण गरेको छ । आकासमा विमानहरू उडाएको छ । प्रकृतिको गुप्त गर्भमा रहेका खानी एवं खजानाको पहिचान, उत्खनन, उत्पादन र उपयोग गरेको छ । चन्द्रमामा पाइला टेकेको छ । ब्रह्माण्डका अरू ग्रहमा मानव वस्तीको सम्भावनाको खोजी गरिरहेको छ । अहिले विश्व जगत्मा आविष्कार भएका चामत्कारिक कार्यहरूको आधार शिक्षा हो ।