किङमेकर बामदेव यसरी बने ‘पेण्डुलम’

शिलापत्र

जनक नेपाल

नेकपा विवाददेखि एमालेको विभाजनसम्म आइपुग्दा अन्तरपार्टी संघर्षमा सबैभन्दा धेरै प्रयोग भएका पात्र हुन्, बामदेव गौतम । उनको अस्थीर चरित्रको फाइदा केपी ओलीदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसम्मले उठाए । त्यही चरित्रले एमालेको नवौँ महाधिवेशनका ‘किङ मेकर’ गौतमको शक्ति क्षयीकरण मात्र भएन, राजनीतिक रुपमा उनी ‘पेण्डुलम’ बन्न पुगे ।

महाधिवेशनपछि पनि एमालेभित्रको शक्ति संघर्षमा गौतम जता ढल्कियो, केन्द्रीय कमिटीमा उतै बहुमत पुग्ने स्थितिसमेत थियो । तर, नेकपा र पछि एमालेभित्रको गुटगत ध्रुबीकरणमा दुबै समूह उनको भर पर्न छाडे । एक्लिँदै गएका गौतमले पार्टी एकता अभियान चलाउँदा केन्द्रीय सदस्य हरि पराजुली मात्र साथमा रहे ।

प्रतिनिधिसभा सदस्य चुनाव हारेका गौतमलाई अर्को कुनै सांसदलाई राजीनामा गराएर भए पनि संसदमा छिराएर प्रधानमन्त्री बनाउने सपना देखाइयो । त्यो सहज नभएपछि राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित हुने र संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने कोसिस भयो । एक पटक जसरी भए पनि प्रधानमन्त्री बन्ने त्यही महत्वाकांक्षाले गौतमलाई वल्लो तिर न पल्लो घाट बनायो ।

ओली र प्रचण्ड–नेपालले पार्टीभित्रको गुट लडाइँमा उनलाई बारम्बार प्रयोग गरिरहे । कुनै बेलाका हक्की नेता गौतमलाई पदको लोभले ढुलमुले बनाइदियो । कतिसम्म भने एउटा पक्षले उचालेर कलहको कारण पनि उनी हुन्थे । अर्कोतर्फ लागेर झगडा मिलाउने सुत्र पहिल्याउने पनि उनै बन्थे । गौतमका गतिविधिमा कतिसम्म विरोधाभाष देखियो भने पार्टी एकता अभियान चलाउने उनै थिए, एउटा समूहले पार्टी खोले त्यतै लाग्छु भनेर सबैभन्दा पहिले वक्तव्य निकाल्ने पनि उनै निस्किए ।

आफूले अघि सारेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा प्रस्तुत गर्न नदिइएपछि २६ साउनमा गौतमले केन्द्रीय कमिटी बैठक छाडेर निस्किए । लगत्तै उनले एमाले उपाध्यक्षबाट राजीनामा दिएर नेकपा एकीकृत समाजवादी पार्टीमा जाने सार्वजनिक घोषणा नै गरे । संभवतः त्यही कारण आफूनिकट केन्द्रीय सदस्य हरि पराजुलीलाई दल विभाजन निवेदनमा हस्ताक्षर पनि गराए । सनाखत गर्ने अन्तिम दिन ९ भदौमा पत्नी सांसद तुलसा थापाको नयाँ पार्टीमा सनाखतसम्बन्धी निवेदनसमेत निर्वाचन आयोग पुग्यो । तर, ढिलो भएकोभन्दै आयोगले सनाखत गर्न मानेन ।

प्रकाशित मिति: : 2021-09-01 07:20:00

प्रतिकृया दिनुहोस्