माधव नेपाल रोजेकी रमा घर्तीमगर मन्त्री बन्दै

लुम्बिनी प्रदेशसभामा सदस्य रमा घर्तीमगरले माधव नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छिन्।

सांसद घर्तीमगरले मंगलबार प्रदेश निर्वाचन कार्यालय दाङ पुगी नेकपा (एस)मा सनाखत गरेकी हुन्।

नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीमगरले निर्वाचन कार्यालयमा गएर समाजवादी रोजेको बताइन्। उनी समानुपातिकतर्फ निर्वाचित सांसद हुन्।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख मीनराज भट्टराईको रोहवरमा उनको हस्ताक्षर सनाखत भएको निर्वाचन कार्यालयले जनाएको छ। 

एमाले त्यागी नयाँ पार्टी रोजेकी सांसद घर्तीमगर गठबन्धन नेतृत्वको लुम्बिनी सरकारबाट हप्ता दिनभित्रै मन्त्री बन्ने माधव नेपालनिकट एक नेताले बताए। उनले भने, ‘लुम्बिनीमा अहिलेसम्म पाँच राजनीतिक दलहरू थिए। अब हाम्रो पार्टी नेकपा एकिकृत समाजवादी पनि औपचारिक रुपमा थपिएको छ। स्वभाविक हिसाबले माननीय रमाजीले पार्टीको नेतृत्व गर्नुहुन्छ।’

८० सदस्यीय प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका ३७ जना सांसद थिए। उनले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ मा झरेको छ। 

प्रकाशित मिति: : 2021-09-01 07:47:00

प्रतिकृया दिनुहोस्