एमाले विभाजन : अझ ठूलो पहिरो जानै बाँकी छ

अनलाइनखबर

काठमाडौँ

 प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले) विभाजनले प्रदेश सभामा पनि वैधानिकता पाउँदैछ।

वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभामा मंगलबार नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेशसभा सदस्यहरूले सनाखत गरे। अन्य प्रदेशमा पनि एमालेबाट अलग हुने नेताहरूको सनाखत गराउने तयारी भइरहेको छ।

निर्वाचन आयोगले दल रोज्ने मिति २२ भदौसम्म तोकेकाले एमालेका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरू यतिबेला तानातानमा छन्। एमालेका नेताहरू सकेसम्म धेरैलाई रोक्न र एकीकृत समाजवादीका नेताहरू आफूतिर तान्न सक्रिय छन्।

एकीकृत समाजवादीका नेता बेदुराम भुसाल धेरै नेता–कार्यकर्ता पहिल्यै प्रष्ट रहेकाले उनीहरुलाई तान्न धेरै मिहिनेत गर्नु नपर्ने बताउँछन्।

‘समानान्तर कमिटीहरु छँदैथिए, कमिटी बनाउन लागिपरेका र त्यहाँ रहेकाहरूले कित्ता प्रष्ट पारिसके’ भुसाल भन्छन्, ‘गत ४–५ चैतको राष्ट्रिय कार्यकर्ता भेलापछि बनेका समानान्तर कमिटी र त्यसका नेताहरूको वैधानिकता मात्रै अहिले टुंगो लागिरहेको हो।’

एमालेका प्रमुख सचेतक विशाल भट्टराई भने समानान्तर कमिटीमा रहेका धेरै नेता एमालेमा फर्किने बताउँछन्। ‘एमाले सिध्याउने माधव नेपालको कदमलाई नेता–कार्यकर्ताले साथ दिंदैनन्’ उनी भन्छन्, ‘यति कुरा त प्रष्ट छ।’

प्रकाशित मिति: : 2021-09-01 22:00:00

प्रतिकृया दिनुहोस्