‘नन्द के आनन्द भयो जय कन्हैया लाल कि !’

त्रेतायुगको अवसानपछि द्वापर युगको मध्यकालसम्म आइपुग्दा सम्पूर्ण पृथ्वीभरिमा मानवोचित विकारहरू प्रायसः जनमानसमा फैलिन थालेको थियो। सम्पूर्ण विश्व दुई खेमामा बाडि़दै जान लागेको थियो। 

एकथरिको प्रवृत्ति आसुरी थियो भने अर्को थरिको प्रवृत्ति धार्मिक त थियो तर त्यसमा पनि दुई फाँट देखिन थालेको थियो। एकथरि भीष्म, द्रोण, कृपाचार्यजस्ता दृढ़ प्रतिज्ञ ज्ञानवान तथा उर्जावान् मनिषीहरू थिए त अर्काथरि एकै माताको कोखमा पल्लवीत विभित्र पिताहरूबाट सिंचन गरिएका महान बलशाली पुत्रहरू थिए। अर्कोतिर पृथ्वीको सम्पूर्ण भूभागमा  महाप्रतापी जरासन्ध, कंश, तथा शिशुपालजस्ता आसुरी प्रवृत्ति र सर्वसम्पत्र राजाहरूको राज्य थियो।

यिनीहरूका सहायक त्यतिबेलाका दूर्दान्त असुरहरू प्रम्बलासुर, बकासुर, चाणूर, तृणावर्त, अघासुर, मुष्टिक, अरिष्टासुर, द्विविद, पूतना, केशी र धेनुकासुर जस्ता असुरहरू थिए। साथै वाणासुर र भौमासुर आदि धेरैजसो दैत्य राजाहरूको यिनीहरूसँगको सामिप्यता र मित्रता पनि थियो। यिनीहरू संगठित भएर धार्मिक प्रवृत्तिका मानिसहरूलार्ई विभित्र किसिमका कष्ट तथा यातना दिँदै पृथ्वीवासीहरूलार्ई समेत आच्छु–आच्छु पारिदिएका थिए। 

यस्तो अवस्थामा पृथ्वीमाताले आफ्नै भार सहन नसकी आकुल–व्याकुल भएर जगत नियन्ता भगवान श्रीहरिलार्ई गुहार्न पुग्दा उनले भने, ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्। परित्राणय साधूनामां विनाशाय च दुष्कृताम्। धर्म संस्थापनाथार्य सम्भवामि युगे युगे’। उक्त आफ्नो वचनअनुसार यस पृथ्वीलोकमा मानव शरीर धारण गरेर अवतरण हुन बाध्य हुनुप-यो।

भाद्र मास, कृष्ण पक्ष, अष्टमी तिथि, मध्यरात्री जुन बेला तमःहर्ता अमृतवर्षक चन्द्रोदय हुन्छ, ठीक त्यसै बेला मथुरामा कंशको झ्यालखानामा रहेका राजबन्दी बसुदेवपत्नी देवकीको कोखबाट भगवान कृष्णको जन्म हुन्छ। 

भाद्र मासलाई ‘भद्रमास’ पनि भनिन्छ अर्थात् कल्याण प्रदान गर्ने महिना। कृष्ण पक्ष स्वयं कृष्णसित सम्बन्धित छ। अष्टमी तिथी पक्षको बीच सन्धिस्थलमा पर्दछ। रात्री योगीहरूलार्ई अति प्रिय समय हो। कंशको बन्दिगृह वा झ्यालखानामा त्यसै समयमा श्रीकृष्णको अविर्भाव हुनुको अर्थ अज्ञान कष्ट र पीड़ाको घोर अन्धकारमा दिव्य प्रकाशको उद्भवको रुपमा लिइन्छ। 

भाद्र महिनाको अष्टमी तिथिको आधि रातसम्म घोर अन्धकार व्याप्त रहेको हुन्छ। आधि रातपछि वल्ल चन्द्रज्योत्सना आकाशमा छरिन्छ जसले घोरतमःको (निष्पट अँध्यारो रात) विनाश गरेर कल्याणकारी प्रकाशद्वारा पृथ्वीलार्ई झलमल्ल उज्यालो पार्दछ। कृष्णजन्मको त्यही समय निश्चित हुनुलार्ई विद्वान तथा भक्तहरूले भावी कल्याणको पूर्वसूचनाको रुपमा लिन्छन्।

कृष्णजन्मको समयको बारेमा श्रीमद् भागवतको दशम स्कन्धको तेश्रो अध्यायमा बडो रोचक वर्णन गरिएको पाइन्छ– अथ सर्वगुणोपेतः कालः परमशोभनमः। यह् येवाजनजन्मक्र्षं शान्तक्र्षग्रहतारकम्।। (श्रीमद् भागवत, स्क. १०, अ.३, श्लोक १)। 

अर्थात्, समस्त शुभ गुणहरूले युक्त धेरै रमणीक समय थियो। रोहिणी नक्षत्र थियो। आकासमा जम्मै नक्षत्र, ग्रह तथा ताराहरू शान्त र सौम्य भएका थिए। जसरी अन्तःकरण शुद्ध भएपछि त्यसमा भगवानको अभिर्भाव हुन्छ। श्रीकृष्णावतारको अवसरमा पनि ठीक त्यसै प्रकारको समष्टिको(काल, दिशा,पृथ्वी, जल, अग्नि, वायु, आकास, मन तथा आत्मा) शुद्धिको वर्णन गरिएको छ।

त्यस्तो परम पमवन अवसरमा–निशीथे तमउद्भूते जायमाने जनार्दने। देवक्यां देवरुपिण्यां विष्णुः सर्वगुहाशयः। आविरासीद् यथा प्राच्यां दिशीन्दुरिव पुष्कलः। (श्रीमद् भागवत, स्क. १०, अ.३, श्लोक ८) अर्थात् जन्म मृत्युको चक्रवाट मुक्त गर्ने जनार्दनको अवतारको समय थियो–निशीथ। चारैतिर अन्धकारको साम्राज्य थियो। 

त्यसै समय प्रत्येक जनको ह्दयमा सधैँ विराजमान रहने भगवान विष्णु देवरुपिणी देवकीको गर्भबाट प्रकट भए ,जस्तो कि पूर्व दिशामा सोलह कलाहरूले पूर्ण रहेका चन्द्रमाको उदय भएको होस। शिशुको जन्म भएपछि बासुदेवले देखे–तमद्भुतं बालकमम्बुजेक्षणं, चतुर्भुजंशङखगदार्युदायुधम्।  श्रीवत्सलक्ष्मं गलशोभिकौस्तुभं, पिताम्बरं सान्द्रपयोदसौभगम्। (श्रीमद् भागवत, स्क. १०, अ.३, श्लोक ९), अर्थात्, उनको सामुने एउटा अद्भुत वालक थिए, जसको नेत्र कमलको समान कोमल तथा विशाल, चारवटा सुन्दर हाथमा शङख,गदा, चक्र तथा कमल लिएका,वक्षःस्थलमा श्रीवत्सको चिन्ह, गलामा सुन्दर कौस्तुभमणी, वर्षाकालीन मेघको समान सुन्दर–श्याम शरीरमाथि पिताम्बर फरफाउदो थियो। वासुदेव यस प्रकारको अद्भुत वालक पाएर आत्म विभोर हुन पुगे।

द्वापर युगको त्यसै बेलादेखि जन्माष्टमी धूमधामका साथमा मनाइने परम्परा चलिआएको देखिन्छ। वैष्णव मतावलम्बीहरूमा विशेष रुपले जन्माष्टमी पर्व श्री कृष्णजन्मोत्सवको रुपमा मनाउने परम्रा रहे पनि जनसाधारण गृहस्थहरूले पनि यस पर्वलाई विशेष उत्सवको रुपमा मनाउने गर्दछन्। 
कृष्ण मन्दिर तथा साधुहरूको मठमा कृष्ण जन्माष्टमीको अवसरमा विशेष पूजाआजा तथा भव्य झा“की यात्रा हुने गर्दछ भन्ने तराईका गाउँहरूमा एक खास किसिमको उत्सव हुने गरेको पाइन्छ। कृष्ण जन्माष्टमीको अवसरमा गाउँमा रहेका मठ–मन्दिर वा धनी गृहस्थको घरमा विशेष पूजा गरी छ दिनसम्म मनाइन्छ जसलार्ई भोजपुरी भाषामा ‘डोल धइल’ अथवा ‘कृष्णाछठीयार’ भन्दछन्। 

कृणाष्टमीको दिनदेखि छैठीसम्म कृष्ण भगवानको विशेष पूजा गर्नुका साथै राती श्रीकृष्णसित सम्बन्धित घटनाहरू झल्किने झा“की, प्रहसन तथा नाटकहरू प्रदर्श गरिन्छन। यस्ता प्रहसनहरूमा– पूतना–उद्धार,शकट–भंजन,तृणावर्त–उद्धार,यमलार्जुन–उद्धार,वत्सासुर, बकासुर, अघासुर–उद्धार,  धेनुकासुर, प्रलम्बासुर, कालीयदमनका साथै अरिष्टासुरको बध, रासलीला, केशी दानव, व्योमासुरको बध तथा कुवलयापीड,चाणूर, मुष्टिक तथा कंशको उद्धार विशेष तथा रोचक ढंगमा प्रस्तुत गरिएका हुन्छन्। 

यस्ता प्रहशन नाटकका साथै कृष्णचरित्रसित सम्बन्धित कीर्तन, भजनहरू पनि गाएर भक्तहरूले जनसाधारणको मन मुगध पार्ने गर्दछन्। पूरै छ दिनसम्म वातावरण कृष्णमय भएको हुन्छ। छैठीको दिन नवजात श्री कृष्णजीलार्ई गाउँवरिपरि अवस्थित रहेका नदी पोखरीहरूको जलमा जलविहार गराउने परम्परा रहेको छ जसलार्ई भोजपुरी भाषामा ‘झिरहिर खेलावल’ भन्दछन्। 

दिनको दोश्रो प्रहरमा भगवानलाई झिरहिर खेलाएपछि डोल राखिएको स्थानमा ल्याई पूर्ण श्रृगार गरेर विशेष झा“कीका साथ गाउँ परिक्रमा गराएर फेरि मन्दिरमा ल्याई स्थापित गरिन्छ। यसलार्ई स्थानीय भाषामा ‘विलौकी माङ्गल’ भन्दछन्। यसपछि गा“उभरिका बालकहरूलार्ई वालभोगको रुपमा खीरपुरी तथा वालकृष्णको प्रिय भोग माखन–मिश्री ख्वाउने चलन रहेको हुन्छ। वालभोगपछि कृष्णाष्टमी पर्वको समाप्ति हुन्छ।

योगेश्वर श्रीकृष्णको जीवन चरित्रको बारेमा विभिन्न धर्मग्रन्थहरूमा उल्लेखित छन्। सम्पूर्ण विश्व तथा मोह अज्ञानमा परेर दुःख पाइरहेका जनमानसका लागि दुःखहरण औषधिको रुपमा रहेको सुप्रसिद्ध ग्रन्थ गीतामा ज्ञान, विज्ञान, जीवन, मोक्ष, कर्तव्य, ध्यान पूजा आदिको विशेष विश्लेषणको रुपमा कृष्ण भगवानको वचनामृतको रुपमा रहेको छ। 

हिन्दू धर्मावलम्बी जनमानस मात्र नभई सम्पूर्ण विश्व नै गीताको आलोकले प्रकाशित रहेको तथ्य निविर्वाद सत्यको रुपमा रहेको पाउँदछौँ। गीतामा श्री कृष्णजीले मानवका लागि आश्वस्त पार्दै एक ठाउँमा भनेका छन्– सर्वधर्मानपरित्यज्य मामेकं शरणं व्रज। अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः।। (श्रीमद् भागवत्, अ.१८,श्लोक ६६)। अर्थात्, सम्पूर्ण धर्महरूलाई त्यागेर तिमी केवल मेरो शरणमा आउ। म तिमीलाई सम्पूर्ण पापहरूबाट मुक्त गरि दिनेछु। तिमीले शोक न गर ! 

प्रकाशित मिति: : 2021-08-30 06:45:00

प्रतिकृया दिनुहोस्