'एकला चलो रे'

हिमाल खबर

शेखर खरेल

राजनीति गन्ती र बिन्तीको मामिला नभई जोखिम अनि दुस्साहसको काम हो भन्ने कुरा माधव नेपालको पछिल्लो कदमले प्रदर्शन गरेको छ।

पछिल्लो समय माधवकुमार नेपालमा देखिएको अतिशय आनन्दको भाव देखेर कतिपय मानिस अचम्मित हुन्छन्। नेकपा एमाले विभाजनको बिन्दु सन्निकट हुँदा नेपालमा बेचैनीको बदला एक प्रकारको आनन्दतिरेक देखिन्थ्यो। नेकपा एकीकृत (समाजवादी) दल दर्ता र त्यस उप्रान्त सनाखतका लागि निर्वाचन आयोग पुग्दा नेपालमा हतासको भाव बिल्कुलै थिएन।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रारम्भदेखि नै नेता नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीचको टकरावमा नेपाललाई साथ दिंदै आएका दोस्रो पुस्ताका १० प्रभावशाली सदस्य पार्टी एकताको पैरवी गर्दै ओलीलाई साथ दिने अन्तिम निर्णयमा पुग्दा समेत नेपाल नयाँ पार्टी गठन गर्ने आफ्नो अठोटमा टसमस भएनन्। नेपाललाई साथ दिंदै विगतमा पार्टी संस्थापनका सबै खाले बैठक बहिष्कार गर्दै समानान्तर गतिविधिमा संलग्न ती नेताहरू नेपालको नयाँ दल दर्ताको अघिल्लो दिन एमाले स्थायी कमिटीको बैठकमा सहभागी हुँदै औपचारिक रूपमा माउ पार्टी र अनौपचारिक रूपमा अध्यक्ष ओलीमा आफूलाई विलीन गराए। 

प्रकाशित मिति: : 2021-08-28 19:49:00

प्रतिकृया दिनुहोस्